
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्वसांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
माओवादी तराई–मधेश जागर अभियानका क्रममा सर्लाहीको मलंगवामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साहलाई पार्टीमा स्वागत गरेका हुन्।
२०७४ सालको निर्वाचनमा साह तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट सर्लाही क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यामा निर्वाचित भएका थिए। राजपामा छँदा उनी राजेन्द्र महतो निकट मानिन्थे। महन्थ ठाकुर नेतृत्वको राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी (नेपाल) बनेको थियो।
पछि राजपा पृष्ठभूमिका ठाकुरसहितका नेताहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनाए पनि साह जसपा नेपालमै बसेका थिए। उनले २०७८ सालदेखि प्रमुख सचेतकको भूमिका निर्वाह गरेका थिए।
पछिल्लो समय जसपा नेपालका अध्यक्ष यादवले केन्द्रीय कार्यसमिति चयन र जिम्मेवारी बाँडफाँट गर्दा साह असन्तुष्ट बनेका थिए। जसपा नेपालका अध्यक्ष यादवबाट असन्तुष्ट बनेका उनले केही समयअघि पार्टी परित्याग गरेको घोषणा गरेका थिए।
पार्टी प्रवेशपछि नेता साहले माओवादीले मधेश आन्दोलनका बाँकी कार्यभार पूरा गर्नसक्ने भएकाले आफै माओवादीमा प्रवेश गरेको बताए।