काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रूपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने बताएका छन्।
नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरेले सदन सञ्चालनका लागि सबैको साथ आवश्यक रहेको बताए।
उनले सरकारको नीति तथा कार्यक्रम र बजेट पारितका साथै महत्त्वपूर्ण विधेयक पारित गर्नुपर्ने दायित्व भएको चालु अधिवेशन निर्बाध रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिए।
‘नीति तथा कार्यक्रम र बजेट संसद्बाट पारित हुन सक्ने वातावरण नभएमा अध्यादेशको बाटोबाट जानुपर्ने हुन्छ। यस्तो स्थिति आएमा लोकतन्त्रको मार्ग बलियो हुन सक्दैन’,सभामुख घिमिरेले भने,‘प्रधानमन्त्रीले विश्वासको मतका लागि समय मागिसक्नुभएको छ। यस्तो अवस्थामा सदन चल्ने वातावरण सृजनाका लागि सबै दल र स्वतन्त्रताका क्षेत्रमा काम गर्ने पत्रकारिताजगत्ले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्छ।’
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै सदन अवरोध गर्दै आएको छ।