मधेश सरकार गठनका लागि आह्वान

हिमाल प्रेस २४ जेठ २०८१ १५:४७
10
SHARES
मधेश सरकार गठनका लागि आह्वान

काठमाडौँ- मधेश प्रदेश सरकार गठन आह्वान भएको छ। प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्। बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि आज बिहीबार प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरिन्।

उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न भोलि बिहान १० बजेसम्मको समय दिएर आह्वान गरेकी हुन्। बुधबार विश्वासको मत नपाएसँगै यादव नेतृत्वको सरकार ढलेको थियो।

मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको पक्षमा जम्मा ५० मतपरेको थियो भने विपक्षमा ५३ मत परेको थियो। यादव नेतृत्वको सरकार ढलेसँगै झन्डै साढे ६ वर्षको अवधिपछि जसपा नेपाल मधेस सरकारबाट बाहिरिएको छ। अघिल्लो प्रदेश सभामा जसपा नेपालकै लालबाबु राउतले ५ वर्ष नेतृत्व गरेका थिए।

यसैबीच, जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिशकुमार सिंहलाई उम्मेदरवार बनाउने निर्णय गरिसकेको छ। नयाँ सरकार बनाउन गठबन्धन दलहरूले प्रदेश प्रमुख भण्डारीसमक्ष आजै दाबी प्रस्तुत गर्ने तयारी पनि गरेका छन्। सिंहलाई मुख्यमन्त्री बनाउन पार्टी अध्यक्ष डा सिके. राउतले सत्ता गठबन्धन दललाई जानकारी गराइसकेका छन्।

कुल १०७ सदस्यीय मधेश प्रदेशसभामा बहुमतका लागि ५४ सिट आवश्यक पर्छ। प्रदेश सभामा गठबन्धनतर्फ एमालेका सभामुखसहित २५, जनमतको १३, माओवादीको ९ र एकीकृत समाजवादीको ७ सहित ५३ सदस्य छ। एमाले–माओवादी गठबन्धनको पक्षमा रहेको दाबी गरिएका स्वतन्त्र सांसद रिजवान अन्सारी र नागरिक उन्मुक्ति पार्टीका एक सांसदले समर्थन गरेमा बहुमत पुग्ने देखिन्छ। सीके राउत नेतृत्वको जनमत पार्टी मधेशबाट सरकारको नेतृत्वको परीक्षामा होमिँदैछ।

प्रकाशित: २४ जेठ २०८१ १५:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =