जीवन्तको ‘चरैवेति’ : नेपाली आख्यानमा नयाँ विषय प्रवेश

हिमाल प्रेस ९ वैशाख २०८१ १२:३६
128
SHARES
जीवन्तको ‘चरैवेति’ : नेपाली आख्यानमा नयाँ विषय प्रवेश

काठमाडौँ- जीवन जीवन्तको उपन्यास ‘चरैवेति’ को विषयवस्तु नेपाली साहित्यमै नयाँ रहेको धारणा समीक्षक एवम् आख्यानकारहरूले व्यक्त गरेका छन्। बाइबलको भौतिक सांस्कृतिक पक्षलाई खोतलेर लेखिएको चरैवेति पहिलो उपन्यास रहेको दाबी उनीहरूले गरेका हुन्।

राजधानीमा शनिबार आयोजित पुस्तक लोकार्पण एवम् परिसंवाद कार्यक्रमका सहभागीहरूले धर्मग्रन्थको विषयमा उपन्यास लेखेर जीवन्तले निकै चुनौतीपूर्ण काम गरेको पनि बताए।

अग्रज आख्यानकार नयनराज पाण्डेले भने, ‘नेपाली साहित्यमा नयाँ विषयवस्तुले प्रवेश पाएको छ। लेखकको त्यो प्रयासलाई सम्मान गर्नुपर्छ।’ उनले साहित्यमा भिन्न विषय पढ्न पाउँदा आफूलाई ज्यादै खुसी लागेको बताए। पाण्डेले भने, ‘यसलाई ठूलो उपलब्धि मान्नुपर्छ।’

समीक्षक अशोक थापाले उपन्यासमा धर्मान्तरणको विषयलाई नयाँ तरिकाबाट प्रस्तुत गरिएको बताए। उनले भने, ‘बाइबलको भौतिक सांस्कृतिक पक्षलाई खोतलेर लेखिएको यो पहिलो उपन्यास हो।’ मानिसले के कारणले धर्म परिवर्तन गर्छ भन्ने प्रश्नको उत्तर चरैवेतिमा पाइने थापाले बताए।

धार्मिक, आध्यात्मिक, दार्शनिक विषय बुझेर मानिसले धर्म परिवर्तन गरेका छन् कि? केटाकेटी पढाउनका लागि धर्मान्तरण भएको छ कि? जस्ता प्रश्नमा उपन्यास आधारित रहेको भनाइ उनको छ। ‘साहित्य सिर्जनामा धार्मिक विषयलाई छुनु भनेको ठूलो जोखिम हो। जीवन्तले ठूलो चुनौती मोलेर बाइबलको समाजशास्त्रीय व्याख्या गरेर आख्यानमा प्रवेश गराउनुभयो, त्यो नेपाली आख्यानमा यो नयाँ विषयवस्तु हो।’

धर्म परिवर्तनको मुद्दालाई समाजशास्त्रीय व्याख्या गरिएकाले चरैवेति पढ्नैपर्ने उनको जिकिर छ।

समीक्षक एवम् आख्यानकार सुमन वर्षाले साहित्यिक खोजअनुसन्धानमा सक्रिय जीवन्तबाट उपन्यास लेखिनु आमपाठकका लागि गर्वको विषय भएको बताइन्।

‘एउटा ढुंगा एक ठाउँमा राखिरहँदा लेऊ लाग्छ। त्यो छालसँग घोटिँदा चिल्लो हुन्छ नि। चरैवेति पनि छालसँग जुधेर आएको ढुंगाजस्तै हो’, उनले भनिन्। उपन्यासकारले आफ्नो बौद्धिकतामार्फत पारिवारिक यथार्थलाई मौलिक र कलात्मक बनाएको वर्षाको बुझाइ छ।

उनले भनिन्, ‘पूर्वी नेपालको मिक्लाजुङ, रतुवाखोला, चिसाङ खोला, चुलाचुली, किपटको भूमि व्यवस्था, राई, लिम्बूको बस्ती आदि आञ्चलिकता, सामाजिक व्यवस्था, मान्छेको चेतनास्तर सबै बोलेकाले चरैवेति शक्तिशाली उपन्यास हो।’

महिला पात्रलाई साधनका रूपमा प्रयोग गरिएकोमा उनले आपत्ति जनाइन्। उनले भनिन्, ‘यसलाई म उत्तरआधुनिक आख्यानका रूपमा हेर्छु।’

अर्का समीक्षक हेम भण्डारीले केही वैचारिक विचलन भए पनि उपन्यासले उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे।

उपन्यासकार जीवन्तले केही व्यक्तिगत पारिवारिक जीवनसँग जोडिएका प्रश्नहरू र अहिलेको सामाजिक राजनीतिक विषयसँग सम्बन्धित प्रश्नले आफूलाई उपन्यास लेख्न प्रेरित गरेको बताए। उनले भने, ‘खोजअनुसन्धानमा प्रश्न हुन्छन्। प्रश्नको उत्तरको खोजीका लागि हामी अगाडि बढ्छौँ। अनुसन्धानमा जस्तै आख्यानका विषयमा पनि मेरा त्यस्तै प्रश्नहरू सिर्जना भए। यो तिनै प्रश्नहरूको खोजी उपन्यासमा गरेको छु।’

पेज टर्नरका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सुनपकुवा मावि, मंगलबारे मोरङका प्रेमचन्द्र सापकोटालाई अभिनन्दन गरिएको थियो। पेज टर्नरले प्रकाशित गरेको ‘चरैवेति’ जीवन्तको पहिलो उपन्यास हो। यसअघि उनका विभिन्न समालोचनात्मक कृति प्रकाशित छन्। त्रिवि पाटन संयुक्त क्याम्पसका उपप्राध्यापकसमेत रहेका डा. जीवनकुमार श्रेष्ठको साहित्यिक नाम जीवन जीवन्त हो।

कसले के भने?

नयनराज पाण्डे  :  चरैवेतिलाई सम्मान गर्नै आएको हुँ। पुस्तकमा संरचनाका कुरा हुन्छन्। विषयवस्तुका कुरा हुन्छन्। नेपाली साहित्यमा नयाँ विषयवस्तुले प्रवेश पाएको छ। लेखकको त्यो प्रयासलाई सम्मान गर्नुपर्छ। उहाँलाई सम्मान गर्नका लागि मैले चरैवेतिको टिसर्ट लगाएरै उपस्थित भएको छु। म ज्यादै खुसी छु। साहित्यमा एउटा भिन्न विषय आएको छ। यसलाई ठूलो उपलब्धि मान्नुपर्छ।

आख्यान व्यक्तित्व मात्रै केन्द्रित हुनुपर्नेमा समाचलोनात्मक र अनुसन्धानकर्ता व्यक्तित्वको पाटो पनि उपन्यासमा आएको छ। मिठो भाषाशैलीमा पारिवारिक इतिहास पढेजस्तो पनि छ। उपन्यास भने पाठ्य भाषामा लेखिएको सिनेमा हो। त्यसैले उपन्यास सिनेमा जसरी प्रस्तुत भएको हुनुपर्छ। बहस रुचिकर लाग्यो। धेरै कुरा सिक्न पाइयो। हामीबीच ईर्ष्या  पनि हुनेछ। एकअर्काबीच सिक्ने क्रम पनि सुरु हुनेछ।

अशोक थापा :  रुपमती उपन्यासदेखि अहिलेसम्म आइपुग्दा नेपाली उपन्यासको एउटा लामो परम्परा बसेको छ। हिजोको समय र आजको समय एउटै छैन। हिजोको समाज र आजको समाज एउटै छैन। हिजोको प्रविधि र आजको प्रविधि एउटै छैन। नेपाली उपन्यासले निश्चित निश्चित ठाउँमा निश्चित मोड लिएका छन्। उपन्यास नयाँ हुनुमा दुई कुराले निर्धारण गर्छ- संरचना र विषय। संरचनाका हिसाबले चरैवेति नयाँ उपन्यास होइन। रैखिक हिसाबमा परम्परागत संरचनामा लेखिएको उपन्यास हो।

चरैवेति धर्मान्तरणको विषयलाई नयाँ तरिकाबाट प्रस्तुत गरिएको उपन्यास हो। बाइबलको भौतिक सांस्कृतिक पक्षलाई खोतलेर लेखिएको यो पहिलो उपन्यास हो। धर्म परिवर्तनको एउटा प्रवृत्ति छ। त्यो के कारणले छ? साँच्चै धार्मिक, आध्यात्मिक, दार्शनिक विषय बुझेर मानिसले धर्म परिवर्तन गरेका छन् कि? केटाकेटी पढाउनका लागि धर्मान्तरण भएको छ कि? साँच्चै बुझेर धर्म परिवर्तन गरेका छन् त?

धार्मिक विषयलाई छुनु भनेको ठूलो जोखिम हो। उहाँले ठूलो चुनौती मोलेर बाइबलको धर्मशास्त्रीय होइन समाजशास्त्रीय र भौतिकवादी व्याख्या गरेर आख्यानमा त्यो विषयवस्तु ल्याउनुभयो। बाइबलको भौतिक शास्त्रीय अध्ययन गरिएको नेपाली उपन्यास भएकोले चरैवेति पढ्नुपर्छ।

उपन्यासमा विश्वदृष्टि पहिल्याउने कुरा धेरै जटिल हो। यसले उपन्यासको मात्रै होइन पाठकको पनि परीक्षा लिन्छ। चरैवेतिको शास्त्रीय व्याख्या गरेको भए हामीलाई कठिन हुन्थ्यो। जीवन्तले सामाजिक व्याख्या गरेकाले हामीलाई सजिलो भएको छ। संसार गतिशील छ। केही पनि स्थिर छैन। चलिरहेको छ। मान्छे गतिशील छ। चराचर जगत् पनि गतिशील छ। कुनै पनि विषय स्थिर छैन। त्यसैले यसभित्र सन्तुष्ट भएर बस्ने होइन, बस्दै फेरि उठ्दै लड्दै फेरि उठ्दै विभिन्न ठाउँमा गए पनि अगाडि बढ्ने हो। जसरी साइकललाई एक ठाउँमा राख्दा पल्टिन्छ तर चलायो भने गतिशील हुन्छ। यो उपन्यासको जीवन दृष्टि भनेको जीवनमा अभाव छ, पीडा छ, मोहभंग छ तापनि अगाडि हिँड्नुको विकल्प छैन।

ठाउँठाउँमा समालोचकीय प्रभाव पाइन्छ। कतैकतै समालोचक आफैँ घुसेका छन्। पात्रलाई स्वतस्फूर्त भनेको भए अझै उत्कृष्ट हुने थियो। सामान्य पात्रमा प्राध्यापकको भाषा आएको छ।

नेपालमा इसाईको प्रभाव भनेको हिन्दु धर्मभित्रको जातीय छुवाछुत हो। अर्को कारण आर्थिक कारण हो। धर्मान्तर किन हुन्छ? यसको सामाजिक, आर्थिक र दार्शनिक पक्ष के हो? यथार्थलाई बाहिर ल्याएको छ यो उपन्यासले यसको शक्ति यही हो। मान्छेहरू बाइबलको दर्शन बुझेर इसाईमा लागेका छन् कि दैनिकी चलाउन धर्म परिवर्तन गरिरहेका छन्? यो कुरालाई उपन्यासले नढाँटीकन भनेको छ।

सुमन वर्षा :  उपन्यासकार आफैँ साहित्यिक खोज अनुसन्धानमा सक्रिय हुनुहुन्छ। उहाँले लेखेको उपन्यास पाठकमा आउनु पाठकका लागि गर्वको विषय हो। उहाँलाई उपन्यासमा के के चाहिन्छ भन्ने थाहा छ। त्यो सबै कुरा थाहा पाएपछि आएको उपन्यास विशेष महत्त्वको हुन्छ। एउटा ढुंगा पनि एक ठाउँमा राखिरहँदा लेऊ लाग्छ। त्यो छालसँग घोटिँदा चिल्लो हुन्छ नि। चरैवेति पनि छालसँग जुधेर आएको ढुंगाजस्तै हो। उपन्यासकारले पारिवारिक यथार्थलाई बौद्धिकतामार्फतमौलिक र कलात्मक बनाउनुभएको छ।

पूर्वी नेपालको मिक्लाजुङ, रतुवाखोला, चिसाङ खोला, चुलाचुली, किपटको भूमि व्यवस्था, राई, लिम्बूको बस्ती आदि ठाउँ निकै सान्दर्भिक छन्। उपन्यासमा आञ्चलिकता पाइन्छ। जब मानिसले गर्दै आएको विश्वास गुम्छ अनि घाइते हुन्छ। भर्खरैका दुई छोरी गुमाउँदाको पीडा म पात्रले सहन नसक्दा आफूले पूजा गरिरहेको देउतालाई मान्न छोड्छ। बसाइँ सरेको छ। झोडा फाँडेर नयाँ बस्तीको सिर्जना गरेको छ। त्यस क्रममा उसले एउटा अदृश्य शक्तिलाई सम्झेको छ।

उपन्यासले आञ्चलिकता, सामाजिक व्यवस्था, मान्छेको चेतनास्तर सबै बोलेको छ, त्यसैले यो शक्तिशाली उपन्यास हो। महिला पात्रलाई साधनका रूपमा प्रयोग गरिएको छ। बाबुछोराले एकै महिला पात्रलाई साधनका रूपमा प्रयोग गरेका छन्। बहिनीलाई तिहारमा मात्रै सम्झिएको छ। आमाको भूमिका दिइएको छैन। उपन्यास सिनेमा हेरेको जस्तो हुनुपर्छ। कुनै पनि पात्रलाई दृश्यमा उतारिएको छैन। पहिरन, कद, अग्लो, होचो, कपालको स्टाइल कस्तो? यस्ता विषय खड्किएका छन्।

यसलाई म उत्तरआधुनिक आख्यानका रूपमा हेर्छु। म पात्र आफूले मानिरहेको धर्मलाई त्यागेर अर्को धर्म अपनाउँछ, आफ्नो धर्मप्रति त्यो पात्रको विश्वास हराउँछ। ज्ञानको दायरा बढाउँदै लगेर त्यो पात्रले हरेक कुरा विश्लेषण र तुलना गर्न थाल्छन्। सबै धर्म त्यागेर स्वधर्म लाग्न खोज्छन्। त्यो उत्तरआधुनिकवादी प्रवृत्ति हो।

जीवन जीवन्त : म आख्यानको दुनियाँमा भर्खरै चियाउने प्रयास गर्दैछु। हामीले समालोचनाको परिभाषा परिवर्तन गर्नुपर्छ कि जस्तो लाग्छ। हामी समालोचकभन्दा पनि शोधअनुसन्धानकर्ता हौँ। समालोचना गर्दाखेरि कुनै कृतिका राम्रा नराम्रा पक्षको खोज्ने र खुट्याउने काम गरिन्छ। हामी त्यो भन्दा पनि सामाजिक सांस्कृतिक ऐतिहासिक सन्दर्भहरूलाई साहित्यिक रचनाका माध्यमबाट खोज्ने काम गरिरहेका छौँ।

खोजअनुसन्धानमा प्रश्न हुन्छन्। प्रश्नको उत्तरको खोजीका लागि हामी अगाडि बढ्छौँ। रूखबाट स्याउ किन खस्यो भन्ने प्रश्नले नै न्युटनलाई खोजीमा प्रवृत्त गरायो। गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लाग्यो। अनुसन्धानमा जस्तै आख्यानका विषयमा पनि मेरा त्यस्तै प्रश्नहरू सिर्जना भए। यो तिनै प्रश्नहरूको खोजीका लागि आख्यानमा आएको हुँ। कुनै चर्चा कमाउनका लागि होइन।

सफलता र असफलताको मापन मलाई विरोधाभासजस्तै लाग्छ। साहित्यिक रचना लहडका लागि लेखिँदैन। जिज्ञासा समाधानका लागि लेखिएको विषय उपलब्धिमूलक हुन्छ। म केही प्रश्नको समाधानका लागि नै आख्यान क्षेत्रमा आएको हुँ। चर्चा कमाउनका लागि होइन। यसै पनि म पछाडि नै बस्न रुचाउने गर्छु।

कवितालाई कविताका रूपमा मात्रै बुझ्नुभएन। उपन्यास भनेको यो समयको दस्ताबेज हो। उपन्यासमा त्यो समयको यथार्थ आउनुपर्छ। यस्ता खालका साहित्यिक कृतिहरूले त्यो समयका समस्याहरू उठाएर समाधानको खोजी पनि गर्नुपर्छ।

धर्मान्तरणकै विषय गम्भीर विषय हो। यो हामीले उठाउनैपर्ने विषय हो। मेरा केही व्यक्तिगत पारिवारिक जीवनसँग जोडिएका प्रश्नहरू र अहिलेको सामाजिक राजनीतिक विषयसँग जोडिएका सन्दर्भहरू छन्। यसमा केही पारिवारिक कथाहरू पनि छन्। मेरा हजुरबा क्रिस्चियन हुनुहुन्थ्यो। दसैँमा हामीलाई टीका लगाइदिनुहुन्थ्यो। हामी केटाकेटी हुँदा हामीसँग देउसी खेल्नुहुन्थ्यो। बाल्यकालमा मैले त्यसरी सोचेको थिइनँ।

बुझ्ने भएपछि इसाईहरूको व्यवहार थाहा पाएँ। उनीहरू त दसैँतिहार नै मान्दा रहेनछन्। मेरा हजुरबाले चाहिँ किन त्यसो गर्नुभयो त? हजुरबा आफूमात्रै क्रिस्चियन हुनुहुन्थ्यो। हजुरआमा, काकाहरू कोही क्रिस्चियन थिएनन्। बनाउनु भएन। मेरा अन्य धेरै आफन्त इसाई छन्। हजुरबाले मरेपछि शव जे गरे पनि हुन्छ भन्नुहुन्थ्यो। उहाँले किन यस्तो गर्नुभयो भन्ने प्रश्न मेरो मनमा रहिरह्यो। हामी आदिवासी जनजातिको पहिचान हराएको आफ्नै कारणले हो। केही जनजाति बस्तीहरूमा इसाईको प्रभावले मौलिक परम्परा हराएको छ। अनि कसरी हुन्छ पहिचान कायम हुन्छ? धर्मग्रन्थ बुझेर होइन, अन्य कारणले इसाईकरण बढ्दै छ, त्यही कुरालाई मैले यथार्थ रूपमा राखेको छु।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =