संविधानको सफल कार्यान्वयनका लागि गुनासाहरू सम्बोधन हुनुपर्छ : प्रथम राष्ट्रपति यादव

हिमाल प्रेस ८ पुष २०८१ १६:३७
6
SHARES
संविधानको सफल कार्यान्वयनका लागि गुनासाहरू सम्बोधन हुनुपर्छ : प्रथम राष्ट्रपति यादव

काठमाडौँ– प्रथम राष्ट्रपति डा. रामवरण यादवले पत्रकारिताको पेसागत व्यावसायिक मर्यादा र गरिमालाई कायम राख्न पत्रकारले आफ्नो धर्म र नैतिक इमान्दारितालाई अक्षुण्ण राख्न सक्नुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशको तेस्रो पद हस्तान्तरण कार्यक्रमका अवसरमा आयोजित ‘पत्रकार भइरहन कति सहज?’ विषयक अन्तरक्रियामा उनले पत्रकारिताको धर्म र नैतिकतालाई व्यवस्थित गरेर लैजान सकेको खण्डमा सिङ्गो पत्रकारिताको माध्यमबाट लोकतन्त्र र प्रजातन्त्र सुदृढ हुने विश्वास व्यक्त गरे।

‘पत्रकारले आफ्नो व्यावसायिक धर्म छाड्नु हुँदैन। नकि पत्रकार, चिकित्सक, वकिल र राजनीतिकर्मी सबै आफू जहाँ छौँ आ–आफ्नो धर्म निर्वाह गर्नुपर्छ यसबाटै देश र समाजको बृहत्तर हित हुन्छ,’ उनले भने, ‘आजको दुनियाँमा नैतिकताको ह्रास भइरहेको छ। यस्तो बेलामा पत्रकारको आफ्नो धर्म छ। तपाइँहरू जहाँ हुनुहुन्छ, व्यावसायिक धर्म नछोड्नुस्।’

पत्रकार देश र समाजको प्रतिनिधित्व गर्ने वर्ग भएकाले पेसागत दायित्व र नैतिक इमान्दारिता कायम गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा समावेशी चरित्रको संविधान बनेको भन्दै यसको संरक्षण र प्रवर्द्धन गर्न सबै क्षेत्रको उत्तिकै दायित्व हुने उल्लेख गरे।

एक अर्को प्रसङ्गमा प्रथम राष्ट्रपति डा. यादवले आज संसारमा प्रजातन्त्रको क्षयीकरण भइरहेको सन्दर्भमा आफू विद्यार्थी राजनीति, चिकित्सा पेसा र पछिल्लो पदीय जिम्मेवारीमा रहदाँ करिब ८३ वर्षको उमेरमा लोकतन्त्रमाथि खतरा छ भन्दा असाध्यै दुःख लाग्ने गरेको सुनाए। उनले संविधानको सफल कार्यान्वयनका लागि सानातिना गुनासालाई सम्बोधन गरेर सचेतनापूर्वक अगाडि बढ्नुपर्ने धारणा राखे।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले व्यावसायिक र जिम्मेवार पत्रकारिताको विकास गर्नेतर्फ महासंघ क्रियाशील हुनुपर्नेमा जोड दिए।

नेता रिजालले सातबुँदे सहमतिको भावनाअनुरूप सरकार सफल रूपमा अघि बढ्नुपर्ने बताए। उनले यथेष्ट सहमतिका साथ देखिएका निराशालाई चिर्दै सबै राजनीतिक दलसँगको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाइनुपर्ने खाँचो औँल्याए।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पत्रकारिता व्यावसायिक पत्रकारिताको विकास र अभिव्यक्ति स्वतन्त्रताको विस्तार मात्र नभई नागरिकमा सचेतना र सकारलाई खबरदारी गर्ने महत्त्वपूर्ण माध्यम रहेको भन्दै यसको महत्त्व र प्रतिष्ठालाई जोगाउन स्वयम् पत्रकार जिम्मेवार हुनुपर्नेमा जोड दिए।

उनले लोकतन्त्रमा पत्रकारिता समाजको निरन्तर आन्दोलन भएको भन्दै लोकतन्त्रलाई गति दिन आत्माका रूपमा पत्रकारिताले काम गरिरहेको बताए।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्राको संरक्षणका साथै श्रमजीवी पत्रकारको पेसागत र व्यावसायिक मुद्दा प्राथमिकतासाथ उठाउने विश्वास व्यक्त गरिन्। पछिल्लो समय पत्रकारको समाचारसँगको पहुँच सङ्कुचन भइरहेको र त्यसमा सरकार, राजनीतिक दलले सूचना प्रणालीलाई चुस्त र दुरूस्त बनाउनुपर्ने अपरिहार्य भएको उनले उल्लेख गरिन्।

महासंघका पूर्वअध्यक्ष बिपुल पोखरेलले महासंघलाई सशक्त बनाउन र लेख्ने पत्रकारको संस्थाका रूपमा विकास गर्न प्रतिष्ठान प्रदेश समितिको महत्वपूर्ण भूमिका हुने बताए।

उनले श्रमजीवी पत्रकारका धेरै मुद्दा थाती रहेकाले तिनको पैरवी गर्न नयाँ नेतृत्वले सफल हुनुपर्ने बताए।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले निर्वाचनपछि महासंघ साझा चरित्रको भएको भन्दै थाती रहेका पत्रकारको सदस्यता शुद्धीकरण र पत्रकारितामा देखिएका अविश्वास कम गर्न महासंंघले पैरवी गर्नुपर्ने उल्लेख गरे।

पत्रकार एवं लेखक मोहन मैनालीले पत्रकारिताको व्यावसायिक धर्म र आचरणलाई जोगाएर पत्रकारिताप्रति नागरिक र सरोकारवालाको भरोसा कायम राख्न पत्रकार क्रियाशिल हुनुपर्ने बताए।

प्रतिष्ठान प्रदेश समितिका निवर्तमान अध्यक्ष बालकृष्ण अधिकारीले साढे तीन वर्षको कार्यकालमा पेसागत दक्षता र संगठनलाई चुस्त बनाउनाका साथै पत्रकारलाई क्रियाशील बनाउन थोरै भए पनि प्रतिष्ठानले दायित्व निर्वाह गरेको बताए।

सो अवसरमा महासंघका नवनिर्वाचित केन्द्रीय अध्यक्ष शर्मालाई प्रतिष्ठानका तर्फबाट प्रथम राष्ट्रपति डा. यादवले सम्मानपत्र प्रदान गरे। साथै प्रतिष्ठानका निर्वाचित कार्यसमित र मतदान अधिकृतलाई प्रसंशापत्रद्वारा सम्मान गरियो।

प्रकाशित: ८ पुष २०८१ १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast