काठमाडौँ- नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले नेपालको आर्थिक वृद्धि, रोजगारी सिर्जना, डिजिटल विकास, कृषि आधुनिकीकरण तथा युवालाई अवसर प्रदान गर्ने राष्ट्रिय प्राथमिकतामा इजरायलको अनुभव र सहकार्य उपयोगी हुन सक्ने बताएका छन्।
नेपालस्थित इजरायल दूतावासले आयोजना गरेको इजरायलको ७८औँ स्वतन्त्रता दिवस समारोहलाई सम्बोधन गर्दै राजदूत बासले इजरायलको राष्ट्रिय यात्रासँगै नेपाल-इजरायलबीचको मित्रता, साझेदारी र साझा आकांक्षाको पनि उत्सव मनाइएको बताए।
उनले भौगोलिक दृष्टिले सानो भए पनि विश्वव्यापी प्रभावका हिसाबले इजरायल उल्लेखनीय देश बनेको बताए। स्थापना कालदेखि नै सीमित स्रोतसाधनलाई नवप्रवर्तनमा रूपान्तरण गर्ने क्षमताका कारण इजरायल विश्वलाई उपयोगी प्रविधि र विचार प्रदान गर्न सफल भएको उनको भनाइ थियो।
राजदूत बासले ‘वेज’ जस्ता डिजिटल नेभिगेसन प्रणाली, साइबर सुरक्षाको क्षेत्रमा अग्रणी कम्पनी ‘विज’ तथा कृषिक्षेत्रमा विकसित चेरी टमाटरजस्ता नवप्रवर्तनहरू इजरायलको सिर्जनशीलता, अनुसन्धान र सीमित स्रोतको प्रभावकारी उपयोगका उदाहरण भएको बताए।
नेपाल र इजरायल आकार तथा भौगोलिक अवस्थाका दृष्टिले फरक भए पनि शिक्षा, नवप्रवर्तन र कठिन परिस्थितिमा पनि अघि बढ्ने क्षमतामार्फत विकास सम्भव हुन्छ भन्ने साझा विश्वास दुवै मुलुकमा रहेको उनले उल्लेख गरे।
जल व्यवस्थापन, कृषि, प्रविधि तथा उद्यमशीलतामा इजरायलले हासिल गरेको अनुभव नेपालको विकास यात्रामा सहयोगी बन्न सक्ने उनको भनाइ थियो।
राजदूत बासले नेपाल-इजरायल सम्बन्ध केवल कूटनीतिक तहमा सीमित नभई व्यवहारिक सहकार्यमा आधारित रहेको बताए।
इजरायलको अन्तर्राष्ट्रिय विकास सहयोग निकाय माशाभ मार्फत नेपालीहरूले विभिन्न व्यावसायिक तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमबाट लाभ लिएको उनले जानकारी दिए।
त्यस्तै ‘लर्न एन्ड अर्न’ कार्यक्रमले नेपाली युवालाई सीप र कार्यानुभव हासिल गर्ने अवसर प्रदान गरेको तथा इजरायलमा उपलब्ध रोजगारीका अवसरहरूले धेरै नेपाली नागरिकको जीविकोपार्जन, अनुभव वृद्धि र परिवारको आर्थिक सुदृढीकरणमा योगदान पुर्याएको उनको भनाइ थियो।
सम्बोधनका क्रममा उनले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला को योगदानको पनि स्मरण गरे।
लोकतन्त्र, मानवीय मर्यादा र नागरिक सशक्तीकरणका पक्षमा बिपीको दृष्टिकोणले नेपाल-इजरायल सम्बन्धलाई थप अर्थपूर्ण बनाएको उनले बताए।
राजदूत बासले विकास भनेको भौतिक पूर्वाधार निर्माण वा आर्थिक सूचकांकको वृद्धिमात्र नभई मानव मर्यादा, अवसर र उज्ज्वल भविष्य निर्माणको स्वतन्त्रतासँग पनि जोडिएको विषय भएको बताए।
उनले नवप्रवर्तन, शिक्षा, विकास र अवसरका क्षेत्रमा नेपाल र इजरायलबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै दुवै देशका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने गरी साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए।




