राजाको अवशेष एक हजार वर्षपछि फिर्ता

हिमाल प्रेस १९ असोज २०८३ १५:५६ | Monday, October 5, 2026
राजाको अवशेष एक हजार वर्षपछि फिर्ता बुल्गेरियाली साम्राज्यका अन्तिम प्रभावशाली शासकमध्ये एक मानिने राजा स्यामुअलका अवशेष आइतबार घर फर्काइँदै। तस्बिर : एएफपी/रासस

काठमाडौँ- मृत्यु भएको एक हजार वर्षभन्दा बढी समयपछि बुल्गेरियाली साम्राज्यका अन्तिम प्रभावशाली शासकमध्ये एक मानिने राजा स्यामुअलका अवशेष आइतबार ‘घर’ फर्काइएका छन्।

ग्रिस र बुल्गेरियाबीच यसै साता अवशेष फिर्ता गर्ने सहमति भएको थियो। बुल्गेरियाका प्रधानमन्त्री रुमेन रादेभले उक्त सहमतिलाई ‘ऐतिहासिक’ भनेको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

ग्रिसका प्रधानमन्त्री क्य्रियाकोस मित्सोताकिससँगै अवशेष फिर्ताको अवसरमा आयोजित समारोहमा सहभागी रादेभले भने, ‘यी अवशेष हाम्रा दुई जनताका हुन्।’

यसको बदलामा ग्रिसले प्रथम विश्वयुद्धका क्रममा उत्तरी ग्रिसका चर्च तथा गुम्बाबाट बुल्गेरियाली सेनाले लुटेर लगेका ४८ वटा वस्तु फिर्ता पाउनेछ।

स्यामुअलले ९९७ देखि १०१४ सम्म शासन गरेका थिए। उनले आफ्ना दाजुभाइसँग मिलेर बाइजेन्टिन साम्राज्यविरुद्ध कैयौँ सैन्य अभियान चलाएका थिए। पछि उनले आफ्नै भाइको हत्या गराएका थिए।

उनले बिस्तारै बाल्कनको ठूलो भूभागमाथि आफ्नो नियन्त्रण विस्तार गरे। अहिले अधिकांश भाग उत्तर म्यासेडोनियामा पर्ने प्रेस्पा र ओह्रिड ताल आसपासको क्षेत्रलाई उनले आफ्नो शक्तिको केन्द्र बनाएका थिए।

सन् १००१ पछि बाइजेन्टिन साम्राज्य बलियो हुँदै गयो र १०१४ मा स्यामुअलको सेनालाई निर्णायक रूपमा पराजित गर्‍यो।

बाइजेन्टिन सम्राट् बासिल द्वितीयको आदेशमा युद्धमा पराजित हजारौँ सैनिकलाई अन्धो बनाएर घर फर्काइएपछि उनीहरूलाई देखेर स्यामुअललाई गहिरो धक्का पुगेको र त्यसकै कारण उनको मृत्यु भएको बताइन्छ। बासिल द्वितीयलाई ‘बुल्गेरियाली संहारक’ का रूपमा चिनिन्छ।

स्यामुअलको राज्य त्यसको चार वर्षपछि बाइजेन्टिन शासनअन्तर्गत गएको थियो।

अवशेष स्वदेश फर्किएपछि भावी पुस्ताले आफ्ना पुर्खाप्रति सम्मान व्यक्त गर्न पाउने रादेभले बताए। मित्सोताकिसले भने यी अवशेषको अमूल्य सांस्कृतिक, आध्यात्मिक र भावनात्मक महत्त्व रहेको बताए।

उत्तर म्यासेडोनियाको राजधानी स्कोप्जेमा स्यामुअलको विशाल प्रतिमा राखिएको छ।

स्यामुअलको विरासतलाई लिएर बुल्गेरिया र उत्तर म्यासेडोनियाबीच लामो समयदेखि विवाद हुँदै आएको छ। म्यासेडोनियालीहरूले स्यामुअललाई आफ्नो शासकका रूपमा दाबी गर्दै आएका छन्।

स्कोप्जेको दैनिक ‘स्लोबोदेन पेचात’ले अवशेष हस्तान्तरणलाई इतिहासमाथिको अर्को संघर्ष भनेको छ। अल्बानियाली भाषाको दैनिक ‘कोहा’ले शीर्षकमा लेखेको छ, ‘हड्डी फर्किए, विवाद बाँकी रह्यो! स्कोप्जे र सोफियाबीच स्यामुअल फेरि विवादित।’

केही इतिहासकारले यो विवादलाई सम्राट चार्लेमेनको विरासतलाई लिएर फ्रान्स र जर्मनीबीच हुने दाबीप्रतिदाबीको संघर्षसँग तुलना गरेका छन्।

२०२२ मा दुई देशबीचको द्विपक्षीय आयोगले स्यामुअललाई त्यस्तो राज्यका प्रमुखका रूपमा प्रस्तुत गर्न सिफारिस गरेको थियो, जसलाई अधिकांश समकालीन इतिहासकारले बुल्गेरियाली साम्राज्य मान्ने गरेका छन् र जसको केन्द्र अहिलेको उत्तर म्यासेडोनिया क्षेत्रमा थियो।

कार्नेगी युरोप थिंक ट्यांकका अनुसन्धानकर्ता दिमितार बेचेभले एएफपीसँग भने, ‘बुल्गेरिया र उत्तर म्यासेडोनिया दुवैको ऐतिहासिक आख्यानमा स्यामुअलको महत्त्वपूर्ण स्थान छ।’

उनका अनुसार यो पहलको उद्देश्य म्यासेडोनियाका स्लाभ जनताको बुल्गेरियाली चरित्रलाई जोड दिनु हो।

स्यामुअलका अवशेष भएको दाबी गरिएको मानव कंकाल सन् १९६० को दशकमा ग्रिसका पुरातत्त्वविद् निकोलाओस मुत्सोपोलोसले फेला पारेका थिए।

मुत्सोपोलोसले ग्रिस र अल्बानियाको सीमाना नजिक तथा उत्तर म्यासेडोनियाको सीमाबाट धेरै टाढा नरहेको सानो प्रेस्पा तालस्थित सेन्ट अचिलियस टापुमा उत्खननको नेतृत्व गरेका थिए।

उत्खननका क्रममा करिब १.६ मिटर अग्लो पुरुषको कंकाल फेला परेको थियो। त्यससँगै सुनको किनार भएको र चराका आकृतिले सजाइएको बहुमूल्य रेसमी कपडाका अवशेष पनि भेटिएका थिए।

स्यामुअलका अवशेष भएको निष्कर्ष चिहानको स्थान, शवसँग भेटिएको विलासी पोसाक, मृतकको उमेर तथा पुरानो हड्डी भाँचिएको अवस्थालगायत प्रमाणका आधारमा निकालिएको हो।

बुल्गेरियाले अवशेष फिर्ताका लागि सन् २००७ मा औपचारिक रूपमा वार्ता सुरु गरेको थियो। त्यसयता यो विषय ग्रिससँगको सम्बन्धमा महत्त्वपूर्ण मुद्दा बन्दै आएको थियो।

यस साता भएको सहमतिले बुल्गेरियाभित्र पनि यसको श्रेय कसले लिने भन्ने विवाद निम्त्याएको छ। यसै महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा इतिहास र राष्ट्रियताको विषयले महत्त्वपूर्ण भूमिका खेलिरहेका बेला यो विषय थप राजनीतिक बनेको हो।

रादेभको समर्थन पाएकी वर्तमान राष्ट्रपति इलियाना इओतोभाले रुस तथा युरोपेली संघ र नेटोसँग समानान्तर सम्बन्ध विस्तारको पक्ष लिँदै राष्ट्रवादी भावनालाई प्राथमिकता दिएकी छन्। उनले आफ्नो चुनावी अभियान प्रथम बुल्गेरियाली साम्राज्यको पूर्वराजधानी भेलीकी प्रेस्लाभबाट सुरु गरेकी थिइन्।

विश्लेषक बेचेभका अनुसार ‘रादेभ राष्ट्रवादी मतदातालाई आकर्षित गर्न खोजिरहेका छन्’ र उनको सन्देश अन्य राष्ट्रवादी दलभन्दा आफूले ‘नतिजा दिन्छु’ भन्ने हो।

अवशेष फिर्ताको अवसरमा राजधानी सोफियासम्म आउन निःशुल्क रेलको व्यवस्था गरिएको छ। हस्तान्तरण समारोहका क्रममा सोफियाको केन्द्रमा करिब ७५० प्रहरी परिचालन गरिएको छ।

बुल्गेरियाली सार्वजनिक प्रसारक बीएनटीका अनुसार स्यामुअलका मानिएका अवशेषलाई उत्तर म्यासेडोनियाको प्रिलेप क्षेत्रमा उत्खनन गरिएको संगमरमरबाट बनाइएको सेतो समाधिपेटिकामा राखिनेछ।

ती अवशेष बुल्गेरियाको राजधानीलाई नाम दिएको छैटौँ शताब्दीमा निर्मित सेन्ट सोफिया चर्चमा राखिनेछन्।

प्रकाशित: १९ असोज २०८३ १५:५६ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast