‘रुसी युद्धमा बाउ मारिए भनेर छोरालाई कसरी सुनाऊँ?’

रमेश भारती १० वैशाख २०८१ ११:२२
96
SHARES
‘रुसी युद्धमा बाउ मारिए भनेर छोरालाई कसरी सुनाऊँ?’ काठमाडौँको माइतीघर क्षेत्रमा धर्नामा बसेका रुसी रुसी सेनामा आबद्ध परिवारका सदस्य। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- म्याग्दीकी रोजी पुनलाई यूएई हिँडेका पति कसरी रुस पुगे भन्ने खुलदुली भइरहन्छ। पति भुवन पुन आठ महिनाअघि वैदेशिक रोजगारीमा यूएई जान भनेर रोजीसँग बिदा भएका थिए। असोज २ गते भुवनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा यूएई उडेँ भनेर फोनबाट सुनाएको रोजी सम्झन्छिन्।

रोजीका अनुसार भुवनले एक सातापछि रुसी सेनामा भर्ती भएको तस्बिर पठाएका थिए। त्यसपछि मात्र दलाललाई ७ लाख रुपैयाँ बुझाएर भुवन रुस पुगेको जानकारी रोजीले पाएकी थिइन्।

भुवनले भिडियो कलमा रोजीलाई दुःखका दिन सकिए भन्दै केही वर्ष पर्खन आग्रह गरेका थिए। रोजी पनि भविष्य सुन्दर बन्ने आसमा दुई छोरासहित घरको काममा जुटिन्। बेलाबेलामा कुराकानी हुन्थ्यो। मंसिर १४ गते बिहान साढे ७ बजेपछि भुवन र रोजीबीच कुराकानी हुन छाड्यो। पति एकाएक सम्पर्कविहीन भए। म्यासेन्जर बन्द भयो। त्यसपछि रोजी चिन्तित हुन थालिन्।

भुवनसँगै कार्यरत गाउँका एकजना साथीले रोजीलाई फोन गरेर उनी युद्धमा मारिएको जानकारी गराएपछि त उनको होसहवास उड्यो। दुई सन्तानकी आमा रोजीले तिनैलाई हेरेर मन बुझाइन्। पतिका बारेमा त्योभन्दा बढी केही खबर नपाएको रोजी बताउँछिन्। उनी भन्छिन्, ‘न शवको अवस्था थाहा भयो न सरकारी तर्फबाट कुनै औपचारिक जानकारी आएको छ।’

उनले गृहमन्त्री रवि लामिछानेसँग पनि भेट गरेर आफ्नो पीडा सुनाएकी छन्। सरकारीतर्फबाट शव पहिचान गरी ल्याउन सक्ने अवस्था नभएको जानकारी पाएपछि रोजीलगायत ४० जना पीडित क्षतिपूर्ति रकम पाउनुपर्ने माग गर्दै भृकुटीमण्डपमा रिले अनशनमा छन्। साथै रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षा हुनुपर्ने माग उनीहरूको छ।

‘२१ महिनाको सानो छोरा लिएर काठमाडौँ आएकी छु। २० दिन भयो, खानेबस्ने टुंगो छैन। चार वर्षका छोरा गाउँमै आफन्तको घरमा छन्’, रोजीले भनिन्। उनले छोरालाई बाबुको निधनबारे केही बताएकी छैनन्। ‘छोराले बाबा भेट्नुभयो भनेर सोधिरहन्छ’, उनले भनिन्, ‘तेरा बाबा रुसमा युक्रेनीसँग लडाइँ हुँदा मारिए रे भनेर कसरी भनूँ? न त भेटिए भन्न सक्छु। म उसलाई के जबाफ दिऊँ?’

पतिको शव नेपाल सरकारले ल्याइदिनुपर्ने उनको माग छ। रोजीले भनिन्, ‘युद्धका क्रममा गोली लागेर मर्नुभयो रे तर शव र क्षतिपूर्ति त चाहियो नि।’ शव नआएका कारण मृत्यु संस्कार र काजकिरिया गर्न नपाएको गुनासो उनको छ। ‘सबैले पतिको काजकिरिया गर भन्छन्। शव नआएसम्म कसरी गर्नु भनेर क्षतिपूर्ति माग गर्न काठमाडौँ आएकी छु’, उनले भनिन्। अन्य पीडित भेटेपछि आन्दोलनका लागि बल मिलेको रोजीको भनाइ छ।

म्याग्दीमा पाँच रोपेनी पाखा बारी जग्गा छ। धेरै अन्न उत्पादन हुँदैन। दुई सन्तानको पालनपोषण कसरी गर्नु भन्ने चिन्ता  रहेको उनी बताउँछिन्।  आफ्ना सन्तानको लालनपालन र शिक्षाका लागि रुस सरकारले क्षतिपूर्ति दिनुपर्ने उनको माग छ। त्यसका लागि नेपाल सरकारबाट पहल हुनुपर्ने पीडितहरूले बताउँदै आएका छन्।

रोजीका अनुसार भुवनले रुस जाँदा गोरखाका एजेन्ट विक्रम राईलाई साढे सात लाख रुपैयाँ बुझाएका रहेछन्। साहुले लोग्ने मर्‍यो भनेर त्यो पैसा छुट नदिनेको उनी बताउँछिन्।

रुसी सेनामा दैनिक नेपाली भर्ना हुने क्रम रोकिएको छैन। सम्पर्कविहीन हुनेको संख्या बढिरहँदा पनि सरकार मुकदर्शक बनेको रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीको आरोप छ। रुसी सेनामा मारिएका व्यक्तिका परिवारले क्षतिपूर्तिबापत ७ मिलियन रुबल (एक करोड चार लाख १९ हजार रुपैयाँ) पाउने व्यवस्था छ।

राजधानीको भृकुटीमण्डपमा अनशन बसेकी रोजी पुन। तस्बिर : हिमाल प्रेस

रुसी सेनामा भर्ती भएर ज्यान गुमाएका नेपालीका परिवारले पनि सोही सुविधा पाउनुपर्ने माग राखिएको भण्डारीले बताइन्। संयोजक भण्डारीका अनुसार यसबारे सरकारसमक्ष पटकपटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएपछि आन्दोलनमा आउनुपरेको हो।

‘अनशनमा ४० जनाभन्दा बढी छौँ। हामीले १३ बुँदे माग राखेका छौँ। यी मागहरू नेपाली सपुतहरूको जीवनरक्षार्थ हो। माग सम्बोधन नहुञ्जेल हामी अनशन तोड्दैनौँ’, उनले भनिन्।

चैत २३ गते भण्डारीसहित रुसी सेनामा भर्ती भएका परिवारका सदस्यले गृहमन्त्री रवि लामिछानेलाई विभिन्न माग राखेर ज्ञापनपत्र बुझाएका थिए। मन्त्री लामिछानेलाई रुसी सेनामा भएका ६२० जना नागरिकको विवरणसमेत उपलब्ध गराएको उनको भनाइ छ।

फितलो सरकारी प्रयास

सरकारले रुसी सेनामा नेपालीलाई भर्ती नगर्न र मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन आग्रह गरे पनि रुसी पक्षबाट हालसम्म त्यसको सुनुवाइ भएको छंन।  चैत ८ गते अर्थमन्त्री वर्षमान पुनले रुसी राजदूत अलेक्सेई ए नोभिकोभसँग भेट गरी रुसी सेनामा भर्ती भएका नेपाली युवालाई स्वदेश फिर्ता गर्न आग्रह गरेका थिए। ती युवा नेपालको परराष्ट्र नीतिविपरीत रुसी सेनामा भर्ती भएको मन्त्री पुनको भनाइ थियो। मन्त्री पुनले  घाइते भएका नेपालीको उपचार गर्न र मृत्यु भएका नेपालीको शव नेपाल फिर्ता ल्याइदिन आग्रह गरेका थिए।

परराष्ट्र मन्त्रालयले गत माघमा  रुसी सेनामा मारिएका परिवारलाई क्षतिपूर्ति र  घाइते सैनिकका लागि उपचार खर्च उपलब्ध गराउन रुसको परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको थियो। रुसले पत्रको जबाफ नदिएको मन्त्रालयको प्रवक्ता अमृतबहादुर राईले बताए।

यसैगरी परराष्ट्रले मंसिर १८ मा ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र गरिएको भए उनीहरूलाई तत्काल नेपाल फर्काउन’ भन्दै रुसलाई कूटनीतिक नोट पठाएको थियो। मन्त्रालयका अनुसार उक्त कूटनीतिक नोटको पनि जबाफ आएको छैन।

रुसी सेनामा १४ हजार नेपाली भर्ती भएको परराष्ट्र मन्त्रालयको अनुमान छ। रुसमा गएर हराएको भन्दै ७ सय ३४ जना आफन्तले कन्सुलर विभागमा आवेदन दिएका छन्।

प्रकाशित: १० वैशाख २०८१ ११:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 15 =