‘कार्यकर्ता खुसी पार्ने’ प्रचण्डका दुई अभिव्यक्ति

किरण पौडेल १९ भदौ २०८१ ७:४९
350
SHARES
‘कार्यकर्ता खुसी पार्ने’ प्रचण्डका दुई अभिव्यक्ति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौँ- केन्द्र र प्रदेश सरकारमा प्रतिपक्षमा पुगेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पछिल्ला दुई अभिव्यक्तिलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। पहिलो, २०८४ को चुनावअघि सत्तामा नजाने र दोस्रो, एक्लै चुनाव लड्न पहिलो संविधानसभा चुनावमा मत हाल्नेको सूची बनाउने प्रस्ताव। यी दुवै अभिव्यक्तिमा दम नभएको स्वयम् माओवादीका नेताहरू बताउँछन्। विश्लेषकहरू भने सत्ताबाट बाहिरिएपछि उत्पन्न असहजताका कारण प्रचण्डले दिएका यस्ता अभिव्यक्तिलाई स्वाभाविक मान्छन्।

साउन ३२ गते पार्टीको हुम्ला–काठमाडौँ सम्पर्क समन्वय समितिले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भनेका थिए, ‘कतिपयलाई लाग्ला मौका मिल्यो भने प्रचण्ड फेरि प्रधानमन्त्री बन्न गइहाल्छ। २०८४ सम्म जनतामा जाने, पार्टी नै बनाउने र पार्टीलाई जिताएरै छाड्ने संकल्प मैले लिएको छु। प्रधानमन्त्री पुग्यो अहिलेलाई।’

पार्टीको पदाधिकारी बैठकमा पनि २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भएको अध्यक्ष प्रचण्डले बताएका छन्। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्त्वपूर्ण सन्देश दिने प्रचण्डको भनाइ छ।

प्रचण्डको यस्तो अभिव्यक्ति कार्यान्वयन हुनेमा माओवादी नेता विश्वस्त छैनन्। माओवादीका सचिव गणेश साह राजनीतिक जोडघटाउमा जति बेला जस्तोसुकै निर्णय हुने भएकाले अध्यक्ष प्रचण्डको यो भनाइमा विश्वास गर्न नसकिने बताउँछन्। ‘हामी सरकारमा नजाने भन्ने होइन। यही परिस्थितिमा सरकारमा जान लबिइङ नगर्ने भन्ने हो,’ साह भन्छन्, ‘मुलुकको परिस्थिति फेरिएमा सरकारमा जानुपर्ने पनि हुन्छ।’

प्रचण्डले २०६४ सालको पहिलो संविधानसभा चुनावमा मत हाल्नेको ‘सूची’ खोज्न कार्यकर्ता लाई निर्देशन दिएका छन्। उनले माओवादी नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिले गरेको कार्यक्रममा पहिलो संविधानसभा निर्वाचनमा माओवादी ठूलो पार्टी हुँदा भोट दिनेहरुको सूची बनाउन आग्रह गरेका हुन्। २०६४ को चुनावमा माओवादी पहिलो शक्ति भएर उदाएको थियो।

‘२०६४ को निर्वाचनमा हामीलाई भोट हाल्ने जनताको घरघरमा जानुपर्‍यो। पहिला सूची बनाउनुपर्‍यो र सबैसँग सम्पर्क गर्नुपर्‍यो। उनीहरुसँग आत्मसमीक्षा गर्नुपर्‍यो। तपाईँहरुले हामीलाई ठूलो आशाभरोसा गरेर धेरै भोट दिनुभयो हामीले भन्याजस्तो गर्न सकेनौँ, विवादित भयौँ, हामीले गल्ती गर्‍यौँ, अहिले हामीले गल्ती सच्यायौँ, एकताबद्ध भयौँ। अब हामी सुशासन र तपाईँहरुका पक्षमा लड्न चाहन्छौँ, तपाईँहरूले एकचोटि फेरि मद्दत गर्नुस् भन्नुपर्‍यो’, प्रचण्डले भनेका छन्।

