काठमाडौँ- नेपाल शिक्षक महासंघले शिक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने माग राख्दै दोस्रो चरणको आन्दोलन अघि बढाएको छ। आन्दोलनअन्तर्गत महासंघले विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयहरूमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ। यसैक्रममा, महासंघको राष्ट्रिय समितिको आयोजनामा आज नेपाली कांग्रेसको मुख्यालय सानेपामा धर्ना दिइएको छ।
फागुन २८ गते नेकपा एमाले, चैत १ गते नेकपा माओवादी केन्द्र, चैत २ गते नेकपा एकीकृत समाजवादी, चैत ३ गते राष्ट्रिय स्वतन्त्र पार्टी, चैत ४ गते जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा तथा चैत ५ गते जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको केन्द्रीय कार्यालय अगाडि धर्ना दिने कार्यक्रम छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा विधेयक अगाडि नबढाइनु गम्भीर विषय भएको बताएका छन्।
संसद्को आजको बैठकमा बोल्दै उनले शिक्षाको सुधार र ऐन निर्माणलाई सरकारको प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे। उनले शिक्षा क्षेत्रका समस्याहरू समाधान गर्न सम्बन्धित निकायहरूले चासो देखाउनुपर्ने भन्दै विधेयक छिटो पारित गर्न आग्रह गरे।
महासंघले शिक्षा ऐन शीघ्र पारित गर्न सरकारलाई दबाब दिन विभिन्न चरणका आन्दोलन गर्दै आएको छ।










