जनकपुरधाम उपमहानगरको बर्बरता : साँढेलाई अचेत बनाएर फाल्छ खोलामा

भिडियो खिच्नेमाथि नगरप्रहरीले गरे हातपात

हिमाल प्रेस १० भदौ २०८१ १७:३८
68
SHARES
जनकपुरधाम उपमहानगरको बर्बरता : साँढेलाई अचेत बनाएर फाल्छ खोलामा अचेत साँढेहरू

काठमाडौँ- जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रहरीले साँढेलाई अचेत बनाएर ‘लोडर’ मा राख्ने घटना सार्वजनिक भएको छ।  सहरी क्षेत्रमा रहेका साँढेलाई रातको समयमा उपमहानगरपालिकाका प्रहरीले नियन्त्रणमा लिएर अचेत बनाइ फाल्ने गरेको गाइँगुइँ हल्ला चलिरहे पनि अहिले भने घटना नै सार्वजनिक भएको हो।

रातको मौका छोपी नगरप्रहरीले सहरी क्षेत्रका छाडा साँढेहरूलाई अचेत बनाएर राजमार्ग क्षेत्रको सडक र खोलामा फ्याल्ने गरेको बताइएको छ। नगरप्रहरीले साँढेलाई नियन्त्रणमा लिई सुई लगाएर अचेत बनाउने र लोडरमा राखेर फाल्ने गरेको स्थानीयको आरोप छ।

आइतबारमात्रै धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिजस्थित बसही खोला किनारमा दुईवटा घाइते र एउटा मृत अवस्थामा साँढे फेला परेका थिए। त्यस्तै क्षिरेश्वरनाथ नगरपालिका-७ स्थित जलाद खोलामा अचेत अवस्थामा दुईवटा साँढे फेला परेको थियो।

स्थानीयले खबर गरेपछि पशु विकास शाखाका चिकित्सकले अचेत साँढेको उपचार गरेका थिए। स्थानीयका अनुसार आँखा फुटाइदिएको, जिउभर डाम भएको अवस्थामा साँढेहरू भेटिएका छन्।

जनकपुरधामको सहरी क्षेत्रबाट राजमार्गसम्म पुग्न दुईवटा प्रहरी चौकी पर्दछ। तर, साँढेलाई अचेत बनाएर ट्रकमा लोड गरी राजमार्ग क्षेत्रमा लग्दासमेत बाटोमा पर्ने मुजेलिया प्रहरी चौकी र इलाका प्रहरी कार्यालय महेन्द्रनगर बेखबर देखिएका छन्।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक सानुकुमार साहले सीसीटीभीमा टिपरमा साँढे लग्दै गरिएको भिडियो कैद भएको बताए। उनी भन्छन्,‘सीसीटीभीमा साँढे लग्दै गरेको दृष्य कैद भएको छ, यो काम कसले गरेको हो बुझ्दै छौँ।’

जनकपुरधाम उपमहानगरलाई छाडाचौपायाको व्यवस्थापन चुनौति बनेको छ। सहरका प्रमुख सडकहरूमै छाडाचौपायाले हैरानी भएपछि ट्राफिक व्यवस्थापनमा कठिनाइ हुनुका साथै पटक-पटक सवारी दुर्घटना पनि हुने गरेका छन्।

छाडाचौपाया व्यवस्थान गर्न दबाब बढ्न थालेपछि उपमहानगरले साँढेलाई नियन्त्रणमा लिएर अचेत बनाइ सहरी क्षेत्रबाहिर फ्याल्ने काम सुरू गरेको स्थानीयको आरोप छ।

भिडियो खिच्नेमाथि हातपात

साँढेलाई नियन्त्रणमा लिन भिडियो खिच्नेमाथि पनि कुटपिट भएको छ। जनकपुरधाम-४ मुरली चोकमा ‘लोडर’ मा अचेत अवस्थामा राखेको साँढेको भिडियो खिचेका स्थानीय चन्दन मण्डलमाथि कुटपिट भएको हो।

मण्डलले शनिबार राति करिब १२ बजे साँढेलाई लोडरमा राख्दै गरेको भिडियो खिचेका थिए। भिडियो खिचेको निहुँमा ४-५ जनाको संख्यामा रहेका नगरप्रहरीले आफूलाई कुटपिट गरेको मण्डलले बताए। नगरप्रहरीले मण्डललाई कुटपिट गरेको सिसिटिभी फुटेज सार्वजनिकसमेत भएको छ।

‘लोडरमा अचेत अवस्थामा साँढे देखेपछि, यसरी किन गर्नुभएको भनेर सोधेँ,’ मण्डल भन्छन्,‘त्यसपछि मैले भिडियो खिच्न थालेँ, अनि नगरप्रहरीले भिडियो डिलिट गर्न लगाएर मलाई कुटपिट गर्न थाल्यो।’

आफूलाई कुटपिट गर्ने नगरप्रहरीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको मण्डलले बताए। जिल्ला प्रहरी कार्यालयले दुवै पक्षलाई छलफलका लागि बुधबार बोलाएको उनले जानकारी दिए।उनका अनुसार नगरप्रहरीले लोडरमा लगिरहेको साँढे सडकमा खसेको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले यसबारे उजुरी आएको बताए। ‘यस घटनाबारे प्रहरीमा उजुरी परेको छ।  छानबिन हुँदैछ’ उनले भने। यस विषयमा बुझ्न धनुषा उपमहानगरपालिकाका प्रमुख मनोज साहसँग बुझन ९८५४०२२७२२  नम्बरमा फोन गर्दा स्वीच अफ थियो।

प्रकाशित: १० भदौ २०८१ १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =