पारदर्शी बन्यो तरहरा रन

हिमाल प्रेस १३ वैशाख २०८१ १७:००
134
SHARES
पारदर्शी बन्यो तरहरा रन

इटहरी- इटहरी २० तरहरामा सम्पन्न भएको तरहरा रनले आयव्यय सार्वजनिक गरेको छ। गत फागुन २६ गते तरहरा रनले १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न गरेको थियो। कार्यक्रम आयोजना भएको डेढ महिना बित्दै आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै खर्च विवरण सार्वजनिक गरेको हो।

खर्च विवरण गरेर तरहरा रनले पारदर्शीता देखाएको छ। पछिल्लो समय समाजमा हुनेगरेका कार्यक्रमहरूले आफ्नो खर्च विवरण सार्वजनिक नगर्ने र समाजप्रति जवाफदेही नबन्ने कुराहरू आइरहँदा तरहरा रनले आयव्यय सार्वजनिक गर्दै आगामी वर्ष पनि रनलाई निरन्तरता दिइने जनाएको छ।

तरहरा रनका कोषाध्यक्ष किशोर खत्रीले कार्यक्रममा कूल १५ लाख ४९ हजार दुई सय ८२ रुपैयाँ आम्दानी भएको जानकारी दिए। यसैगरी १५ लाख १८ हजार ८०७ रुपैयाँ खर्च भएको उनले जनाए। खर्च कटाएर ३० हजार ४७५ रुपैयाँ बचत भएको खत्रीले बताए।

उनका अनुसार सहभागीबाट कूल ४ लाख ६० हजार ९५० रुपैयाँ आम्दानी भएको थियो। यसैगरी बाँकी इटहरी उपमहानगरपालिकासहित स्थानीय संघसंस्था र विदेशमा रहेका तरहराबासीहरूले सहयोग गरेका थिए। प्रतियोगितामा पुरस्कार वितरण, टि–सर्ट छपाइ, गेट निर्माण, मार्किङ बोर्डलगायतमा खर्च भएको जनाइएको छ। प्रतियोगितामा कूल एक हजार सात सय ७४ जना धावक तथा धाविका सहभागी रहेका थिए।

जसमा १२ वर्षभन्दा कम उमेरका ५१९ जना बालबालिकाहरू सहभागी थिए। उनीहरूलाई ३ किलोमिटर दूरीको दौडमा सहभागी गराइएको थियो।यस्तै, १५ वर्षभन्दा कम उमेरका १९९ जना सहभागी बालबालिकाहरूलाई १० किलोमिटर दूरीको दौडमा सहभागी गराइएको थियो।

यसैगरी, १६ देखि ३९ वर्षसम्म ५१० जना, ४० देखि माथिका (भेट्रान)तर्फ १६५ जना, पारिवारिकतर्फ ३४५ जना र ह्वील चियरतर्फ ३६ जना सहभागी थिए। जसमा ह्वील चियरमा सहभागी धावक, धाविकालाई भने दर्ता शुल्क नलिइएको तरहरा रनका अध्यक्ष शिवु रुम्दाली राईले बताए। सबै विधाका विजेताहरूलाई नगद, मेडल र प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो। ‘आगामी वर्षपनि रनलाई निरन्तरता दिइनेछ,’ अध्यक्ष राईले भने, ‘हाम्रो उदेश्य तरहरालाई चिनाउनु र स्वास्थ्य रहनुपर्छ भन्ने हो।’
आयव्यय सार्वजनिक कार्यक्रममा इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले उक्त रनले तरहरालाई चिनाउनु र यो ठाउँको स्तरोन्नतिका गरिएको भन्दै प्रशंसा गरे।

प्रकाशित: १३ वैशाख २०८१ १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 10 =