पूर्वका ३ जिल्लामा सवारी दुर्घटना, ३ जनाको मृत्यु

हिमाल प्रेस २० भदौ २०८३ ११:१४ | Saturday, September 5, 2026
पूर्वका ३ जिल्लामा सवारी दुर्घटना, ३ जनाको मृत्यु

इटहरी- कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

झापाको भद्रपुर नगरपालिका–२ चारआली चोकमा सिटी सफारीले ठक्कर दिँदा पैदलयात्री ६४ वर्षीय पूर्णबहादुर पराजुलीको मृत्यु भएको छ । धिमाल धुराबाट चारआलीतर्फ आउँदै गरेको प्र। १०–०१–००२ ह ८४६८ नम्बरको सिटीले पैदल हिँडिरहेका पराजुलीलाई पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते पराजुलीलाई ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएकोमा राति ९ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले सिटी र चालक भद्रपुर–३ का ४२ वर्षीय रमेश माझीलाई नियन्त्रणमा लिएको छ। चालक उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ । सिटीको कागजपत्र नरहेको र चालकले मादक पदार्थ सेवन नगरेको प्रारम्भिक विवरण छ ।

यस्तै, मोरङको बेलबारी नगरपालिका–९ को भित्री पक्की सडकमा स्कुटरको ठक्करबाट करिब ७५ वर्षीया बेग्रि राजवंशीको मृत्यु भएको छ ।

लक्ष्मीमार्गबाट डाँगाबजारतर्फ जाँदै गरेको प्र १–०२–०५३ प ६६५१ नम्बरको १२५ सीसीको स्कुटरले बाटो काट्दै गरेकी राजवंशीलाई ठक्कर दिएको थियो । घाइते राजवंशीलाई गोल्डेन अस्पताल विराटनगर पुर्‍याइएकोमा चिकित्सकले साँझ ७ः५४ बजे मृत घोषणा गरेका थि ए।

दुर्घटनामा स्कुटर चालक बेलबारी–८ का १७ वर्षीय अदित खवास र स्कुटरमा सवार १८ वर्षीय रुमन खवाससमेत घाइते भएका छन् । दुवैको विराटनगरमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनाको प्रारम्भिक कारण तीव्र गति रहेको जनाएको छ ।

सुनसरीको कोशी गाउँपालिका–४ धर्मकाँटस्थित महेन्द्र राजमार्गमा बसबाट खसेर सहचालकको मृत्यु भएको छ ।

विराटनगरबाट नारायणगढतर्फ जाँदै गरेको प्र ०१–०२–००२ ख १२५५ नम्बरको बसको ढोकाबाट अचानक खस्दा करिब २३ वर्षीय पुरुष गम्भीर घाइते भएका थिए । उनलाई जिल्ला अस्पताल इनरुवा लगिएकोमा बिहान ८ः१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रारम्भमा पहिचान खुल्न नसकेका मृतकको पछि विराटनगर महानगरपालिका–१२ का २३ वर्षीय ईश्वर श्रेष्ठ रहेको खुलेको प्रहरीले जनाएको छ । उनका काका बुद्धि श्रेष्ठले शवको सनाखत गरेका हुन् ।

प्रहरीका अनुसार बसको ढोका खुला राखेर यात्रा गराउँदा सहचालक बसबाट खसेका थिए । बस र चालक रौतहट चन्द्रपुर नगरपालिका–६ का ३७ वर्षीय गणेशबहादुर खपाङ्गी मगर प्रहरी नियन्त्रणमा छन् । तीन वटै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २० भदौ २०८३ ११:१४ | Saturday, September 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast