
काठमाडौँ- मोरङको जहदा गाउँपालिका-४ स्थित एक विद्यालयका विद्यार्थीलाई सामान्य चोट लागेको घटनामा अभिभावकले शिक्षक कर्मचारीलाई अभद्र व्यवहार गरेको भन्दै नेपाल शिक्षक महासंघ स्थानीय कार्यसमिति, जहदाले खेद व्यक्त गरेको छ।
जहदा गाउँपालिका–४ को श्री सार्वजनिक माध्यमिक विद्यालयमा गत मंगलबार विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको उपस्थितिमा सोही विद्यालयका एकजना अभिभावकलगायतका समूहले एकजना विद्यार्थीलाई खेल्दै गर्दा लागेको सामान्य चोटको विषयलाई लिएर विहान प्रार्थना गराउने समयमा प्रधानाध्यापक तथा सम्पूर्ण शिक्षक कर्मचारीहरूलाई तथानाम गाली, अभद्र व्यवहार र धाकधम्की दिएको शिक्षक महासंघ स्थानीय कार्यसमिति, जहदाका सचिव मुकेश यादवले जानकारी दिए।
विद्यालयको शैक्षिक वातावरण नै खलबलाउने गरी गरिएको उक्तकार्यप्रति नेपाल शिक्षक महासंघ, जहदाले खेद व्यक्त गरेको छ। शिक्षक कर्मचारीहरूको मनोवल गिराउने कार्यहरू नगर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दै महासंघले उक्त घटनाको छानबिन गरी दोषीलाई पुनः त्यस्ता कार्य नगर्न निरुत्साहित गर्न गराउन विद्यालयसँग प्रत्यक्ष सरोकार राख्ने सम्बन्धित निकायहरूलाई अनुरोध गरिएको छ।