काठमाडौँ- नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुन:स्थापनाका लागि स्पष्ट गुरुयोजना ल्याउन माग गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा राईले बाढीपीडितलाई राहतको प्याकेजमात्र दिएर राज्यको दायित्व पूरा नहुने भन्दै सुरक्षित बस्ती विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा मनोसामाजिक परामर्शसहितको स्पष्ट पुनस्र्थापना गुरुयोजना माग गरे।
उनले बाढीको बहानामा बजारमा खाद्यान्न र ग्यासमा चरम कालोबजारी र मूल्यवृद्धि भएको उल्लेख गरे। आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी नियन्त्रणको अनुभूति गर्न नसकेको भन्दै संसदीय समितिमार्फत कडा अनुगमन गर्न उनले माग गरे।
उनले सत्तापक्षबाट नागरिक, आलोचक र सञ्चारकर्मीमाथि धम्कीपूर्ण अभिव्यक्ति आएको भन्दै आपत्ति जनाए। नयाँ पुस्ताको राजनीति भनेको अनुहार फेरिनु मात्र नभई नयाँ संस्कार, उत्तरदायित्व र विधिको शासन हुनुपर्ने उनको भनाइ छ।
उनले राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले भाग लिँदा वैज्ञानिक तथ्य र सबै दलहरूको साझा आवाज लिएर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुनुपर्ने सुझाव दिए। कांग्रेसले राष्ट्रिय संकटमा सरकारलाई निःसर्त समर्थन दिए पनि जनताको अधिकार हनन, महँगी र भ्रष्टाचारका विरुद्ध संसद्मा निरन्तर खबरदारी जारी राख्ने उनले बताए।


