वीरगन्जमा राति १२ बजेसम्म कर्फ्यु

हिमाल प्रेस ३१ चैत २०८१ १३:३०
6
SHARES
वीरगन्जमा राति १२ बजेसम्म कर्फ्यु जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाएकोले सुनसान देखिएको वीरगन्जको घण्टाघर आसपासको सडक। तस्बिर : रासस

वीरगन्ज- जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगन्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेध आदेश (कर्फ्यु) को समय बढाएको छ। आइतबार मध्याह्न १२ बजेसम्मका लागि जारी निषेध आदेशको समय बढाएर मध्यरात १२ः बजेसम्म कामय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

कर्फ्यु अवधिभर ती क्षेत्रमा कसैले आवतजावत, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न पाउने छैनन्।

शनिबार हनुमान जयन्ती मनाउने क्रममा छपकैयामा दुई समुदायबीच झडप हुँदा स्थिति असामान्य बनेको थियो।

झडप नियन्त्रणमा लिन प्रहरीले २० देखि २५ सेल अश्रुग्यास र एक राउन्ड हवाई फायर गरेको थियो। झडपका क्रममा केही पसल र मोटरसाइकलमा आगजनी गरिएको छ। झडपको क्रममा जाइका बिरयानी र अन्य केही पसल र मोटरसाइकलमा आगजनी भएको प्रहरीले जनाएको छ।

सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम गर्न अनुरोध

शनिबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न परिस्थितिपछि आइतबार बसेको राजनीतिक दलका प्रतिनिधिहरुको सर्वदलीय बैठकले शान्तिसुरक्षा र अमनचयनमा खलल पुग्ने गतिविधि नगर्न र सामाजिक सद्भाव कायम गर्न सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको छ।

बैठकले स्थानीय संघसंस्था र समुदायलाई र्‍याली, बन्दलगायत गतिविधि नगर्न अनुरोध पनि गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा भएको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम राख्न सबैसँग अनुरोध गरेको हो।

बैठकले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो राष्ट्रको गरिमालाई आत्मसात् गर्दै सबै धर्म एवं सम्प्रदायसँग सम्बद्ध संघसंस्था विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण र प्रवर्द्धन गर्ने हिसाबले समतामूलक समाजको निर्माणमा अगाडि बढ्ने राष्ट्रको मर्मअनुसार अघि बढ्न अनुरोध गरेको संयोजक अर्यालले बताए।

यसैगरी बैठकले घाइते भएका सुरक्षाकर्मी, सञ्चारकर्मी, आमनागरिकको स्वास्थ्यलाभको कामना गर्दै साथै घाइतेहरुको उपचार राज्यले गर्नुपर्ने निर्णय गरेको छ।

प्रकाशित: ३१ चैत २०८१ १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast