
काठमाडौँ-स्पिनर विलियम बोसिस्टोको सान्दार बलिङ र अलराउन्डर गुल्सन झाको प्रभावशाली ब्याटिङप्रेरित नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्सले पोखरा एभेन्जर्सविरुद्ध सहज जित हासिल गरेको छ।
मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा कर्णालीले पोखरामाथि सात विकेटको सहज जित हासिल गर्यो। पोखराले प्रस्तुत गरेको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो।
कर्णालीको जितमा गुल्सनले ३७ बलमा तीन चौका र चार छक्कासहित ४९ रनको अविजित पारी खेले। त्यस्तै तेस्रो नम्बरका ब्याटर चाडविक वाल्टनले ३४ बलमा ६ छक्का र एक चौकासहित सर्वाधिक ४२ रनको योगदान गरे। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पोखराका लागि विपीन खत्री, सागर ढकाल र कुशल भुर्तेलले समान एक विकेट लिए। कर्णालीले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा दुई विकेट गुमाएर २७ रन जोडेको थियो।
कर्णालीले पहिलो ओभरको तेस्रो बलमै देवलाई गुमायो। देव खाता नै खोल्न नपाई पेभिलियन फर्किए। उनलाई विपीनले पेभिलियनको बाटो देखाए। चौथो ओभरको पाँचौं बलमा पोखराले हायातको विकेट लियो। हायात स्पिनर सागर ढकालको बलमा बोल्ड भए। हायातले सात रनको योगदान गरे।
त्यसपछि आएका गुल्सनले वाल्टनसँग मिलेर ६० रनको अर्धशतकीय साझेदारी गरे। १२औं ओभरको अन्तिम बलमा कर्णालीले वाल्टनलाई गुमायो। वाल्टन पोखराका भुर्तेलको बलमा बोल्ड भए।
पाँचौं नम्बरमा आएका बोसिस्टोले गुल्सनसँग मिलेर चौथो विकेटको लागि ३२ रनको साझेदारी गरे। जसमा गुल्सन एक्लैको ३० रनको योगदान रह्यो। १५औं ओभरको अन्तिम बलमा गुल्सनले माइकल क्रिचलेको बलमा छक्का प्रहार गर्दै कर्णालीलाई लगातार तेस्रो जित दिलाए।
त्यसअघि टस जितेर ब्याटिङको निर्णय लिएको पोखराले १६.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र १०३ रनको योगफल तयार पार्यो। बोसिस्टोले ६ खेलाडीलाई पेभिलियनको बाटो देखाएपछि पोखरा सस्तैमा अलआउट भएको हो।
बोसिस्टोले चार ओभरमा २८ रन खर्चिँदै सर्वाधिक ६ विकेट लिएका हुन्। त्यस्तै कप्तान सोमपाल कामी, विपीन शर्मा र युनिस ठकुरीको नाममा समान एक विकेट रह्यो।
पोखराका लागि ओपनर दीनेश खरेलले १९ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक २६ रनको योगदान गरे। दीनेशका ओपनि पार्टनर आन्द्रेश गौसले २५ र रेमन रिफरले २० रन जोडे। त्यस्तै कप्तान भुर्तेल र विपीन खत्रीले समान १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पोखराले ब्याटिङ पावरप्लेमा दुई विकेट गुमाउँदै ५२ रन जोडेको थियो। पहिलो विकेटका लागि गौस र दीनेशले ४६ रनको साझेदारी गरे। चौथो ओभरको पाँचौं बलमा गौस विपीनको बलमा बोसिस्टोबाट क्याच भए। पेभिलियन फर्किनुअघि गौसले २५ रनको योगदान गरे। पाँच रनपछि पोखराले दीनेशलाई गुमायो। २६ रन बनाएका दीनेश युनिसको बलमा बोल्ड भए।
पोखराले तेस्रो विकेटको रुपमा भुर्तेललाई गुमायो। १० रन बनाएका भुर्तेल बोसिस्टोको बलमा बोसिस्टोबाटै क्याच आउट भए। पाँचौं नम्बरका ब्याटर म्याट क्रिचले खाता नै खोल्न नपाई पेभिलियन फर्किएपछि कर्णालीले चौथो सफलता हासिल गर्यो। यसपालि पनि बोसिस्टो पोखराका लागि खतरा सावित भए। बोसिस्टो यतिमै रोकिएनन्। आफ्नो अर्को ओभरमा थप तीन खेलाडीलाई पेभिलियनको बाटो देखाएर बोसिस्टोले खेलको रुप नै बदलिदिए।
१४औं ओभरको पहिलो बलमा मध्यक्रमका ब्याटर दिलीप नाथ अर्जुन घर्तीको दर्शनीय क्याचको शिकार बन्दा तेस्रो बलमा सातौं नम्बरका ब्याटर माइकल लिस्कलाई बोसिस्टोले बोल्ड गरे। अन्तिम बलमा नारायण जोशी एलबिडब्ल्युको शिकार बन्दै पेभिलियन फर्किए।
आफ्नो चौथो ओभरमा बोसिस्टोले व्यक्तिगत छैटौं विकेट हासिल गरे। १६औं ओभरको पहिलो बलमा रिफर विकेटकिपर वाल्टनबाट क्याच भए। अर्को ओभरको दोस्रो बलमा सोमपालले आकाश चन्दलाई एलबिडब्ल्युको शिकार बनाए। तेस्रो बलमा विपीन युनिसबाट रन आउट भए। जितसँगै कर्णाली ६ अंकसहित चौथो स्थानमा यथावत रह्यो। हारपछि पोखरा सातौं स्थानमा झरेको छ।