काठमाडौँ – नेकपा एमालेको पार्टी कार्यालय भवन निर्माणका लागि भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले जग्गा दिएको विषयमा परेको रिट खारेज भएको छ। अधिवक्ता ज्ञानकुमार बस्नेतले दायर गरेको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्ण सुनुवाइपछि रिट खारेजको आदेश गरेको हो।
अधिवक्ता ज्ञानकुमार बस्नेतले दायर गरेको रिटमाथिको प्रारम्भिक सुनुवाइमा यसअघि न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले गत कात्तिक १२ गते उक्त जग्गादान प्रथम दृष्टिमै कानुनप्रतिकूल भनी तत्काल प्रक्रिया अघि नबढाउन भनेको थियो।
एमालेलाई भाटभटेनीका सञ्चालक गुरुङले काठमाडौँको कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा १० रोपनी १४ आना दिएको घोषणा गरी गत असोज २४ गते शिलन्याससमेत भइसकेको छ।
२०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौं महानगरपालिका १४ नम्बर वडा मदन नगर बल्खुमा रहेको एमाले पार्टी केन्द्रीय कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनहरूमा बस्दै एमालेको भनाइ छ। च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई, तीनपटक बाढीको सामना गर्नुपरेकाले यो स्थिति अन्त्य गर्न स्थायी रूपमा भवन निर्माण गर्न दान स्वीकार्ने निर्णय गरेको एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चमै बताएका थिए।
गुरुङले दिएको जग्गामा मदन भण्डारी स्मृति भवन बनाउने र उक्त भवन नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय हुने एमालेको भनाइ छ।