आम्दानीको स्रोत बन्दै सिन्कामारी रोटी

हिमाल प्रेस १३ कार्तिक २०८१ ११:४४
22
SHARES
आम्दानीको स्रोत बन्दै सिन्कामारी रोटी

दाङ- घोराही उपमहानगरपालिका-१३ डुम्बरगाउँमा बस्दै आएकी रानीलाक बुढा हिजोआज सिन्कामारी रोटी बेच्नमा व्यस्त हुन्।उनले विगत दुई वर्षदेखि तिहारलक्षित सिन्कामारी रोटी बिक्री गर्दै आएका हुन्।

विशेषगरी तिहारमा खाइने सिन्कामारी रोटी हिजोआज घोराही बजारसँगै नजिकका गाउँमा समेत बिक्री हुने गरेको छ। उनी रोटी डोकोमा बोकेर बिक्री गर्दै हिँड्न थालेका छन्। ‘खाली समय बसेरै खेर फाल्नुभन्दा व्यवसाय पनि भएको छ, अनि समयको सदुपयोग पनि’, उनले भने, ‘तिहारलाई लक्षित यो व्यवसायबाट हुने आम्दानीले सन्तुष्ट छु।’

गत वर्षको तिहारमा मात्र तीन दिदीबहिनी मिलेर दुई लाख रुपैयाँ बढीको रोटी बिक्री गरेको बुढाले बताए। यो वर्ष अझ धेरै आम्दानी गर्ने उनको लक्ष्य छ। केही दिनयता दैनिक सातदेखि आठ हजार रुपैयाँ सम्मको रोटी बिक्री गर्दै आएका छन्।

हेर्दा आकर्षक, खानलाई स्वादिलो, सजिलो तथा तयारी खाजाका रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा सिन्कामारी रोटीको धेरै खपत हुने गर्छ। यो रोटी चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर बनाउने गरिन्छ। बनाउन झन्झटिलो भए पनि सिन्कामारीको व्यापार राम्रो रहेको उनको अनुभव छ।

कतिपय ग्राहक घरमै किन्न आउने भएकाले बजारको समस्या नभएको उनको भनाइ छ। उनले एक दर्जन रोटी रु दुई सय ५० का दरले बिक्री गर्दै आएको छ। उनीसँगै जिल्लामा तिहार लक्षित सिन्कामारी रोटी बनाएर बिक्री गर्नेको संख्या बढ्दै गएको छ।

प्रकाशित: १३ कार्तिक २०८१ ११:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast