काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यो सरकार ०८७ सम्म किन टिकाउनु पर्यो भन्दै प्रश्न गरेका छन्। विपक्षी दलको पत्रकारसम्मेलनमा अध्यक्ष नेपालले यस्तो प्रश्न गरेका हुन्।
प्रधानमन्त्री ओलीले ०८७ मा संविधान संशोधन गर्ने भन्दै अभिव्यक्ति दिएपछि नेपालले यस्तो टिप्पणी गरेका हुन्।
‘संविधान संशोधन गर्नेजस्तो विषयमा अरू कुनै पार्टीसँग परामर्श नगरी रातारात संविधान संशोधन नगरी नहुने के थियो विषय र अहिलेसम्म किन अघि बढेन, अब ०८७ सम्म कुर्नुपर्ने ?,’ उनले प्रश्न गर्दै भने, ‘यो सरकारलाई २०८७ सम्म किन टिकाइराख्नुपर्यो ? प्रधानमन्त्रीलाई टिकाइराख्नुपर्ने ? यसको जवाफ दिनुपर्यो।’
सरकार असफल रहेको पनि उनको भनाइ छ। उनले सरकार जनतालाई सुशासन दिन, रोजगारी प्रवर्द्धन गर्न पनि असफल रहेको टिप्पणी गरे।
‘वास्तवमा यो सरकारले जनअपेक्षाहरू पूरा गर्न सकेको छैन। यो सरकार जनतालाई सुशासन दिन सकेको छैन, रोजगारी प्रवर्द्धन गर्न सकेको छैन, उत्पादन बढाउन सकेको छैन। समाजमा सकारात्मक सन्देश दिन सकेको छैन,’ उनले भने, ‘त्यसैले यो सरकार असफल छ। अहिले सरकारको काम र क्रियाकलाप सन्तोषजनक छैन। सबै क्षेत्रमा यसको काम अत्यन्तै अलोकतान्त्रिक छ। संविधानलाई पूर्ण रूपमा बेवास्ता गरेको छ।’