विश्वकप फुटबल २०२६ का सहआयोजक राष्ट्रमध्ये दुई देश यस्ता छन्, जहाँ विश्वभरका करोडौँ समर्थकले ‘फुटबल’ भनेर चिन्ने खेललाई फरक नामले चिनिन्छ।
अमेरिका र क्यानडामा यसलाई ‘सकर’ भनिन्छ। तर किन? र के यो शब्दले अन्य फुटबलप्रेमी राष्ट्रका मानिसहरूलाई झर्को लाग्छ?
‘म बेलायतमा बाल्यकालमा हुँदा ‘सकर’ शब्द पूर्ण रूपमा स्वीकार्य थियो,’ युनिभर्सिटी अफ मिसिगनका प्राध्यापक स्टेफन सिमान्स्की भन्छन्।
उनलाई ‘फुटबल’ र ‘सकर’ बीचको बहस सधैँ अनौठो लाग्थ्यो।
‘मैले आफ्ना साथीहरूलाई सोध्न थालेँ- ‘तिमीहरूलाई सम्झना छ? कतै यो झुटो सम्झना त होइन? के यो शब्द कहिल्यै विवादको विषय थियो?’ त्यसपछि मैले धेरै मानिससँग कुरा गरेँ। अधिकांशको निष्कर्ष थियो- १९७० को दशकमा ‘सकर’ शब्दलाई लिएर कुनै समस्या देखिँदैनथ्यो।’
यसै जिज्ञासाले सिमान्स्कीलाई अनुसन्धानतर्फ डोर्यायो।
उनका अनुसार फुटबलको सुरुआती इतिहास कुलीन वर्गसँग जोडिएको थियो।
‘सन् १८६३ मा बेलायतमा फुटबल एसोसिएसन स्थापना गर्ने मानिसहरू अक्सफोर्ड विश्वविद्यालयबाट स्नातक भएका र प्रतिष्ठित सार्वजनिक विद्यालयमा अध्ययन गरेका व्यक्तिहरू थिए,’ उनले भने।
एसोसिएसनका नियमअनुसार खेलिने खेललाई पछि ‘एसोसिएसन फुटबल’ भनियो। यसले अर्को लोकप्रिय खेल रग्बीबाट यसलाई छुट्याउन मद्दत गर्यो।
‘त्यतिबेला दुई प्रकारका खेल थिए- एउटा ‘रग्बी फुटबल’ र अर्को ‘एसोसिएसन फुटबल’,’ सिमान्स्की भन्छन्।
‘ब्रेकर’, ‘रगर’ र ‘सकर’को जन्म
सन् १८८० र १८९० को दशकमा धनी विश्वविद्यालय विद्यार्थीहरूबीच शब्द छोट्याएर अन्त्यमा ‘-ईआर’ थप्ने चलन थियो, जसले एक प्रकारको बोलचालको भाषा (स्ल्याङ) निर्माण गर्थ्यो।
उदाहरणका लागि, ‘ब्रेकफास्ट’ भन्नुको सट्टा उनीहरू ‘ब्रेकर’ भन्थे।
त्यसैगरी ‘रग्बी’लाई ‘रगर’ भनिन्थ्यो।
त्यसो भए ‘सकर’ शब्द कसरी आयो?
सिमान्स्कीका अनुसार यसको बारेमा एउटा प्रचलित सिद्धान्त छ, यद्यपि यसको निश्चित प्रमाण कसैसँग छैन।
विद्यार्थीहरूले ‘एसोसिएसन’ शब्दको बीचको भाग ‘सोस’ लिएर त्यसमा ‘-ईआर’ थपे। यसरी ‘सकर’ शब्दको जन्म भएको मानिन्छ।
‘ठ्याक्कै कसरी बन्यो भन्ने कसैले निश्चित रूपमा भन्न सक्दैन। तर यो अक्सफोर्डबाट आएको भन्नेमा धेरैजसो सहमत छन्। यस शब्दलाई त्यहाँका विद्यार्थीहरूले सिर्जना गरेको पुष्टि गर्ने धेरै ऐतिहासिक दस्तावेजहरू छन्,’ उनले भने।
बेलायतबाट अमेरिका र क्यानडासम्म
खेल इतिहासकार एन्डी मिचेलका अनुसार सन् १८८५ को अन्त्यतिर बेलायतका विभिन्न विद्यालय पत्रिकाहरूमा ‘सकर’ शब्द कम्तीमा तीन पटक प्रयोग भएको प्रमाण भेटिएको छ।
फुटबल संसारभर फैलिँदै जाँदा यो शब्द पनि अन्य महादेशमा पुग्यो। आज पनि अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र क्यानडामा ‘सकर’ शब्द व्यापक रूपमा प्रयोग गरिन्छ।
अमेरिकामा भने ‘फुटबल’ शब्दले अमेरिकी फुटबललाई जनाउँछ।
‘यी सबै कुरा आपसमा सम्बन्धित छन्,’ सिमान्स्की भन्छन्, ‘अमेरिकी फुटबल रग्बीबाट विकसित भएको हो, तर यसमा फुटबलका केही तत्त्व पनि छन्।’
यी दुई खेल नजिकका आफन्तजस्ता हुन्। त्यसैले १८८० र १८९० को दशकमा ‘सकर’ शब्द प्रचलनमा आउँदै गर्दा अमेरिकी फुटबल पनि लोकप्रिय बन्दै गयो।
किन अहिले ‘सकर’ विवादास्पद लाग्छ?
सिमान्स्की र उनकी सहकर्मी सिल्के-मारिया वाइनेकको अध्ययनअनुसार बेलायती पत्रपत्रिकाहरूले १९८० को दशकसम्म पनि ‘सकर’ शब्द प्रयोग गरिरहे।
तर बिस्तारै ‘फुटबल’ नै प्रमुख शब्द बन्यो।
आज विश्वविद्यालयमा पढाउँदा पनि यो विषय उठ्ने गरेको सिमान्स्की बताउँछन्।
‘अमेरिकी विद्यार्थीहरूले ‘सकर’ शब्द प्रयोग गर्दा प्रायः माफी माग्छन् र भन्छन्- ‘माफ गर्नुहोस्, मेरो मतलब फुटबल थियो।’ उनीहरूलाई बेलायतीहरू यो विषयमा संवेदनशील छन् भन्ने लाग्छ।’
बीबीसीबाट




