पोखरा- सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ पक्राउ परेका लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।
लामिछानेलाई सातौँपटक आज कास्की जिल्ला अदालत उपस्थित गराइएको थियो। म्याद थपका विषयमा भएको बहसपछि जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रवि तथा पूर्व डीआईजी छविलाल जोशीसहितलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।
प्रहरीले थप ९ दिन म्याद मागे पनि अदालतले ५ दिनको समय मात्र थप गरेको हो। यसअघि रविविरुद्ध ६ पटक हिरासत म्याद थप भइसकेको छ। लामिछानेविरुद्ध ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ। यसबीच उनलाई रुपन्देही (बुटवल), काठमाडौँ, चितवन र पर्सा (वीरगन्ज) का विभिन्न सहकारी ठगी आरोपमा समेत ती स्थानमा लगेर बयान लिइएको छ।
रविविरुद्ध पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको आरोप छ। संगठित अपराधमा रविसहित पाँच मुख्य योजनाकार रहेको प्रहरीको निष्कर्ष छ।