इरानमाथि इजरायलको क्षेप्यास्त्र आक्रमण, बढ्यो तेल र सुनको मूल्य

हिमाल प्रेस ७ वैशाख २०८१ १०:३७
30
SHARES
इरानमाथि इजरायलको क्षेप्यास्त्र आक्रमण, बढ्यो तेल र सुनको मूल्य मध्यइरानको इस्फहान प्रान्तस्थित एक भाग। तस्बिर साभार : बीबीसी

काठमाडौँ- इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ। अमेरिकी अधिकारीहरूलाई उधृत गर्दै बीबीसीले जनाएअनुसार इरानी सरकारी सञ्चारमाध्यमले मध्यइरानको इस्फहान प्रान्तस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै विस्फोटन सुनिएको उल्लेख गरेका छन्। इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार यसपछि कैयौँ सहरमा हवाई उडान रद्द गरिएको छ।

गत शनिबार राति इरानले इजरायलमाथि ३०० वटाभन्दा बढी ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो। इजरायलले उक्त आक्रमणको जबाफ दिने बताएको थियो। इस्फहान इरानको राजधानी तेहरानभन्दा झन्डै ३५० किलोमिटर दक्षिणमा पर्छ। बीबीसीका अनुसार इस्फहान कैयौँ परमाणु केन्द्र र एउटा मुख्य सैन्य आधार भएको सहर हो। इरानको सरकारी सञ्चारमाध्यम आईआरआईबीले परमाणु केन्द्रहरू पूर्ण रूपमा सुरक्षित रहेको उल्लेख गरेको छ।

दक्षिणी सिरियामा रेडार केन्द्रहरूलाई निसाना बनाएको देखिने गरी विस्फोटन भएको विवरण आएको बीबीसीको समाचारमा उल्लेख छ।

अप्रिल १ मा सिरियास्थित एउटा इरानी कूटनीतिक नियोगमा घातक हवाई आक्रमण भएको थियो। त्यसमा एक सैन्य कमान्डरसहित केही इरानी अधिकारीको मृत्यु भएको थियो। इरानले उक्त आक्रमण इजरायलले गराएको आरोप लगाउँदै त्यसको प्रतिशोध लिने उद्घोष गरेको थियो। इजरायले उक्त घटनामा संलग्नताबारे केही बताएको थिएन।

अमेरिकी अधिकारीहरूले इरानमा इजरायली क्षेप्यास्त्र प्रहार भएको बताएपछि विश्वबजारमा खनिज तेल र सुनको मूल्य बढेको छ। शुक्रबार बिहान एसियामा ‘ब्रेन्ट’ कच्चा तेलको मूल्य तीन प्रतिशतले बढेर प्रतिब्यारल ९० अमेरिकी डलर पुगेको छ भने सुनको मूल्य प्रतिआउन्स (झन्डै २८.३५ ग्राम) को २,४०० डलर पुगेको छ। सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक भएको हो। इरान खनिज तेलको सातौँ ठूलो उत्पादक हो।

क्षेत्रीय युद्धको डिलमा खाडी

प्रकाशित: ७ वैशाख २०८१ १०:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =