दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न कास्कीका दुग्ध उत्पादक किसानको माग

हिमाल प्रेस १२ मंसिर २०८३ ९:०० | Saturday, November 28, 2026
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न कास्कीका दुग्ध उत्पादक किसानको माग

कास्की- कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्। दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ।

सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अहिले दूधको गुणस्तरका आधारमा किसानले प्रतिलिटर रु ६८ देखि रु ७१ सम्म मात्र पाउँदै आएको र यो मूल्यले किसानको उत्पादन लागत र श्रमको उचित प्रतिफल दिन नसकेको जनाएको छ।

सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ। जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उनले बताए।

दूध उत्पादन किसानको जीविकोपार्जनसँग मात्रै नभई ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बरालको भनाइ छ।

‘उत्पादन लागत बढ्दै जाने तर दूधको उचित मूल्य नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्छन्। त्यसको असर देशको समग्र दुग्ध उत्पादनमा पर्छ। भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण हुनुपर्छ’, उनले भने।

उपभोक्ताको हित र बजारको अवस्थालाई समेत मध्यनजर गर्दै किसानले प्राप्त गर्ने दूधको मूल्य कम्तीमा प्रतिलिटर रु ८० कायम गर्न आफूहरुले सरकारसँग माग गरिरहेको अध्यक्ष बरालले बताए। दूधको मूल्य बढाउन मागसहित केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले सरकारसँग लामो समयदेखि माग गर्दै आए पनि माग पूरा नभएको बताइन्छ।

किसानले दूधको मूल्य वृद्धिसँगै किसानले दूध बिक्री गरेबापतको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन, पशुको स्वास्थ्योपचार र खोप सेवा प्रभावकारी बनाउन, पशु आहारमा सहुलियत दिन तथा उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। त्यस्तै, पशुमा कृत्रिम गर्भाधान सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखी दूधको मूल्य समायोजन हुन नसकेको बताए। उनका अनुसार यसबीचमा दानाचोकरको मूल्य २५ प्रतिशतभन्दा बढिसकेको छ।

‘दानाचोकरको मूल्य महिनैपिच्छे रु १० देखि १५ सम्म बढ्छ। हामीले उत्पादन गरेको दूधको मूल्य भने तीन वर्षदेखि उस्तै छ। यही अवस्था रहिरहने हो भने यसरी किसान कसरी बाँच्ने ? पशुपालनबाट पलायन हुनुको विकल्प छैन।’ लामिछानेले भने।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोकका कृष्णप्रसाद अधिकारीले बजारमा हरेक वस्तुको मूल्य बढिरहेको भए पनि दूधको मूल्य बढ्ने आशामा किसान तीन वर्षदेखि कुरिरहेको बताए। उपभोक्ताले बजारमा दूध किन्दा चर्को मूल्य तिर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको उनी बताउँछन्।

‘किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ । उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानले उत्पादन लागतसमेत नउठ्ने मूल्य पाउने अवस्था छ । किसानले उत्पादन गरेको दूधको मूल्य निर्धारणमा उनीहरूकै कुरा किन सुनिँदैन?’ अधिकारीको प्रश्न छ।

प्रकाशित: १२ मंसिर २०८३ ९:०० | Saturday, November 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast