नुवाकोटको फेदीमा पहिरो, घ्याङ्फेदी सडक अवरुद्ध

हिमाल प्रेस २७ भदौ २०८१ १४:४८
16
SHARES
नुवाकोटको फेदीमा पहिरो, घ्याङ्फेदी सडक अवरुद्ध

नुवाकोट- नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित फेदीमा गएराति गएको पहिरोले घ्याङ्फेदी आउतजावत गर्ने सडक अवरुद्ध भएको छ। तादी खोलाको बाढीले उक्त क्षेत्रका तीनवटा झोलुङ्गे पुल बगाउँदा एकबस्तीबाट अर्को बस्तीसँगको सम्पर्कसमेत टुटेको छ।

घ्याङ्फेदी माध्यमिक विद्यालयका सहायक प्रधानध्यापक प्रेम स्याङताङका अनुसार दुप्चेश्वर–७ शिखरबेँसीबाट दुप्चेश्वर–१ कुदुङस्थित घ्याङ्फेदी जाने मूल सडक खोलाले पूरै कटान गरेको छ। उक्त स्थानबाट आउतजावत गर्न सक्ने अवस्था दुप्चेश्वर–१ घ्याङ्फेदीको अन्य बस्तीसँगको सडक सम्पर्क अवरुद्ध भएको हो।

उक्त वडालाई जोड्न वैकल्पिक सडक तथा बाटोसमेत नहुँदा उद्धार तथा क्षतिको लगत लिनको लागि पुगेको टोली घ्याङ्फेदी जानबाट रोकिएको छ। सडक र बाटोको आउजाउ नहुँदा वडा नं १ घ्याङ्फेदीका एक हजार छ सय घरधुरी परिवारको वडा भन्दा बाहिरको आउजाउ पूर्ण रुपमा बन्द भएको छ।

पहिरोले तीनवटा झोलुङ्गे पुल बगाएको छ। खेतीयोग्य जग्गा कटान गरेर सयौँ रोपनीमा लगाएको बालीलाई क्षति पुर्‍याएको छ। फेदीमा आएको पहिरोले तालु र कसेरी जोड्ने झोलुङ्गे पुल, शिशिपु र कसेरी जोड्ने झोलुङ्गे पुल र फेदी र घोप्टेभीर जोड्ने काठको पुल बगाएको छ।

प्रभावित स्थानमा जाने मूल सडक अवरुद्ध भएको र बस्ती जोड्ने पुलसमेत बगाएकाले क्षतिको थप विवरण आउन बाँकी रहेको दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकर थापाले जानकारी दिए।

प्रकाशित: २७ भदौ २०८१ १४:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 11 =