काठमाडौँ- बेलायतमा भारी हिमपात र खराब मौसमका कारण यातायात प्रभावित भएको छ। खराब मौसमका कारण हवाई सेवा र रेल सेवा प्रभावित भएको हो।
बेलायतको नेशनल रेलले हवाई यात्राका साथै रेल यात्रा गर्नेहरू यात्रुहरूलाई पनि कठिनाइको सामना गर्नुपर्ने बताएको बीबीसीले जनाएको छ।
दक्षिणी बेलायतमा भारी वर्षाको आशंका गरिएको छ भने त्यहाँ ‘एलो अलर्ट’ जारी गरिएको छ। यसअघि वेल्सको अधिकांश भागमा वर्षालाई लिएर चेतावनी जारी गरिएको थियो।
लिवरपुलस्थित जौन लेनन विमानस्थलले रनवे ‘अस्थायी रूपले बन्द’ रहेको र रनवे खाली गराउन कडा मिहिनेत गर्नुपरिरहेको बताएको छ। विमानस्थलले स्थानीय समयअनुसार बिहान १० : १५ देखि पुनः रनवे सञ्चालनमा आउने जनाएको छ।
यसैबीच मैनचेस्टर विमानस्थलले पनि हिमपातका कारण रनवे बन्द रहेको जनाएको थियो। यद्यपि केही घण्टापछि विमानस्थल सञ्चालनमा आएको बताइएको छ।