प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

हिमाल प्रेस ४ असोज २०८१ १२:२१
16
SHARES
प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा अभिवादन गर्दै। तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ‍- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंह, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गरे। सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीको सम्मानमा गारत अर्पण गरेको थियो।

प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिने : वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ। उनी यही असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्युरो (एलडिसी) को अध्यक्षका रूपमा सम्मेलनलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै उनले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत ‘उच्चस्तरीय र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध’ विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्ने तालिका छ ।

उनले भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू छन्। उनी असोज १४ गते स्वदेश फर्कने छन्।

प्रकाशित: ४ असोज २०८१ १२:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast