देउडा नाच्दै सकियो टीकापुर साहित्य महोत्सव

हिमाल प्रेस २७ फागुन २०८१ ११:५८
58
SHARES
देउडा नाच्दै सकियो टीकापुर साहित्य महोत्सव

काठमाडौँ- सुदूरपश्चिमको संस्कृति र संगीत भन्ने बित्तिकै देउडा नृत्य आइहाल्छ। टीकापुर साहित्य महोत्सवको अन्तिम दिनको साँझ देउडामय भयो। सुरुमा सुदूरपश्चिमको देउडा शीर्षकमा कलाकारहरु नन्दकृष्ण जोशी, रेखा जोशी, डिक्रा वादी र लक्ष्मी आचार्यले देउडा संस्कृतिबारे चर्चा गरे। छलफलपछि उनीहरुले देउडा गाए। एकपछि अर्का स्रोता दर्शक गाउन थाले, ‘झ्याम्म झ्याम्म’।

महोत्सवको अन्तिम दिन सुदूरपश्चिम विशेष बनाइएको थियो। जसमा टीकापुरको विकास, अवसर र चुनौतीदेखि थारु संस्कृतिका विभिन्न आयामबारे छलफल भयो। पहलमानसिंह स्वाँरप्रति समर्पित महोत्सवमा स्वाँर र नेपाली नाट्यपरम्पराबारे विशेष सत्र पनि थियो। नाट्य विधामा स्वाँरको योगदानबारे सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति अम्मराज जोशी, व्रतराज आचार्य, धनञ्जय तिमिल्सिनाले प्रकाश पारे।

ईश्वरी न्यौपाने, गरिमा शाह, गंगा चौधरी, रुपा चौधरी र कैलाश चौधरीले संघीय सरकारको नीतिमा सुदूरपश्चिम विषयमा छलफल गरे। महोत्सवमा गीत, गजल, कवितालाई विशेष स्थान दिइएको थियो।

पहिलो दिनको काव्यसन्ध्या र दोस्रो दिन गजल सन्धयामा युवा पुस्ताको उल्लेख्य सहभागि भए। महोत्सवमा उपन्यासमा पात्र निर्माण, यात्रा साहित्य, आख्यान र महिला लेखन, गैरआख्यानमा नवीन विषयवस्तु, आजका कवितालगायत नेपाली फिल्म, महिला नेतृत्व, दलितका मुद्दा, भुइँबाट उठेका उद्यमीदेखि नेपाली नाटकका विषयमा चर्चा गरिएको थियो।

त्यसैगरी स्थानीय विषयवस्तुलाई पनि महोत्सवमा विशेष प्राथमिकता दिइएको थियो। शनिबारदेखि सुरु भएको महोत्सवमा सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीएन जोशीले टीकापुर साहित्य महोत्सवलाई सांस्कृतिक जागरणको अभियानका रुपमा चित्रण गरे।

प्राध्यापक अभि सुवेदीले भने, ‘टीकापुर साहित्य महोत्सव टीकापुरमा प्राण हाल्ने र सृजनात्मक शक्ति आर्जन गर्ने प्रयास रहेछ।’ महोत्सवका संयोजक तथा अध्यक्ष मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहले द्वन्द्वको विषम परिस्थिति भोगेको सहर भएकाले पनि टीकापुरमा साहित्य महोत्सवलाई निरन्तरता दिएको बताए।

विश्लेषक हरि शर्माले संसदमा लोकतन्त्र महसुस गर्न नसकेको वर्तमान अवस्थामा यस्ता महोत्सवहरुले ‘मिनी लोकतन्त्र’को अभ्यास गर्ने अवसर दिएको विचार राखे।

मीन भाम, दीया मास्के, केकी अधिकारी, प्रदीप भट्टराई, रवीन्द्रसिंह बानियाँ, घिमिरे युवराज, शुशीला तामाङलगायतले फिल्म, नाटक र कलाका विविध विषयमा छलफल गरे।

महोत्सव संयोजक तथा अध्यक्ष महेशविक्रम शाहले भने, ‘टीकापुरलगायत देशभरका धेरै लेखक, कलाकार, विज्ञ, राजनीतिज्ञ तथा सर्वसाधारणको साथ सहयोगले महोत्सवको दोस्रो संस्करण भव्य बन्यो। यसले आगामी संस्करण थप राम्रो बनाउन मेहनत गर्ने उर्जा थपेको छ।

प्रकाशित: २७ फागुन २०८१ ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast