कतारी अमिरको भ्रमण : उत्साहित पर्यटन व्यवसायी

हिमाल प्रेस १२ वैशाख २०८१ २०:४१
30
SHARES
कतारी अमिरको भ्रमण : उत्साहित पर्यटन व्यवसायी

काठमाडौँ- कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणले नेपालका पर्यटन व्यवसायी उत्साहित भएका छन्। अमिर अल थानीको भ्रमणबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा सञ्चार गरेको सरोकारवालाले बताएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा मंगलबार नेपालको दुईदिने राजकीय भ्रमणमा आएका अमिर अल थानी नेपालको भ्रमण पूरा गरी आज (बुधबार) अपराह्न स्वदेश फिर्ता भएका छन्। कतारी अमिर अल थानीको नेपाल भ्रमण पर्यटनका हिसाबले महत्त्वपूर्ण मानिएको छ। खाडी मुलुकबाटै पहिलो पटक भएको विशिष्ट भ्रमणले नेपालको पर्यटनलाई विश्वबजारमा थप प्रवर्द्धन गर्न टेवा पुग्ने सरोकारवाला बताउँछन्।

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा कतारका अमिरको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउँछन्। कतारबाट धेरै पर्यटक पर्वतारोहण र पदयात्राका लागि नेपाल आउने गरेका उनको भनाइ छ।

‘कतारी अमिर अल थानीको भ्रमणले नेपालको पर्यटनलाई धेरै सघाऊ पुग्छ। कतार विकसित मुलुक हो। मध्यपूर्वी कतार, बहराइन, कुवेतलगायत मुलुकबाट ‘हाइ इन्ड’ पर्यटक नेपाल आउने क्रम बढेको छ,’ उनले भने। उनले पछिल्लो समय नेपालमा ‘हाइ इन्ड टुरिस्ट’ बढ्दो क्रममा रहेकाले कतारबाट नेपाल आउने पर्यटक बढ्न सक्ने बताए।

खास गरी कतारको राजपरिवारका सदस्यहरू नेपालमा पदयात्रा र पर्वतारोहणका लागि आउने गरेका छन्। कतारका शेख मोहम्मद बिन अब्दुल्लाह अल थानी विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो कतारी नागरिक छन्।

उनले सन् २०१३ मे २२ मा सगरमाथा र सन् २०२० नोभेम्बर ११ मा अमादब्लमको सफल आरोहण गरेका थिए।यस्तै कतारको राजपरिवारका सदस्य शेख अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेकी थिइन्।

यसरी कतारी राजपरिवारका सदस्यहरु पछिल्लो समय नेपालको सगरमाथासहितका हिमाल आरोहण र चर्चित पदयात्रामा आउने गरेका छन्। कतारका शेख तथा खर्चालु पर्यटक महँगा र लग्जरी होटल तथा रिसोर्टमा बस्न चाहने भएकाले सोही अनुरुप नेपालममा पनि लग्जरी होटल एकपछि अर्को थपिँदैछन्।

मुस्ताङको सिन्तामणी, चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टलगायतका लग्जरी होटल कतारलगायत खाडी मुलुकका राजपरिवार सदस्य र महँगा पर्यटकका लागि उपयुक्त हुने होटल स‌ंघ नेपालका अध्यक्ष विनायक शाहले बताए। कतारका अमिरको भ्रमणले नेपालको पर्यटन क्षेत्रका लागि राम्रो सन्देश दिएको उनी बताउँछन्।

अध्यक्ष शाहका अनुसार कतारका अमिरको भ्रमणले विश्वलाई नेपालको सन्देश दिएको छ। कतार, युनाइटेड अरब इमिरेटस् (युएई)लगायत मुलुकबाट विगतमा पनि राजपरिवारका सदस्यहरु पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा नेपाल आएका थिए।

वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य पनि कतारका अमिरको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको बताउँछन्।

विश्वका सेलिब्रेटी मानिने व्यक्तिको भ्रमणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने गरेको छ। त्यसैले कतारका अमिरलगायत विशिष्ट व्यक्तिको नेपाल भ्रमण र यहाँ भएका पर्यटनसँग सम्बन्धित विभिन्न ठूला इभेन्टले नेपाललाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गर्न मद्दत पुगेको छ। नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने कतारका अमिरको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउँछन्।

‘कतारका राजाले सोल्टीमा बसेर द्वारिकाज होटलमा ‘लञ्च’ खाएको विषयले लग्जरी सेवामा पनि नेपाल अब्बल छ भन्ने सन्देश गएको छ,’ उनले भने, ’यो भ्रमणले नेपाल गन्तव्यको विश्वभर प्रचार–प्रसार भएको छ। यसले नेपालको पर्यटनमा सकारात्मक उत्साह जगाएको छ।’

बोर्डका अनुसार सन् २०२३ मा दुई सय ५५ कतारी नागरिकले नेपालको भ्रमण गरेका छन्। सन् २०२२ मा दुई सय पाँच, सन् २०२१ मा ७४, सन् २०२० मा ६३, सन् २०१९ मा दुई सय ८५ र सन् २०१८ मा दुई सय ९१ कतारी नागरिक नेपाल आएको विभागको तथ्यांकमा उल्लेख छ।  यो संख्या बढाउन नेपालमा कतारका अमिरको भ्रमणले सहयोग पुग्ने विश्वास गरिएको छ।

२०८० कात्तिकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसको नेपाल भ्रमणका कारण नेपालको पर्यटनमा सकारात्मक प्रभाव परेको थियो। त्यसअघि २०७९ सालको बुद्ध जयन्तीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले लुम्बिनीमा भारतीय पर्यटक आउने क्रम बढ्दै गएको छ।

२०७५ मा भारतीय प्रधानमन्त्री मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गरेयता ती क्षेत्रमा भारतीय पर्यटकको आगमन बढेको पाइएको छ। त्यसै गरी भारतीय प्रधानमन्त्री मोदीको पशुपतिनाथ दर्शनले पनि पछिल्लो समय धार्मिक पर्यटनमा बढोत्तरी भएको छ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रचण्डमान श्रेष्ठ कतारी अमिरको नेपाल भ्रमण पर्यटनलगायत आर्थिक दृष्टिकोणबाट महत्त्वपूर्ण हुने बताउँछन्। भ्रमणबाट पर्यटनलगायत दुई राष्ट्रबीचको सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुगेको उनको भनाइ छ।

स्टोनियाका वाणिज्य दूतसमेत रहेका ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष नवराज दाहालले कतारबाट भएको उच्च स्तरको भ्रमणबाट नेपालको पर्यटन प्रवर्द्धनमा विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरे। खाडी मुलुकबाट अहिले उल्लेख्य संख्यामा विशिष्ट व्यक्तिदेखि खर्चालु पर्यटक नेपाल आइरहेको सन्दर्भमा यो भ्रमण नेपालको निम्ति अवसर भएको व्यवसायी दाहालले बताए।

पर्यटन विभागका अनुसार वसन्त ऋतुको यो याममा कतारबाट एक विशिष्ट व्यक्ति सगरमाथा आरोहणका लागि आएका छन्। प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधतायुक्त नेपाल आफैँमा विश्व पर्यटनको आकर्षक गन्तव्य हो।

सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहण तथा अन्नपूर्ण, लाङ्टाङलगायत चर्चित गन्तव्यमा पदयात्राका लागि उल्लेख्य संख्यामा विदेशी नागरिक नेपाल आउँछन्। नेपालमा खास गरी पर्वतारोहण र पदयात्राका लागि कतारी नागरिक नेपाल आउने गरेका छन्। रासस

प्रकाशित: १२ वैशाख २०८१ २०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =