 
                             
                                            इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार साँझ कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन्। प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्कीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका थिए। उनी डेढ वर्षमा तेस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
त्यस्तै नेकपा (एमाले) का उपनेता रामबहादुर राना र नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीले पनि मन्त्रीको शपथ लिएका छन्। उनीहरू दुवैले शपथ ग्रहण गरेका छन्। उनीहरू बिनाविभागीय मन्त्री नियुक्त भएका थिए।
एमालेका ३९ र माओवादीका १३ गरी कार्कीले ५२ सांसदहरू समर्थन लिएर प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए। समर्थन गरेका ५२ जना सांसदहरूको सनाखतपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। नियुक्तिसँगै अब कार्कीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनु पर्दछ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 