उडान सञ्चालन समय कटौती भएपछि बुद्ध एयरले जारी गर्‍यो निर्देशिका

हिमाल प्रेस २० कार्तिक २०८१ २१:५२
170
SHARES
उडान सञ्चालन समय कटौती भएपछि बुद्ध एयरले जारी गर्‍यो निर्देशिका बुद्ध एयर। फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सञ्चालन समय कटौती हुने भएको छ। विमानस्थल स्तरोन्नतिका लागि आगामी नोभेम्बर ८ देखि करिब पाँच महिनासम्म उडान सञ्चालन समय कटौती हुने भएको हो।

विमानस्थलले बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म ‘नोटाम’ जारी गरेको छ।

छोट्याइएको उडान समय जाडो महिनाको रहेको बताउँदै बुद्ध एयरले आफ्ना यात्रुहरूका लागि उडान निर्देशिका जारी गरेको छ।

बुद्ध एयरले हवाई टिकटमा उल्लेखित समयमै विमानस्थल चेकिङ काउन्टरमा रिपोर्टिङका लागि यात्रुहरूलाई अनुरोध गर्दै उडान समयभन्दा १५ मिनेटअगावै चेकिङ काउन्टर बन्द हुने जनाएको छ।

खराब मौसम तथा एयर ट्राफिकका कारण विमानस्थल ढिलो खुलेमा उडान रद्द हुनसक्ने र यस्तो भएमा सिट उपलब्धताका आधारमा अर्को दिनलाई ‘टिकट रिसेड्युल’ गरिने बुद्ध एयरले जनाएको छ।

त्यस्तै उडान रद्द भएका टिकटहरूलाई ‘रिफन्ड प्रोसेसिङ’ मा हालिने जनाउँदै बुद्ध एयरले अनलाईन टिकटको हकमा त्यहीँबाट पैसा फिर्ता हुने बताएको छ। यसका लागि तीन दिनदेखि चार दिनसम्मको समय लाग्नसक्ने बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए।

ट्राभल एजेन्सीबाट टिकट लिएका यात्रुहरूले त्यहीँ सम्पर्क गर्नुपर्ने उनले बताए।

जाडो मौसममा अधिकांश विमानस्थलमा हुस्सु तथा कम भिजिविलिटी हुने गरेकाले नियमित उडान प्रभावित हुने गरेको छ। ‘आईएफआर’ गन्तव्यका लागि रात्रि उडान भए तापनि बेलुका १० बजेभित्र र भीएफआर गन्तव्यहरूमा भिजिविलिटीका आधारमा दिउँसै उडान सम्पन्न गर्नुपर्ने हुन्छ।

बुद्ध एयरसँग समयमै उडान भर्न पर्याप्त जहाजहरू रहे पनि कतिपय अवस्थामा प्रतिकूल मौसम तथा एयर ट्राफिकका कारण उडान प्रभावित हुने गरेको प्रवक्ता कर्णको भनाइ छ।

प्रकाशित: २० कार्तिक २०८१ २१:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast