इजरायलको ७६औं राष्ट्रिय दिवस : जब हमासको आक्रमण सम्झेर आँखा रसाए

हिमाल प्रेस १८ जेठ २०८१ २१:४६
36
SHARES
इजरायलको ७६औं राष्ट्रिय दिवस : जब हमासको आक्रमण सम्झेर आँखा रसाए

काठमाडौँ- युद्धरत इजरायलको ७६ औं राष्ट्रिय दिवस तथा स्वतन्त्रता दिवस आतंकवादविरुद्धको लडाईँको छायाँमा परेको छ।

मे १४ लाई इजरायलले आफ्नो स्वतन्त्रता दिवसको रूपमा लिँदै त्यस दिनलाई राष्ट्रिय दिवसको रूपमा मनाउने गरेको छ। प्यालेष्टिनी लडाकु समूह हमाससँग इजरायल सात महिना लामो युद्धमा नै छ।

यो युद्ध जतिसक्दो छिटो टुंग्याउने अपेक्षासहित विगतका वर्षहरूमा भन्दा फरक ढंगले इजरायलले आफ्नो राष्ट्रिय दिवस सामान्यरूपमा मनाएको छ।

राजदूतलाई स्वतन्त्रता दिवसको बधाई दिँदै गर्दा सबै शान्त र गम्भीर देखिएका थिए। प्रायः हँसमुख देखिने राजदूत पनि निकै गम्भीर देखिएका थिए। समारोहमा इजरायली फोटो पत्रकार जीभ कोरेनले कैद गरेका तस्विरहरू प्रदर्शनीमा राखिएको थियो।

हमास आक्रमणको विध्वंशहरूका फोटोहरू पनि प्रदर्शनमा थिए। ती तस्बिर हेर्ने बित्तिकै सात महिना अघिको त्यो आक्रमण स्मरण गर्दै उपस्थिति जनाउनेहरू आँखा पुछिरहेका थिए। रसिला आँखा लिएर खाना खाँदै थिए।

मे १४ मा आकाशमा इजरायली जहाज उडाउने, आतीसबाजी गर्ने, आफ्नो पैरवी गर्ने इजरायल यस पटक पूर्ण युद्धमा रहनु परेको भन्दै आफ्नो राष्ट्रिय दिवस अलिक फरक ढंगले मनाएको छ। काठमाडौंस्थित इजरायली दूतावासले बिहीबार लाजिम्पाटस्थित दूतावास परिसरमा आयोजना गरेको ७६ औं राष्ट्रिय दिवस शान्त ढंगले मनाएको थियो। त्यहाँ सबैको एक मत थियो- छिटै युद्ध अन्त्य होस्।

हुन पनि हर्षोल्लासभन्दा हमासले गत अक्टोबर ७ मा इजरायलमाथि गरेको बर्बरतापूर्ण आक्रमण र उनीहरूले आफ्नो कब्जामा राखेका बन्दीहरूको सुरक्षित रिहाइको विषयले सबैलाई चिन्तित पारेको थियो।

फेरि पनि एकपटक सबै सात महिना पहिलेको त्यो बर्बरता सम्झन बाध्य भएका थिए। कतिपयले त्यो सात महिना अघिको हमासका लडाकुले गरेको बर्बरता बिर्सेर इजरायलले आफ्नो सुरक्षाको लागि उठाएको हतियार प्रति औँला ठडाएका छन्। यो कुरालाई इजरायल र अन्य मुलुकले पनि राम्रो रूपमा लिएका छैनन्। आतंकवाद जहाँ रहे पनि त्यो सबैको लागि काउसो भएकाले यसलाई समाप्त गर्नुपर्ने पक्षमा इजरायल छ।

सात महिना अघिको प्यालेस्टिनी लडाकूहरुको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने एक जनालाई हमासले आफ्नो कब्जामा लिएको र अहिले सम्म उनको अवस्था के छ जानकारी समेत नभएको अवस्था छ। त्यतीबेला जोशी सहित अन्य एक सय २५ इजरायली र विदेशी नागरिकलाइ बन्दी बनाएको छ भने इजरायलले उनीहरुलाई सुरक्षित फर्काउने आफ्नो प्रमुख लक्ष्य रहेको जनाएको छ।

उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि इजरायलका राजदूत हनान गोदरले चियर्स गरेसँगै राष्ट्रिय दिवसको स्मरण गरिएको थियो। अनि दुवै मुलुकको राष्ट्रिय गान पनि गाइएको थियो। राजदूत हनानले त्यही चियर्ससँगै भावुक हुँदै भनेका थिए, ‘स्वतन्त्रता र सार्वभौमिकता कुनै पनि मुलुकको लागि सबैभन्दा महत्त्वपूर्ण र प्रिय हुन्छ। हामीले आफ्नो गुमेको स्वतन्त्रता र सार्वभौमिकता पुनः प्राप्त गर्न २ हजार वर्ष त लाग्यो तर पनि अझै त्यसलाई अस्वीकार गर्नेहरूले दुःख दिइरहेका छन्।’

आफैँ नलड्दा पनि आक्रमण हुने र यतिका वर्षसम्म पनि अझै आफ्नो राष्ट्रिय पहिचानबारे कुरा गरिरहनु पर्ने यो विश्व कति दुखद छ भन्दै उनले भने, ‘हाम्रो भूभाग हामीले दिने कुरा हुँदैन। तर उनीहरू आफैँ हामीसँग लड्न आउने र पछि भाग्दै गर्दा पनि अपजस हामीले नै बेहोर्न पर्ने कस्तो विश्व न्याय हो?’

सबै नागरिकलाई शान्तिपूर्वक बस्न पाउने अधिकार भए पनि आफूहरू कहिल्यै शान्तिसँग रहन नपाएको भन्दै उनले भने, ‘हाम्रो अवस्था बुझ्न र सल्लाह दिने हो। हामी एकपटक सबै नागरिक साँच्चै सभ्य भएर सोचौँ र त्यहाँको अवस्था नियालौँ न।’

राजदूतले नेपाल र इजरायल दुवै साना राष्ट्र भए पनि नेपाल आफ्नाे देशभन्दा निकै ठूलो मुलुकमा पर्ने बताए। प्राकृतिक र सांस्कृतिक रूपले दुवै सम्पन्न मुलुक भएको बताउँदै नेपालले विकासमा फड्को मार्न बाँकी रहेको र त्यसका लागि आफ्नो तर्फबाट गर्नुपर्ने सबै सहकार्य गरिरहेको बताए।

‘अझै पनि साना मुलुकहरू आफ्नो राष्ट्रिय पहिचानलाई कायमै राख्न प्रयत्नशील रहनु परेको छ। यो दु:खद् पाटो हो। नेपालले इजरायललाई सबैभन्दा पहिले यो क्षेत्रबाट स्वीकार गरेको हो,’ उनले भने, ‘त्यही नाता मात्र होइन। सबैभन्दा होचो मृतसागर पनि इजरायलमा र अग्लो टाकुरो सगरमाथा पनि यहीँ रहँदा दुई मुलुकको पाउ र शिरको सम्बन्ध छ।’

आगामी दिनमा पनि यो मित्रता अझै बलियो र अन्तरक्रियामुखी रहेर अघि बढ्ने विश्वास इजरायलको छ। नेपालले नै सबैभन्दा पहिला इजरायललाई राष्ट्रको रूपमा मान्यता दिएको भन्दै नेपालको सहासप्रति कृतज्ञता पनि उनले प्रकट गरेका थिए।

उक्त कार्यक्रममा पूर्व मन्त्रीहरू, पूर्व राजदूत, राजदूत, सांसद, विभिन्न दलका नेता, काठमाडौंस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू, विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति तथा संचारकर्मीहरुको उपस्थिति थियो।

प्रकाशित: १८ जेठ २०८१ २१:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nineteen =