यसपछि मात्रै माओवादी पहिलो शक्ति बन्ने प्रचण्डको दाबी छ। सत्तामा रहँदा सधैँ गठबन्धनमा रमाउने प्रचण्ड अहिले एक्लै चुनाव लड्ने दाबी गरिरहेका छन्। प्रचण्डको यस्तो अभिव्यक्ति विश्वासिलो नदेखिएको स्वयं माओवादीका नेताहरू बताउँछन्। यद्यपि एक्लै चुनाव लड्ने प्रस्ताव सकारात्मक रहेको उनीहरूको भनाइ छ। ‘कांग्रेसले पार्टीभित्र एक्लै चुनाव लड्ने प्रस्ताव गर्दा गठबन्धन परिवर्तन गर्ने प्रचण्ड अहिले एक्लै लड्नेमा पुग्नुभएको छ,’ माओवादीका एक पदाधिकारी भन्छन्, ‘यो राम्रो कुरा हो तर सम्भव देखिँदैन।’

माओवादीले ०६४ र ०७० को चुनावमा एक्लै चुनाव लडेको थियो। यसपछिका सबै चुनावमा तालमेल वा गठबन्धन गर्दै आएको छ। कांग्रेसले एक्लै चुनाव लड्ने विधानमै समेटेको र एमाले पनि एक्लै भिड्ने तयारीमा लागेकाले प्रचण्ड बाध्यतामा परेको ती पदाधिकारीको भनाइ छ।

राजनीतिक विश्लेषक मुमाराम खनाल सत्ता गुमाएपछिको असहजताका कारण प्रचण्डले बोली फेरेको बताउँछन्। खनालका अनुसार सधैँ सत्ता र शक्तिमा रहँदै आएका प्रचण्ड अहिले सत्ता राजनीतिमा छायामा परेपछि बोली फेर्नु स्वाभाविक हो। प्रचण्डले अहिले कार्यकर्ताबाट सहानुभूति खोजिरहेको उनको बुझाइ छ। ‘प्रचण्डजी कार्यकर्ता कसरी आफूतिर उभ्याउँ र उनीहरूलाई खुसी राखौँ भन्ने प्रयत्नमा रहनुभएको छ। यही कारण बोली र वेषभूषा फेरिएको हो’, खनालले भने।

पार्टीमा लचक

कुनै बेला माओवादीमा ‘फरक विचार राख्ने’ नेता पार्टीमा नरहने स्थिति थियो। माओवादी नेताहरू नै भन्थे, ‘प्रचण्डविरुद्ध बोल्यो कि पार्टी छोड्यो।’ सोही कारण बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’लगायतका नेता माओवादीमा टिक्न सकेनन्।

पछिल्लो समय भने आफूमाथि प्रश्न उठाउनेप्रति प्रचण्ड लचक देखिन्छन्। यसअघिको स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डविरुद्ध लिखित प्रस्ताव पेस गरे। अन्य नेताले पनि प्रचण्डको शैली सुधार्न प्रश्न गरे। यसबारेमा प्रचण्डले आपत्ति जनाएनन्।

जनार्दनले त विभिन्न सञ्चारमाध्यममा ‘प्रचण्डको विरुद्धमा कुरा राख्दा पार्टी छाड्नुपर्ने कुरा इतिहास भएको’ बताएका छन्। जनार्दनले ‘फरक मत’ राखे पनि प्रचण्डले आफ्नै प्रतिवेदनमा राख्ने बताएका थिए।

यसैले जनार्दनले आफ्नो ‘बोली बिकेको’ बुझेका थिए। तर अहिले प्रचण्डले जनार्दनको नाम उल्लेख गरेर सर्कुलर पठाएका छन्। प्रचण्ड र महासचिव देव गुरुङले संयुक्त रूपमा एक साताअघि पठाएको सर्कुलरमा ‘बोल्ड’ गरेर ‘पछिल्लो समयमा कतिपय सन्दर्भमा हाम्रो पार्टी विभाजन हुँदै छ भनी जसरी चर्चा परिचर्चा चलिरहेको र त्यसमा पनि उपमहासचिव क.जनार्दन शर्मा प्रभाकर’ ले पार्टी फुटाउँदैछ भन्ने प्रचारमा कुनै सत्यता नरहेको विषय स्पष्ट पार्नुभएको छ’ भनिएको छ।

यसरी जनार्दनको नाम उल्लेख गरेर प्रचण्डले सर्कुलर पठाउनुलाई माओवादीमा प्रचण्ड लचक भएको बताइएको छ। नेताहरू भने प्रचण्ड–जनार्दनबीच नेतृत्वलाई लिएर समस्या उत्पन्न भएको बताउँछन्।

‘जनार्दनजीले उत्तराधिकारीमा जोड दिएजस्तो लाग्यो। प्रचण्डले नेतृत्व नछाड्ने बताउनुभएको छ। पछिल्लो ताका स्थायी समितिमा पनि जनार्दनजी कमजोर बनेपछि यो कुरा सेलायो,’ माओवादीका एक पदाधिकारीले भने।

स्थायी समिति बैठकमा जनार्दन कमजोर बने पनि प्रादेशिक बैठकमा जनार्दनको पक्षमा बोल्ने कार्यकर्ता थिए। ‘जनार्दनकै पक्षमा त नभनौँ तर नेतृत्व सही ढंगले अघि नबढेको कुराचाहिँ सबै बैठकमा चल्यो’, ती पदाधिकारी भन्छन्, ‘धेरैमा पार्टी विभाजन हुन्छ भन्ने भय रहेकाले पनि अर्को सर्कुलर पठाइएको हो।’

विश्लेषक खनाल भने खनाल माओवादीका दोस्रो तहका नेता प्रचण्डविरुद्ध उभिन नसक्ने बताउँछन्। ‘जनार्दनजी उभिनुभयो तर उहाँ प्रचण्डको विकल्प होइन। यो कुरा प्रचण्डजीले बुझ्नुभएको छ,’ खनाल भन्छन्, ‘जनार्दनजी अलिकति क्रेडिट पाउँदा थान्को लाग्नुहुन्छ।’

फेरिएको शैली

अध्यक्ष प्रचण्ड प्रादेशिक कार्यक्रममा सहभागी भएर काठमाडौँ आइपुगेका छन्। प्रादेशिक भेला र कार्यक्रममा व्यस्त उनी सोमबार फर्किएका हुन्। मंगलबार पनि पार्टीका विभिन्न आयोगको भेलामा प्रचण्ड व्यस्त भए।

कुनै बेला सिंहदरबारबाट पार्टी कार्यालय पेरिसडाँडा पुग्न नभ्याउने प्रचण्ड अहिले पार्टीमा केन्द्रित बनेको माओवादी वृतमा चर्चा छ। सत्ताबाट हटेपछि प्रचण्डले पदाधिकारी बैठक र स्थायी कमिटी बैठक पनि डाकिसकेका छन्।

त्यसपछि प्रदेशका भेलामा प्रचण्ड सहभागी छन्। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको भेला सकिएको छ। अब तत्काल मधेश र कोशीमा भेला गरेर माओवादीको केन्द्रीय समिति बस्नेछ। यतिबेला प्रचण्ड विगतभन्दा बदलिँदो बोली र स्वाभावमा छन्।

खुला राजनीतिमा आएपछि अधिकांश सरकारमा सहभागी माओवादीले चारवटा सरकारको नेतृत्व गरेको छ। केन्द्रमा मात्रै माओवादीबाट एक सयभन्दा बढी नेताले मन्त्री बन्ने अवसर पाएका छन्।

असारसम्म प्रदेशमा माओवादी मन्त्री थिए। लुम्बिनी र बागमतीमा त माओवादीकै मुख्यमन्त्री थिए। प्रचण्ड सत्ताबाट बाहिरिएपछि प्रदेशका गठबन्धन पनि फेरिँदा माओवादी नेतृत्वका सरकार अल्पमतमा परे। प्रदेश सरकार माओवादी मन्त्रीविहीन छ। माओवादी केन्द्र प्रदेशमा प्रतिपक्षमा पुगेको छ। सत्ता थमौतीमै प्रचण्ड गठबन्धन फेरिरहन्थे। यसअघि प्रधानमन्त्री बन्दा प्रचण्डले १८ महिनामा तीन पटक गठबन्धन परिवर्तन गरे।

सत्ताबाट झरेपछि पनि प्रचण्डले नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने र सत्ताकै ‘कसरतमा लाग्ने’ प्रस्ताव राखेका थिए। त्यो प्रस्ताव समाजवादीले अस्वीकार गर्‍यो।
प्रचण्डको बोली मात्र होइन व्यवहार पनि फेरिएको छ। सधैँ टाइसुट कसेर हिँड्ने प्रचण्ड अहिले ट्र्याकसुटमा पनि देखिने गरेका छन्। प्रदेशका कार्यक्रममा जाँदा सरकारी कार्यालयको कार्यशैलीमा चासो राख्न थालेका छन्।

पार्टीका बैठकमा प्रचण्डले माओवादीका माथिल्ला स्तरका अधिकांश पदाधिकारी साथमा लगेका छन्। यसले गर्दा गुटगत क्रियाकलाप कम भएको सन्देश दिने प्रचण्डको प्रयत्न छ। उनले सबैजसो बैठकमा प्रादेशिक कार्यकर्तालाई चाहेअनुसारको समय दिएर बोल्न दिएका छन्।

‘अहिले बैठकमा बोल्ने कसैलाई पनि रोकटोक गरिएको छैन। आफ्ना धारणा राम्ररी राख्न पाइन्छ’, पार्टी उपमहासचिव गिरिराजमणि पोखरेल भन्छन्, ‘सरकारमा रहँदा समयको सीमीतता हुन्थ्यो। अहिले छैन।’

बैठकमा कार्यकर्ताले प्रचण्डप्रति पनि प्रश्न गरेका छन्। उनको कार्यशैलीका कारण पार्टी नचलेको र पार्टीमा गुटबन्दी फैलिएको आरोप छ। प्रचण्डले यसबारे अब नयाँ ढंगले अघि बढ्ने बताएका छन्।

यति मात्र होइन, अब आफूले नयाँ टिम बनाएर अघि बढ्ने बताएका छन्। उनले विभिन्न कार्यक्रमको जबाफ दिने क्रममा चलायमान टिम लिएर अघि बढ्न लागेको सुनाएका छन्।

कुनै बेला पार्टीकै बैठकमा प्रचण्ड घेराबन्दीमा पर्थे। एकातिर बाबुराम र अर्कातिर मोहन वैद्य ‘किरण’ जस्ता नेता रहँदा प्रचण्डमाथि चुनौती पनि थिए। प्रचण्डले कुनै न कुनै गुटलाई आफूप्रति नजिक बनाएर पार्टीको नेतृत्व गरिरहे।

प्रचण्डलाई विगतमा चुनौती दिने नेताहरू अहिले उनको साथमा छैनन्। प्रचण्डमुनिका दोस्रो पुस्ता मात्र रहँदा प्रचण्डलाई पार्टी नेतृत्व गर्न सहज थियो। एकाएक दोस्रो पुस्ताका नेताहरू प्रचण्डविरुद्ध उभिँदा उनलाई अप्ठ्यारो परेको नेताहरू बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =