श्रीलंकालाई हराउँदै भुटान शीर्ष स्थानमा

हिमाल प्रेस ५ कार्तिक २०८१ १६:१६
16
SHARES
श्रीलंकालाई हराउँदै भुटान शीर्ष स्थानमा

काठमाडौँ- दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ‘बी’ को तेस्रो खेलमा भुटानले श्रीलंकाविरुद्ध ४-१ को जित हासिल गरेको छ। जितसँगै भुटान अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भुटानलाई जित दिलाउन देकी लाजाेमले दुई तथा देर्जी एडोन र नामगेल देमाले समान एक गोल गरे। श्रीलंकाका लागि कप्तान थुशानी मदुसीकाको गोल सान्त्वना बन्यो।

पहिलो हाफमा २-१ को अग्रता लिएको भुटानले दोस्रो हाफमा थप दुई गोल गरेको हो। जितसँगै भुटानले दुई खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा भुटानले आयोजक नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो।

श्रीलंकाले पहिलो खेलमा माल्दिभ्समाथि १-० को संघर्षपूर्ण जित हासिल गरेको थियो। यो हारले श्रीलंकाको सेमिफाइनल पुग्ने सम्भावनालाई गाह्रो बनाएको छ। श्रीलंकाले अब आफ्नो तेस्रो खेलमा आयोजक नेपालसँग प्रतिस्पर्धा गर्नेछ भने भुटानले माल्दिभ्ससँग खेल्नेछ।

सोमबार खेलको साताै‌ मिनेटमा देकीले नामगेलको कट्ब्याकमा गोल गरेकी थिइन्। राइट साइडबाट नामगेलले दिएको कट्ब्याकमा विपक्षी खेलाडीको निगरानीमा नरहेकी देकीले वान टचमा गोल गरिन्।

खेलको २३औं मिनेटमा श्रीलंकाले बराबरी गर्यो। पिएम परेराको क्रसलाई भुटानी रक्षक देकी याङ्दोमले क्लियर गर्न नसक्दा कप्तान थुशानीले पहिलो बारमा सुन्दर गोल गरिन्। उनको लोअर प्रहार भुटानी गोलकिपर संगीता मोन्गेरले बचाउन सकिनन्।

खेलको ३२औं मिनेटमा भुटानले २२ यार्ड नजिकै फ्रिकिक अवसर प्राप्त गर्यो। जसलाई उसले राम्ररी सदुपयोग गर्यो। नाङ्गेल देमाको फ्रिकिक क्रस श्रीलंकाली रक्षकले क्लियर गर्न नसक्दा दोर्जीले त्यसको फाइदा उठाइन्।

कप्तान पेमा छाेदेन छिरिङको थ्रु पासमा देकीले व्यक्तिगत दोस्रो गोल गर्दा ७८औं मिनेटमा भुटान ३-१ ले अगाडि बढ्याे। त्यसको दुई मिनेटपछि नामगेलले टाेलीका लागि चौंथो गोल गरिन्। नामगेलले पनि पेमाकै थ्रु पासलाई सदुपयोग गरेकी हुन्।

सोमबार दिनको दोस्रो खेलमा आयोजक नेपालले माल्दिभ्ससँग खेल्दैछ। खेल साँझ ५ः३० बजे सुरु हुनेछ।

प्रकाशित: ५ कार्तिक २०८१ १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + twenty =