पाँचथरकी शान्ता बास्कोटाको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

हिमाल प्रेस १८ असोज २०८३ १८:३० | Sunday, October 4, 2026
पाँचथरकी शान्ता बास्कोटाको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

काठमाडौँ- अर्गानिक चिया उत्पादन र बजारीकरणमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएकी उद्यमी शान्ता बास्कोटा कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

कांग्रेस पाँचथरकी जिल्ला सदस्यसमेत रहेकी बास्कोटा १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्। प्रतिनिधि निर्वाचित भएसँगै उनले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी हुन्।

व्यवसाय र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय बास्कोटाले आफ्नो उद्यमशीलताको अनुभवलाई पार्टीको नीति निर्माणसँग जोड्ने बताएकी छन्। महिला उद्यमशीलता, कृषि, किसानको आयआर्जन, स्थानीय उत्पादनको बजारीकरण र ग्रामीण अर्थतन्त्रलाई उनले प्राथमिकताका विषयका रूपमा अघि सारेकी छन्।

बास्कोटा कञ्चनजंघा टी इस्टेट एन्ड रिसर्च सेन्टरकी निर्देशक हुन्। फिदिमको पहाडी क्षेत्रमा अर्गानिक चिया, जडीबुटी तथा मसला उत्पादन, प्रशोधन र बजारीकरण गर्दै आएको संस्थाले ४१८ जना साना किसानलाई अर्गानिक खेतीसँग जोडेको जनाएको छ।

संस्थाका अनुसार चिया बगान तथा कारखानामा करिब १५० जना श्रमिक कार्यरत छन्। तीमध्ये ८५ प्रतिशत महिला छन्।

कञ्चनजंघा टी इस्टेटका उत्पादनले NAASA, JAS र USDA लगायतका अर्गानिक प्रमाणपत्र प्राप्त गरेका छन्। संस्थाले आफ्ना उत्पादन जापान, जर्मनी, अमेरिका, क्यानडा तथा खाडी मुलुकलगायतका अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउँदै आएको जनाएको छ।

महिला उद्यमशीलता तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएबापत बास्कोटाले राष्ट्रिय महिला सेवा पुरस्कार, राष्ट्रिय चिया विकास पुरस्कार, राष्ट्रिय प्रदर्शनीमा विशेष पुरस्कार र नेपाल महिला उद्यमशीलता पुरस्कार प्राप्त गरेकी छन्।

सन् २०२१ मा NewBiz Business Women Summit and Awards ले उनलाई ‘Women Entrepreneur of the Year 2021’  बाट सम्मान गरेको थियो।

समाजशास्त्रमा एमफील–पीएचडी अध्ययनरत बास्कोटाले व्यवस्थापन, कृषि, मूल्य शृंखला, बजारीकरण, नेतृत्व तथा उद्यमशीलतासम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम र सम्मेलनमा सहभागिता जनाएकी छन्। उनी गिरिजाप्रसाद कोइराला फाउन्डेसनको उद्यमशीलता विभागमा निर्देशकका रूपमा समेत आबद्ध छन्।

पूर्वगृह राज्यमन्त्री दीपक बास्कोटाको राजनीतिक पृष्ठभूमि रहेको पाँचथरबाट बास्कोटा आफ्नै राजनीतिक तथा सामाजिक सक्रियतामार्फत कांग्रेसको राजनीतिमा अघि बढिरहेकी छन्।

केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै बास्कोटाले उद्यम, कृषि र स्थानीय उत्पादनलाई राजनीतिक नीति तथा कार्यक्रमसँग जोड्ने आफ्नो प्राथमिकता रहेको बताएकी छन्।

उनको उम्मेदवारीसँगै पाँचथरबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि अर्को नाम थपिएको छ।

प्रकाशित: १८ असोज २०८३ १८:३० | Sunday, October 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast