काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनले उठाएका विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानका मुद्दाबाट आफूहरू विचलित नहुने प्रतिबद्धता व्यक्त गरेका छन्।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार विज्ञप्ति जारी गर्दै सभापति लामिछानेले आन्दोलनले देखाएको मार्गबाट एक इन्च पनि विचलित नहुने दृढ संकल्प व्यक्त गरेका हुन्।
‘जेनजी जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ भन्ने दृढ संकल्प व्यक्त गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन्।
लामिछानेले एक वर्षअघि नेपाली इतिहासमा नयाँ जागरणको विस्फोट भएको उल्लेख गर्दै भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताले सिर्जना गरेको निराशाविरुद्ध सचेत युवा पुस्ता शान्तिपूर्ण र दृढ सङ्कल्पका साथ सडकमा उत्रिएको स्मरण गरे।
परिवर्तनको आवाज उठाउँदा युवा पुस्ताको रगत बगेको देख्नु आफूहरूका लागि अत्यन्त पीडादायी भएको उनको भनाइ छ। एक थोपा रगत नबगाई पार्टी स्थापना गरेको उल्लेख गर्दै उनले भदौ २३ र २४ गते देशमा भएको घटना फेरि कहिल्यै दोहोरिन नहुने बताए।
परिवर्तनका लागि अब कुनै पनि आमाको काख नरित्तियोस् भन्ने कामना गर्दै उनले नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग राखेर जीवन गुमाउने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे। कर्तव्य पालनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति पनि उनले श्रद्धाञ्जली अर्पण गरेका छन्।
आन्दोलनका क्रममा अङ्गभङ्ग तथा घाइते भएकाहरू र मानसिक तथा शारीरिक चोट भोगेकाप्रति सम्मान व्यक्त गर्दै लामिछानेले राज्यले सम्बन्धित परिवारको उचित हेरचाह, घाइतेहरूको पूर्ण उपचार तथा दीर्घकालीन पुनर्स्थापनाको दायित्व पूरा गर्नुपर्ने बताए।
राजनीतिमा खासै चासो नराख्ने भनिएको युवा पुस्ता शान्तिपूर्ण रूपमा सडकमा उत्रिनु परम्परागत राजनीतिक शैलीप्रतिको स्पष्ट अस्वीकृति भएको उनले बताए।
जेनजी पुस्ता डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको, स्वाभिमानी र आफ्नै देशभित्र भविष्य खोज्ने पुस्ता भएको भन्दै लामिछानेले अब कुशासन स्वीकार्य नहुने सन्देश आन्दोलनले दिएको बताए।
उनले जेनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा नभई पूर्णतः स्वस्फूर्त जागरणका रूपमा भएको उल्लेख गर्दै कुनै पनि राजनीतिक दल वा नेताले त्यसलाई आफ्नो सङ्कुचित राजनीतिक लाभको औजार बनाउन नहुने धारणा राखे।
‘हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ। र, यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ,’ रविले भने।
लामिछानेले युवा, नागरिक समाज र आम जनसमुदायलाई रास्वपाको कार्यसम्पादनमाथि निरन्तर रचनात्मक खबरदारी तथा निर्मम समीक्षा गर्न अपिल गरेका छन्।


