अन्तर्वार्ता

काठमाडौँ-१६ को नतिजाले पार्टीप्रति सकारात्मक सन्देश गएको छ : विराजभक्त श्रेष्ठ

हिमाल प्रेस १७ मंसिर २०८१ १४:५१
94
SHARES
काठमाडौँ-१६ को नतिजाले पार्टीप्रति सकारात्मक सन्देश गएको छ : विराजभक्त श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी संघीय प्रतिनिधिसभाको चौथो ठूलो दल हो। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका २१ सांसद छन्। राष्ट्रियसभामा यो दलको प्रतिनिधित्व छैन। स्थानीय तहमा पहिलोपटक उम्मेदवारी दिएको रास्वपा एउटा वडामा वडाध्यमा निर्वाचित भएको छ। काठमाडौँ महानगरपालिका-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित भएपछि यति बेला उनको चर्चा भइरहेको छ। देशभरका ६७४३ वडामध्ये वडाध्यक्षमा निर्वाचित श्रेष्ठ स्थानीय सरकारमा रास्वपाबाट एक्ली प्रतिनिधि बनेकी छन्। उपचुनावको सेरोफेरोमा केन्द्रित रहेर रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसँग गरिएको संक्षिप्त कुराकानी :

देशभरका वडामा पहिलोपटक पार्टीले प्रतिनिधित्व गर्दा कस्तो महसुस भएको छ?

मलाई चाहिँ यतिबेला आफैँले चुनाव जितेजस्तो भएको छ। नयाँ तरिकाले आउन खोजेको दललाई काठमाडौँ-१६ को नतिजाले उत्साहित बनाएको छ। एउटा खाता खोलेका छौँ। अझै जिम्मेवार बन्नुपर्ने अवस्था आएको छ। संसदीय व्यवस्थामा केन्द्रीय सरकार फेरबदल भइरहन्छ। स्थानीय सरकार सबैभन्दा महत्त्वपूर्ण र दिगो सरकार हो। साथै जनतासँग नजिक हुने सरकार पनि यही हो। यसमा जनतालाई प्रदान गरिने सेवा प्रवाह ठूलो हुन्छ। काठमाडौँ-१६ को नतिजाले देशव्यापी रूपमा पार्टीप्रति सकारात्मक सन्देश गएको छ।

काठमाडौँ महानगरमा त्यो पनि रास्वपाका तर्फबाट एक्लो जनप्रतिनिधि। काम गर्न कति चुनौतीपूर्ण देख्नुभएको छ?

चुनौती त छ नै। चुनौती समाधानका लागि सम्भावना खोज्नुपर्छ। काम देखाउने ठाउँमा प्रतिनिधित्व भएकाले जिम्मेवारी गम्भीर भएर पूरा गर्नुपर्छ। यसलाई अवसरका रूपमा लिएर जनताको घरदैलोमा सेवा गर्दा जनमानसमा थप सकारात्मक सन्देश जानेछ। रानजीति गर्नेका लागि चुनौतीबाट अवसर निकाल्नु महत्त्वपूर्ण कुरा हो।

स्थानीय तहको उपनिर्वाचनमा पार्टीले कति ठाउँमा उम्मेदवारी दिएको थियो? पार्टीले समग्र नतिजालाई कसरी लिएको छ?

हामीले २७ ठाउँमा उम्मेदवारी दिएका थियौँ। उपनिर्वाचनमा उपस्थिति नै पनि हाम्रा लागि अवसर थियो। यसअघि हामी स्थानीय चुनावमा सहभागी भएका थिएनौँ। त्यसैले अहिले भाग लिने अवसर पायौँ। यति बेलाका लागि यसलाई नै उपलब्धि मान्नुपर्छ।

काठमाडौँबाहिर त पार्टीका पक्षमा त्यति बलियो जनमत देखिएन नि?

अघि नै भनिहालेँ। उपनिर्वाचनमा भाग लिनु नै हाम्रा लागि उपलब्धि हो। पार्टीको आन्तरिक जीवनमा अनेक चुनौती रहेका बेला उपनिर्वाचनले संगठनलाई चलायमान र गतिशील बनाएको छ। निर्वाचन एउटा पनि अभियान हो। त्यसैले हामीले उपस्थितिलाई महत्त्व दिएका थियौँ। नतिजा हाम्रा पक्षमा आउनुभन्दा हामी जनतामाझमा गएका छौँ। यो चुनावले हामीलाई राम्रो सन्देश दिएको छ। सानो भए पनि उपलब्धि हासिल गरेका छौँ। यसलाई संस्थागत गरेर जिम्मेवारीपूर्वक काम गर्नुपर्छ।

तपाईँ आफैँ पनि काठमाडौँकै जनप्रतिनिधि हुनुहुन्छ। निर्वाचित वडाध्यक्षले कुन कुरामा केन्द्रित भएर काम गर्नुपर्ला?

काठमाडौँ-१६ मा मिश्रित बसोबास छ। काठमाडौँको असन, इन्द्रचोक, किलागल, क्षेत्रपाटीलगायतका ठाउँबाट धेरै मानिसहरू वडा नम्बर १६ मा बसाइँ सरेका छन्। काठमाडौँभन्दा बाहिरबाट बसाइँ सरेर आउनेको संख्या पनि ठूलो छ। वडाका नागरिक सांस्कृतिक रूपमा भिन्नभिन्न रहेजस्तै उनीहरूका आवश्यकता पनि अनेक छन्। त्यसैले भौतिक विकासको पक्षलाई राम्ररी ध्यान दिनुपर्छ। वडाका अन्य प्रतिनिधिहरूसँग समन्वय गरेर अगाडि बढेमा सकारात्मक नतिजा ल्याउन सकिन्छ। साथै वडाका कला, संस्कृति, सम्पदा संरक्षणमा पनि उत्तिकै चासो दिनुपर्छ। सम्पदा र संस्कृति जीवित रहे मात्र हाम्रो अस्तित्व रहिरहन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast