काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा युरोप र नयाँदिल्लीको तीन साता लामो यात्रा सकेर सोमबार साँझ काठमाडौँ ओर्लँदै छिन्। नेदरल्यान्डसबाट बेल्जियम, जर्मनी, लग्जेम्बर्गको भ्रमणपछि चार दिनअघि नयाँदिल्ली पुगेकी थिइन। उनी काठमाडौँ विश्वविद्यालयको एक कार्यक्रमको निहुँ पारेर दिल्ली पुगेकी हुन्। राजनीतिक भेटघाट गर्ने दाउसहित दिल्ली पुगे पनि आफैँले ‘राखी बाँधेको भाइ’ भारतीय जनता पार्टी (बीजेपी) का विदेश विभाग इन्चार्ज डा. विजय चौथाईवालेले समेत भेट नदिएपछि राणा अलमलमा छिन्।
भारतीय नेताहरूसँग भेट गर्ने व्यक्तिगत प्रयास, बाह्रखम्बास्थित नेपाली दूतावास, लैनचौरस्थित भारतीय दूतावास र भारतमा रहेका आप्रवासी नेपालीमार्फत पहल गर्दा पनि सफल हुन नसकेपछि आइतबार एक दिन होटलमा आराम गरेर मन्त्री राणा काठमाडौँ फर्कन लागेको दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको पहलकदमीका लागि उनी दिल्ली गएको परराष्ट्र अधिकारीहरूको दाबी छ। त्यसो त ओलीले दिल्ली भ्रमणका पहलका लागि आप्रवासीसम्बन्धी कार्यक्रममा भाग लिने निहुँमा पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पनि दिल्ली पठाएका छन्। दिल्लीस्थित दूतावासका ती अधिकारीले भने, ‘ज्ञवालीले राजनीतिक भेटघाट गर्न खोजिरहनुभएको छ। उहाँले पनि भनेजस्तो राजनीतिक भेट नपाएपछि आरजुसँगै एकै उडानमा फर्कने तयारीमा हुनुहुन्छ।’
आरजु र ज्ञवालीको उद्देश्य एकै भए पनि भारतीय नेताहरूले चासो नदिएको ती अधिकारीको दाबी छ। प्रधानमन्त्री ओली भारत भ्रमणका विषयमा निकै गम्भीर देखिएको दूतावासका अधिकारीहरूको दाबी छ। ती अधिकारीले भने, ‘प्रधानमन्त्रीजी अहिले जति गम्भीर पहिले भएको भए सम्भव हुने थियो। भारतले निम्ता नदिएपछि उत्तरी छिमेकी चीन पुगेर फर्किएका प्रधानमन्त्री ओलीलाई भारतले सहजै निम्ता दिने संकेत छैन।’
ती अधिकारीका अनुसार राणालाई भारतीय सबै नेताको एकै जवाफ मिलेको छ, ‘पछि भेटौँला। नेपालबाटै समय मिलाएर आउनु राम्रो हुनेछ। परराष्ट्रमन्त्री पर्यटकझैँ भ्रमणमा आउने होइन होला’ यसले राणाको कूटनीतिक शैली र क्षमतामा प्रश्न उठेको ती अधिकारीले बताए।
परराष्ट्रमन्त्री कुन स्तरको कार्यक्रममा सहभागी हुने, प्रोटोकल कसरी मिलाउने भन्ने विषय पनि सोचनीय रहेको कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन्। उनीहरूका अनुसार विश्वविद्यालयले गरेको कार्यक्रममा जानु नराम्रो होइन। तर कार्यक्रमको भेन्यु कहाँ छ? त्यो मुलुकसँग के चलिरहेको छ? त्यहाँ कस्ता व्यक्तिको उपस्थिति रहन्छ? कुरामा बहालवाला परराष्ट्रमन्त्रीले ध्यान दिन जरुरी छ।
एक अधिकारीले भने, ‘भारतको संस्थापन पक्षले आरजुलाई भेट्न इन्कार गर्नु भनेको नेपालको परराष्ट्रमन्त्रीलाई हैसियत देखाइदिनु हो। पहिलोपटक परराष्ट्रमन्त्रीका रूपमा भारतले गरेको स्वागत प्रधानमन्त्रीलाई सरह गरेको थियो। अहिले उनै आरजुको अथक प्रयासका बाबजुद एकजना भारतीय नेतासँग भेट हुन पाएन।’
आफूले भेट गर्न नसकेपछि भारतीय गृहमन्त्री एवम् भाजपाका नेता अमित शाहको सचिवालयमा काम गरिसकेका र अहिले कांग्रेस नेता भएका सन्दिप रानालाई उनले दिल्ली बोलाएर भेटघाट मिलाउने प्रयास गरेको खवर दूतावासले पाएको छ। त्यसरी हुने भेटवारे दूतावासलाई केही जानकार नहुने दूतावासका ती अधिकारीले बताए।
दूतावासका ती अधिकारी भन्छन, ‘भेट हुने भए हामीलाई केही न केही थाहा हुन्छ। जानकारी दिन्छन्। अहिले हुने अवस्था छैन। एमाले नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि सामान्य व्यक्तिहरुसँग भेटेर बसेका छन्।’ विभिन्न युरोपेली मुलुकको भ्रमणपछि परराष्ट्रमन्त्री डा। आरजु बिहीबार भारतको राजधानी नयाँदिल्ली पुगेकी थिइन्। भारत पुगेकै दिनदेखि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय समकक्षी डा. एस जयशंकर, गृहमन्त्री अमित साह, रक्षामन्त्री राजनाथ सिंहलगायतसँग भेट्न खोजेकी थिइन्।
मन्त्री राणाले नेता होइन भारतीय विदेश मन्त्रालयका उच्च तहका कर्मचारीलाई समेत भेट्न पाइनन्। सबैले सभ्य रुपमा परराष्ट्रमन्त्रीको आगमन अचानक भएको र आफ्नो व्यस्त कार्यतालिका रहेको भन्दै इन्कार गरेपछि राणा फर्कन लागेकी हुन्।
‘भेट्न चाहेकाहरुले अहिले होइन पछि भेटौँला भनेपछि मन्त्रीज्यू फर्किन बाध्य हुनुभएको छ,’ दिल्लीस्थित नेपाली दूतावासका ती अधिकारीले भने, ‘मन्त्रीज्यू अस्तिसम्म कार्यक्रममा हुनुहुन्थ्यो। हिजो अपोलो गएर स्वास्थ्य परीक्षण गराउनुभयो। आज हामी बिदाइ गर्दैछौँ, ती अधिकारीले आइतबार टेलिफोनमा भने। आरजुले भारतीय समकक्षी जयशंकरसँग भेट्ने र प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति तय गर्ने प्रयास सफल हुन नसकेको ती अधिकारीले बताए।
प्रधानमन्त्री ओलीले भारत भ्रमण नगरी चीन पुगेर बेल्ट एन्डा रोड इनिसिइटिभ्स (बीआरआई) मा फ्रेमवर्कमा हस्ताक्षर भएकोमा भारत खुसी नदेखिएको दिल्लीस्थित दूतावासका अधिकारीहरूको बुझाइ छ। यसैबीच परराष्ट्रमन्त्री राणाले शुक्रबार दिल्लीमा भएको नेपाल-भारत आर्थिक सम्मेलनलाई सम्बोधन गरेकी थिइन्। काठमाडौँ विश्वविद्यालयले गरेको उक्त कार्यक्रममा नेपालका लागि भारतका पूर्वराजदूत र भारतका लागि नेपालका पूर्वराजदूत सहभागी थिए।