क्रिकेटर सन्दीप लामिछाने। फाइल तस्बिर।
                                            काठमाडौँ- बलात्कारसम्बन्धी मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालतबाट सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेको छ। बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्यानले घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरेको जनाएको हो।
नवौँ संस्करणको आईसीसी टी–२० विश्वकप आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इण्डिजले संयुक्तरूपमा आयोजना गर्दैछन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यस पटकको विश्वकपका लागि खेलाडीहरुको अन्तिम नामावली घोषणा गर्न मे १ तारिखसम्म समय दिएको थियो।
क्यानले पनि सो समयभित्रै १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ‚ जसमा सन्दीप बलात्कार मुद्दामा मुछिएका कारण परेका छैनन्। अदालतबाट सफाइ पाएपछि सन्दीपले आगामी टी-२० विश्वकप खेल्न पाउने सम्भावना देखिएको छ।
विश्वकपमा सहभागी टोलीहरूले विश्वकपका लागि यसअघि नै आफ्नो टोलीको घोषणा गरिसके पनि उचित कारण देखाएर उक्त टोलीमा हेरफेर गर्न भने सकिन्छ।
आईसीसीले विश्वकपमा सहभागी राष्ट्रहरूलाई उचित कारण देखाएर आफ्नो टोलीमा हेरफेर गर्न मे २४ तारिखसम्मको समय दिएको छ। उक्त अवधिभित्र विश्वकप खेल्ने कुनै पनि राष्ट्रले आफ्नो टोलीका खेलाडी परिवर्तन गर्न सक्ने सम्भावना रहन्छ।
तर मुद्दा सरकारवादी भएकाले उच्च अदालतबाट सफाइ पाएका सन्दीपविरुद्ध सरकारी वकिलले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने बाटो भने खुला छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

