प्रचण्डले गरे यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिसँग छलफल

हिमाल प्रेस १८ असोज २०८१ १५:१४
8
SHARES
प्रचण्डले गरे यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिसँग छलफल

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिसँग प्राकृतिक विपद्ले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गरेका छन्।

बाढीपहिरोका कारण विभिन्न ठाउँमा भएको क्षतिको अनुगमन गरेका अध्यक्ष प्रचण्डले दसैँको समयमा गाउँ फर्कने जनताको अवस्था, बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्जाल, यातायात व्यवसायी, मजदुरलगायत समग्र यातायात क्षेत्रका समस्याबारे जानकारी लिँदै समाधानका लागि पहल लिने प्रतिबद्धता जनाए।

आफूले काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेका प्रभावितस्थलको अनुगमन गर्दा ठाउँठाउँमा अझै पनि गाडी पुरिएको, आवागमन अवरुद्ध रहेको, यातायात क्षेत्रले ठूलो क्षति भोगेको र यातायात मजदुरलाई पीडादायी अवस्थामा देखेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यससम्बन्धी विस्तृत जानकारी लिएर प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा समाधानका लागि पहल गर्न छलफल थालेको बताए।

प्रचण्ड निवास खुमलटारमा शुक्रबार भएको छलफलमा यातायात महासंघ र यातायात मजदुर संगठनका पदाधिकारीले यातायात क्षेत्रले ठूलो संकट व्यहोर्नुपरेको, व्यावसायी मारमा परेको, यातायात मजदुरको सुरक्षाका लागि सरकारले पहल लिन नसकेको, यातायात क्षेत्रमा पुगेको क्षतिको तथ्यांक संकलनसमेत नगरिएकोलगायत धारणा राखेका थिए।

सरकारले पहिरोका कारण थुनिएका मजदुर र गाडीको उद्धार गर्नुपर्ने, घरबारविहीन भएका मजदुर र व्यावसायीलाई राहतको व्यवस्था गर्नुपर्ने र पुरिएका र बगेका गाडीको बीमा रकम प्राप्तिमा समस्या भएका कारण तत्काल उपलब्ध गराइदिने वातावरण बनाइदिन उनीहरुको आग्रह थियो।

आफूहरुलाई बोलाएर यातायात क्षेत्रको अभिभावकको भूमिका निर्वाह गरेकामा खुसी व्यक्त गर्दै उनीहरुले विपद्ले यातायात क्षेत्रमा पारेको समस्यालाई प्रमुख प्रतिपक्षी दलले महत्वपूर्ण एजेन्डाका रुपमा सरकारसँग छलफल गरेर समाधानका लागि पहल गरिदिन पनि आग्रह गरेका थिए।

छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसी, नेपाल यातायात मजदुर संघका धर्म भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भीम ज्वाला राईलगायत पदाधिकारी सहभागी थिए।

प्रकाशित: १८ असोज २०८१ १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =