काठमाडौँ- टर्की फिफा विश्वकप २०२६ बाट बाहिरिएको छ। १० खेलाडीमा सीमित पाराग्वेसँग १–० ले पराजित भएपछि टर्कीको यात्रा समूह चरणमै समाप्त भएको हो।
खेल सुरु भएको दोस्रो मिनेटमै पाराग्वेका मिडफिल्डर माटियास गालार्जाले पेनाल्टी क्षेत्रको छेउबाट शक्तिशाली प्रहार गर्दै गोल गरे। यही गोल निर्णायक साबित भयो। जितसँगै पाराग्बेले समूह ‘डी’मा तीन अंक जोडेको छ। टर्कीले भने सुरुआती दुवै खेल गुमाएको छ।
पाराग्वेका स्टार खेलाडी तथा एमएलएसका चर्चित फुटबलर मिगुएल अल्मिरोनले विपक्षी खेलाडीसँग कुरा गर्दा मुख छोपेको कारण रातो कार्ड पाए। यससँगै उनी यस्तो कारणले रातो कार्ड पाउने विश्व फुटबल इतिहासकै पहिलो खेलाडी बनेका छन्।
खेलभर दबाब बनाए पनि टर्कीले अवसरलाई गोलमा परिणत गर्न सकेन। यसै समूह ‘डी’को अर्को खेलमा अमेरिकाले अस्ट्रेलियालाई २–० ले पराजित गरेको छ।




