इतिहास रच्दै चिनियाँ एनिमेटेड फिल्म नचा २

अजय अलौकिक ३ फागुन २०८१ १४:५८
20
SHARES
इतिहास रच्दै चिनियाँ एनिमेटेड फिल्म नचा २ पूर्वी चीनको आनहुई प्रान्तको फुयाङ सहरस्थित सिनेमा हलमा फिल्म हेर्न प्रतीक्षा गर्दै लाइनमा उभिएका मानिस। तस्बिर : सिह्वा/रासस

चिनियाँ नयाँ वर्षको दिन अर्थात् जनवरी २९ तारिखदेखि लागेको चिनियाँ चलचित्र ‘नचा २ : दानव बालकले समुद्रमा मच्चायो हलचल’ ले चिनियाँ बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। वसन्त चाडको अवधिमा ‘हिट’ साबित भइसकेको चलचित्रले बक्स अफिसमा निरन्तर रफ्तार लिँदै गर्दा आजको दिनसम्म नयाँ नयाँ रेकर्ड सिर्जना गरिसकेको छ। यसको रफ्तार अझै नरोकिने संकेत देखिएको छ। उत्तर अमेरिका, अस्ट्रेलियालगायतका देशमा प्रदर्शन भएपछि फेरि पनि नयाँ इतिहास रच्दै जाने अनुमान गरिएको छ।

विश्वमा कमै फिल्मले १ बिलियन अमेरिकी डलर कमाएका छन्। यो फिल्मले १० अर्ब चिनियाँ युआन कमाइसकेको छ अर्थात् १ बिलियन डलर कमाउने विश्वका ५८ वटा फिल्मभित्र परिसकेको छ। तर यो फिल्मले हालसम्म मात्र चीनभित्रको प्रदर्शनबाट १० अर्ब चिनियाँ युआन कमाउँदै रेकर्ड बनाएको छ। साथै चिनियाँ बक्स अफिसमा सुस्त हुने संकेत तत्काललाई छैन पनि।

तपाईँलाई थाहा छ? विश्वमा २ बिलियन अमेरिकी डलर कमाउने कतिवटा चलचित्र छन्? अहिलेसम्म मात्र ६ वटा फिल्मले यो कोसेढुंगा पार गरेको छ। इतिहासमा विश्वव्यापी बक्स अफिसमा २ अर्बको आँकडा पार गरेका फिल्महरूमा अवतार, त्यसपछि एभेन्जर्स : एन्डगेम, अवतार : द वे अफ वाटर, टाइटानिक, एभेन्जर्स : इन्फिनिटी वार र द फोर्स अवेकन्स हुन्। नचा २ ले चीनमा मात्र २ अर्ब डलरको कोसेढुंगा पार गर्नसक्ने अनुमान चिनियाँ फिल्मी वेबसाइटको छ।

नचा २ विश्व बक्स अफिसमा २६ औँ स्थानमा छ र एनिमेसन बक्स अफिसमा पाँचौँ स्थानमा छ। नचा २ इनसाइड आउट २ को १.६ बिलियन डलरको विश्वव्यापी कमाइलाई पार गर्दै अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने एनिमेटेड फिल्म बन्ने पनि लगभग निश्चित छ।

नचा २ : दानव बालकले समुद्रमा मचायो हलचल

सन् २०१९ को एनिमेटेड फिल्म ‘नचाःम, दानव बच्चा’ को सिक्वेलको रूपमा ‘नचा २: दानव बालकले समुद्रमा मचायो हलचल’ जनवरी २९, २०२५ देखि चीनमा प्रदर्शन भएदेखि नै दर्शक र चलचित्रकर्मीहरूबाट व्यापक प्रशंसा पाएको छ। २०१९ को नचाको सिक्वेल नचा २ ले असाधारण शक्ति भएको दानव केटाको कथालाई निरन्तरता दिएको छ। यसको कथानक, गहन चरित्र चित्रण, स्तरीय दृश्यहरूको साथमा भव्य एनिमेसनले चलचित्रलाई उत्कृष्ट बनाएको छ।

यु याङ, जो च्याओचको नामले पनि चिनिन्छ, द्वारा निर्देशित र एनलाइट पिक्चर्सद्वारा निर्मित, यो एनिमेटेड फिल्म चिनियाँ चलचित्र इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ। नचा २ को सफलताले चीनको फिल्म उद्योगको क्षमता, एनिमेसनको क्षेत्रको कौशलता र घरेलु साथै अन्तर्राष्ट्रिय दर्शकहरूलाई मनपर्ने सामग्री उत्पादन गर्ने क्षमतामाथि जोड दिन्छ।

यो फिल्म केही हदसम्म चिनियाँ पौराणिक कथाको आधारमा बनेको छ। पहिलोभन्दा यसमा नयाँ पात्रसहित कथावस्तु प्रस्तुत गर्दै समृद्ध बनाएको दर्शकको मान्यता छ। साथै, चीनका मिथकलाई चीन भन्दा राम्रोसँग कसैले पनि वर्णन गर्न नसक्ने विचारहरू देखापरेका छन्।

चाइना डेलीले आफ्नो सम्पादकीयमा नचा २ लाई चीनको ‘बढ्दो सांस्कृतिक आत्मविश्वास’ को प्रतीक भएको उल्लेख गरेको छ। लेखमा भनिएको छ कि ‘मुलान’ जस्ता चिनियाँ लोककथाहरूमा आधारित फिल्महरू बनाउन पश्चिमा स्टुडियोहरूमा भर पर्नुको सट्टा चीनको मनोरञ्जन उद्योगले आफ्नै कथाहरू बताउँदैछ भन्ने प्रमाणित गर्दछ।

नचा २ लाई चिनियाँ चलचित्रको प्रगतिको प्रतीकको रूपमा प्रशंसा गरिएको छ। यसबाहेक नचा २ ले चीनमा निर्मित चलचित्रहरू विश्वव्यापी रूपमा प्रतिस्पर्धी हुँदै गइरहेका छन् भन्ने पनि देखाउँछ।

यसैबीच चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याखुनले समेत नेचा २ ले मच्चाएको तहल्काबारे चर्चा गर्दे चिनियाँ फिल्महरूले चीन र बाँकी विश्व बीच आदानप्रदानका लागि नयाँ पुलहरू निर्माण गरेको र विश्वका लागि चीनलाई हेर्ने नयाँ ढोका खोलेको बताएका छन्।

उनले भने, ‘मलाई विश्वास छ कि विदेश पुगेका चिनियाँ फिल्महरूले चीन र बाँकी विश्व बीच आदानप्रदानका लागि नयाँ पुलहरू निर्माण गरेका छन् र विश्वका लागि चीनलाई हेर्ने नयाँ ढोका खोल्ने छन्। मेरो विचारमा यसको मूल कारण चीन र विदेशी देशहरूबीच आर्थिक, व्यापार, संस्कृति र जनमत आदानप्रदानको माग अत्यन्त बलियो हुनु हो। यसले यो पनि देखाउँछ कि विश्वव्यापीकरणको प्रक्रियामा देशहरूले खुलापन र साझा जितको सहयोगको वातावरणमा आफ्नै विकास हासिल गर्न सक्दछन्।’

विश्वका सबै देशहरूको भाग्य गाँसिएको भन्दै सभ्यतागत आदानप्रदान र पारस्परिक सिकाइ जनजनबीच मित्रता अभिवृद्धि गर्ने पुल भएको बताए। उनले भने, ‘जब विश्वका सबै देशको भाग्य एकआपसमा गाँसिएको छ, तब सभ्यतागत आदानप्रदान र पारस्परिक शिक्षा जनताबीच मित्रता अभिवृद्धिका लागि एक पुल बनेको छ। साथै, मानव सामाजिक प्रगतिका लागि एक प्रेरक शक्ति र विश्व शान्तिको रक्षाका लागि एउटा बन्धन पनि बनेको छ।’

‘चीन वैश्विक सभ्यता पहललाई कार्यान्वयन गर्न, सभ्यताहरूबीच सांस्कृतिक आदानप्रदान र पारस्परिक सिकाइलाई प्रवर्द्धन गर्न र मानवजातिको सांस्कृतिक विविधतामा योगदान गर्न अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर रूपमा काम गर्न तयार छ,’ प्रवक्ता च्याखुनले भने।

यो एनिमेटेड सिक्वेल लगभग दुई हप्ताअघि चिनियाँ घरेलु बजारमा प्रदर्शन भएको थियो, र भर्खरै अन्तर्राष्ट्रिय बजारमा पनि प्रवेश गरेको छ। यसले चिनियाँ एनिमेटेड फिल्महरूको अन्तर्राष्ट्रिय प्रभाव मात्र बढाएको छैन, विश्वव्यापी एनिमेटेड फिल्म बजारमा नयाँ जीवन्तता पनि थपेको छ। यसले चिनियाँ एनिमेटेड फिल्महरूको उच्चतम स्तरको प्रतिनिधित्व गरेको छ। चिनियाँ संस्कृतिको अद्वितीय आकर्षण र असीमित सम्भावनाको पनि प्रदर्शन गरेको छ। जसकारण विश्वभरका दर्शकहरूलाई आगामी दिनमा चिनियाँ चलचित्र उद्योगले थप आश्चर्यका क्षणहरू ल्याउनेछ।

फेब्रुअरी १४, २०२५ सम्ममा चलचित्रको विश्वव्यापी बक्स अफिस (प्रिसेल सहित) ले १०.५ बिलियन चिनियाँ युआन पार गरेको छ। यो सबैभन्दा छिटो १० बिलियन युआनको अंकमा पुग्ने चिनियाँ चलचित्र मात्रै बनेको छैन। धेरै अन्तर्राष्ट्रिय ब्लकबस्टरहरूलाई पनि पार गर्दै सबै समयको शीर्ष कमाई गर्ने एनिमेटेड चलचित्रहरूमा स्थान बनाउने पनि लगभग निश्चित देखिएको छ। त्यसमाथि, भर्खरै, चीनबाहिर प्रदर्शन थालेको फिल्मले अन्तर्राष्ट्रिय छाप पनि छोड्ने पक्का छ।

प्रकाशित: ३ फागुन २०८१ १४:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast