बाढी प्रतिकार्यका लागि जापानले आईओएमलाई १० लाख डलर दियो

हिमाल प्रेस ८ असोज २०८३ १४:४५ | Thursday, September 24, 2026
10
SHARES
बाढी प्रतिकार्यका लागि जापानले आईओएमलाई १० लाख डलर दियो

काठमाडौँ- जापानले भदौ १० मा आएको आकस्मिक बाढी प्रभावित मानवीय प्रतिकार्यलाई सहयोग गर्न अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) लाई १० लाख अमेरिकी डलर (करिब सबा १५ करोड रुपैयाँ) को आकस्मिक अनुदान उपलब्ध गराएको छ।

काठमाडौँस्थित जापानी दूतावास र आईओएम नेपालले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिअनुसार उक्त अनुदानबाट रसुवा, नुवाकोट र धादिङमा विपद्‌बाट प्रभावित जोखिममा रहेका परिवारलाई आकस्मिक आश्रय सहायता र अत्यावश्यक घरेलु सामग्री उपलब्ध गराइनेछ।

सरकारी निकाय तथा मानवीय सहायता साझेदारसँगको समन्वयमा पहिचान गरिएका प्राथमिक क्षेत्रलाई लक्षित गरी सहायता प्रदान गरिनेछ। विपद्पछि प्रभावित परिवारलाई तत्कालका आवश्यकता पूरा गर्न तथा आधारभूत जीवनयापनको अवस्था पुनःस्थापित गर्न सहयोग पुर्‍याउनु यसको उद्देश्य रहेको छ।

नेपालका लागि जापानी राजदूत माएदा तोरुले नेपालमा हालै आएको बाढीबाट प्रभावित जनतालाई सहयोग गर्न आकस्मिक सहायता उपलब्ध गराउन पाउँदा जापान खुसी रहेको बताएका छन्।

‘यस सहयोगमार्फत जोखिममा रहेका परिवारलाई आवश्यक आश्रय सहायता र गैरखाद्य सामग्री उपलब्ध गराउँदै उनीहरूको तत्काल आवश्यकता पूरा गर्न तथा आधारभूत जीवनयापनको अवस्था पुनःस्थापित गर्ने प्रयासमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ,’ उनले भनेका छन्।

आईओएमले प्रभावित क्षेत्रमा टोली परिचालन गरी आवश्यकताको मूल्यांकन गर्नुका साथै राष्ट्रिय तथा स्थानीय निकाय, मानवीय सहायता समूह र नागरिक समाजका संस्थालगायत अन्य साझेदारसँगको समन्वयमा सहायता वितरण गरिरहेको जनाएको छ।

प्रभावित नागरिकले आफूले प्राप्त गरेको सहयोगबारे गुनासो राख्न र प्रतिक्रिया दिन सक्ने संयन्त्रलाई समेत थप सुदृढ बनाइने आईओएमले जनाएको छ।

आईओएम नेपालकी प्रमुख मिसन हेलेन फोर्सले विनाशकारी बाढीका कारण घर, अत्यावश्यक सामग्री र आफन्त गुमाएका नेपालीका लागि जापानको सहयोग महत्त्वपूर्ण समयमा आएको बताइन्।

उनका अनुसार उक्त सहयोगले बाढीबाट प्रभावित नागरिकलाई आश्रय र घरेलु सामग्री उपलब्ध गराउने सरकारको प्रयासमा समेत सहयोग पुग्नेछ।

प्रकाशित: ८ असोज २०८३ १४:४५ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast