हवाईजहाजभित्र श्रमिकलाई खानाको व्यवस्था अनिवार्य गर्न श्रममन्त्रीको आग्रह

हिमाल प्रेस १० वैशाख २०८१ १९:११
32
SHARES
हवाईजहाजभित्र श्रमिकलाई खानाको व्यवस्था अनिवार्य गर्न श्रममन्त्रीको आग्रह

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाईजहाजभित्र अनिवार्यरूपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन्।

सोमबार वैदेशिक रोजगार व्यवसायी संघ र मन्त्रालयबीच मन्त्रालयमा नै भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायीमार्फत रोजगारीमा जाने श्रमिकलाई हवाईजहाजको टिकटमा अनिवार्यरूपमा खानाको व्यवस्था गर्न मन्त्री अर्यालले आग्रह गरेका हुन्।

मध्यपूर्व तथा मलेसिया जाने श्रमिकले औसत चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ। यात्रा गर्नुपूर्व तीन घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने हुन्छ। गन्तव्य मुलुक पुगेपछि पनि श्रमिकले समयमा नै खाना खान पाउँदैनन्। यसरी वैदेशिक रोजगारीमा जादा घण्टौँसम्म भोकभोकै बस्नुपर्ने अवस्था छ। त्यसैले हवाईजहाजको टिकटमा नै खानाको व्यवस्था गरिदिन मन्त्री अर्यालले आग्रह गरेका हुन्। ‘मुलुकभित्र अवसरमा नपाएर युवाहरू बिदेसिन्छन्, हामी श्रमिकलाई घण्टौसम्म भोकै राख्छौँ,’ उनले भने, ‘कम्तीमा पनि जहाजभित्र पानी र एक पटकको खानाको व्यवस्था गरिदिनुस्।’

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खाना दिनुपर्ने विषयमा व्यवसायीहरू पनि सकारात्मक रहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए। ‘यस विषयमा हामी पनि गम्भीर छौँ, एयरलाइन्स कम्पनीहरूले व्यावसायिक फाइदालाई मात्रै हेर्ने हुँदा श्रमिकहरू भोकै रहनुपर्ने अवस्था आएको हो,’ उनले भने। त्यसैले नेपाल नागरिक उडड्यन प्राधिकरणले नै एयरलाइन्सलाई अनिवार्यरूपमा खाना उपलब्ध गराउनु पर्ने नियम बनाइदिनुपर्न उनले बताए।

नेपालबाट औसत एक हजार ५०० युवा दैनिक रोजगारीका लागि मलेसिया तथा मध्यपूर्वका विभिन्न मुलुकमा जाने गरेका छन्। यी मुलुकहरूमा विभिन्न एयरलाइन्स उडान भर्दै आएका छन्। नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स, मालिन्दो एयरलाइन्स, मलेसियन एयरलाइन्सले नेपालदेखि मलेसियाका उडान भर्दै आएका छन्। हिमालयन एयरलाइन्स, नेपाल एयरलाइन्स, कतार एयरलाइन्सले नेपाल र कतार लागि उडान भर्दै आएका छन्। त्यस्तै नेपालदेखि साउदी अरेबियाका लागि हिमालयन एयरलाइन्सले मात्रै सीधै उडान भर्दै आएका छन्। एयर अरेबिया, फ्लाई दुबई, कतार एयरलाइन्स, जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, सलाम एयर, इन्डिगो एयरलाइन्स, एयर जजिरा, एयर इण्डियाले ट्रान्जिट उडान भर्दै आएका छन्।

सलाम एयरलाइन्सले ओमान र नेपालबीच सीधा उडान भर्दै आएको छ। फ्लाई दुबई, एयर जजिरा, एयर अरेबिया, कतार एयरवेजले ट्रान्जिट उडान भर्दै आएका छन्। यूएईका लागि भने हिमालयन एयरलाइन्स, नेपाल एयरलाइन्स, फ्लाई दुबई, एयर अरेबियाले सीधै उडान भर्दै आएका छन्। एयर जजिरा, इन्डिगो, एयर इण्डिया, कुवेत एयरवेज, सलाम एयरवेजले ट्रान्जिटबाट उडान भर्दै आएका छन्। कुवेतका लागि कुवेत एयरवेज र एयर जजिराले उडान भर्दै आएका छन्। तर नेपाल एयरलाइन्स लगायत अन्य चार वटा एयरलाइन्सले मात्रै अनिवार्यरूपले खाना दिने गरेको व्यवसायीहरू बताउँछन्।

छलफलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा शुल्क, मागपत्र प्रमाणीकरण लगायतका विषयलाई व्यवहारिक बनाउन व्यवसायीले आग्रह गरेका थिए।

प्रकाशित: १० वैशाख २०८१ १९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =