क्षेत्रीय युद्धको डिलमा खाडी

हिमाल प्रेस २ वैशाख २०८१ १३:४८
72
SHARES
क्षेत्रीय युद्धको डिलमा खाडी इरानबाट प्रहार गरिएको मिसाइल रोक्न इजरायलको ‘एयर डिफेन्स सिस्टम’ ले आइतबार प्रक्षेपण गरेको आइरन डोम। तस्बिर : एपी/रासस

महिनौँदेखि के भनिँदै आइएको थियो भने गाजामा जारी इजरायली आक्रमणले क्षेत्रीय युद्धको रूप लिन सक्छ। अन्ततः यो डर वास्तविकताको नजिक पुगेको छ। यसको कारण हो, शनिबार राति इरानले गरेको ड्रोन आक्रमण। इरानले इजरायलतर्फ ड्रोन मात्र होइन क्षेप्यास्त्र पनि प्रहार गरेको छ।

अप्रिल १ मा लेबनानी राजधानी दमास्कसस्थित इरानी दूतावास परिसरमा आक्रमण भएको थियो। आक्रमणमा परेर सात इरानीले ज्यान गुमाएका थिए। जसमा एक जनरल पनि थिए। इरानले त्यही आक्रमणको जबाफ शनिबार राति ड्रोन र क्षेप्यास्त्र प्रहार गरेर दिएको बताइँदैछ। उसो त त्यसबेलै इरानका सर्वोच्च नेता अली खामेनीले भनेका थिए, ‘यो आक्रमण गरेबापत इजरायलले ठूलो मूल्य चुकाउनुपर्नेछ।’

शनिबार नै इरानी सुरक्षा दस्ताले होर्मुजमा एउटा पानीजहाज नियन्त्रणमा लिएको थियो। इजरायलसँग सम्बन्धित भएकाले जहाज कब्जा गरिएको इरानी भनाइ थियो। ड्रोन आक्रमण भने जहाज कब्जामा लिनुभन्दा ठूलो कदम हो। हुन त इजरायलमाथि आक्रमणको धम्की इरानले पहिल्यैबाट दिँदै आएको हो। यद्यपि आफ्नो भूमिबाट सीधा धावा बोलेको घटना भने यो पहिलो पटक हो।

इरानको ड्रोन र क्षेप्यास्त्र आक्रमण इजरायलले सामना गर्न नसक्ने खालको छैन। यो महत्त्वपूर्ण कुरा होइन। महत्त्वपूर्ण त इजरायलले इरानी आक्रमणको जबाफ कसरी दिन्छ भन्ने हो। इजरायल प्रत्यक्ष युद्धमा होमियो भने सिंगो खाडी र अमेरिकाको भूमिका के रहला? सर्वाधिक चासोको विषय विषय हो यो।

आइतबार बिहान इरानी ड्रोन र क्षेप्यास्त्रलाई आकाशमै नष्ट गरिँदै गरेको खबर आइरहेका थिए। इजरायली स्रोतका अनुसार करिब एक सय ड्रोन इरानी भूमिबाट इजरायलतर्फ उडाइएको थियो। तीमध्ये अधिकांश ड्रोन साहिद हुन्। साहिद इरानले बनाएको सस्तो ड्रोन हो, जसले ५० केजीसम्म विस्फोटक पदार्थ बोकेर उड्न सक्छ। यसको गति भने करिब दुई सय किलोमिटर प्रतिघण्टा रहेको बताइन्छ।

घण्टौँ लगाएर इजरायल पुग्ने साहिद उडाएको इरानले हिज्जबुल्लाहलाई लेबनान र यमनबाट हुथीलाई इजरायलतिर क्षेप्यास्त्र प्रहार गर्न लगाइरहेको छ। तत्कालीन स्थितिको आकलन गरेर इराक, जोर्डन र लेबनानले आआफ्नो ‘एयरस्पेस’ बन्द गरेका छन्। सँगैको कुवेतले पनि वायुसेवाका उडान फरक रुटमा प्रयोग गर्न भनेको छ।

इजरायलको पहिलो प्राथमिकता बढीभन्दा बढी इरानी ड्रोन आकाशमै नष्ट गर्नु देखिन्छ। ड्रोनसँगै क्षेप्यास्त्र पनि भुइँमा झर्न नदिन इजरायल लागिपरेको छ। इजरायलका लागि हालको आक्रमण छक्क पार्ने खालको होइन। यस्तो आक्रमण हुनसक्छ भनेर इजरायल हरदम तयार भएर बसेको हुन्छ।  ‘मिसाइल डिफेन्स सिस्टम’ को तैनाथी यही तयारीको प्रमाण हो।

इरानी ड्रोन आफूतर्फ आउन थालेको थाहा पाउनेबित्तिकै इजरायलले वायु सेनाका जहाज परिचालन गरेको थियो। इजरायली वायु सेनाका जहाज उड्न सुरु गर्दा जोर्डनले आफ्नो आकाश भएर कुनै पनि ड्रोन उडे त्यसलाई खसाल्न तयार रहेको जनाउ दिइरहेको थियो। त्यहीबीचमा अमेरिकी भनाइ आयो, इरानी ड्रोनलाई निस्तेज पार्न इजरायललाई पूर्ण साथ रहन्छ। बेलायतले पनि इजरायलको सुरक्षाका लागि वायु सेनाका जहाज खटाएको छ।

इरान कम्तीमा तीनतिरबाट ड्रोन आक्रमण गरेर इजरायललाई अन्योलमा पार्ने रणनीतिमा रहेको अमेरिकी बुझाइ छ। यद्यपि जेजस्तो रणनीति लिए पनि इरान सफल हुने सम्भावना न्यून छ। यसकारण प्रारम्भिक इरानी आक्रमणको क्षति खासै ठूलो नहुने आकलन पनि पश्चिमाले गरेका छन्।

हमासले अक्टोबर ७ मा गरेको आक्रमणका कारण इजरायल त्यसै पनि नयाँ चरणको सम्भावित खतराबाट बेखबर थिएन। हाल इजरायली अस्पताल घाइतेको उपचारका लागि तयारी अवस्थामा छन् भने विद्यालय बन्द छन्। पर्वका कारण बन्द भएका भए पनि सम्भावित युद्धका कारण विद्यालय अझ केही दिन नखोल्न निर्देशन दिइएको छ।

इरानी आक्रमणले भौतिक क्षति कम गराउने भए पनि असर भने दीर्घकालीन हुनेछ। दमास्कस आक्रमणपछि इजरायलले सोचेको थियो, इरानले जबाफी कदम चाले पनि आफ्नो फौज प्रयोग गरेर गरिहाल्दैन। तर यस्तो अनुमान गलत साबित हुने बाटोमा छ।

एकथरी यसो पनि भनिरहेका छन्, इरानको मनसाय पूर्णयुद्ध होइन। इरानी सरकार केवल आफ्ना समर्थकलाई देखाउन चाहन्छ, दुस्मनमाथि जाई लाग्न हामी डराउँदैनन्। दूतावासमाथि आक्रमण भएपछि इरान जबाफी आक्रमणको दबाबमा थियो। आक्रमण कसरी गर्ने भन्ने निर्णय लिन इरानलाई दुई साता लाग्यो। सिरिया र लबेनानमा आफ्ना कूटनीतिज्ञमाथि इजरायलले लगातार आक्रमण गरिरहेपछि इज्जत जोगाउन भए पनि इरानले केही न केही गर्नैपर्ने स्थिति थियो। भलै इजरायलमाथि सीधा आक्रमण गर्न नहुने राय इरानी संस्थापन शक्तिभित्र नभएको होइन।

इरानी सरकारले त होइन, संयुक्त राष्ट्रसंघस्थित इरानी नियोगले इजरायलविरुद्धको जबाफी कारबाही अहिलेका लागि यत्ति भएको बताएको छ।

उता इजरायलका लागि इरानबाट भएको सीधा आक्रमण असह्य हो। किनभने इजरायली समाजमा इरानलाई लिएर नकारात्मक भावना व्याप्त छ। यस्तोमा इजरायली समाजमा इरानमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने माग स्वतः उठिहाल्छ। इरानबाट ड्रोन उड्नुअघि नै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टेलिभिजन सम्बोधनमा भनेका थिए, ‘जसले इजरायलमाथि क्षति पुर्‍याउँछ, हामी पनि त्यत्ति नै क्षति पुर्‍याउँछौँ।’

इजरायलले इरानी आक्रमणको जबाफ दिइने बताइसकेको छ। यो सन्देश उसले अमेरिका र समग्र पश्चिमा जगतलाई दिइएको हो। यस्तोमा प्रश्न उठ्न सक्छ, अब इजरायलले कसरी जबाफ दिन्छ? इजरायलसँग भएका विकल्प हो, वायु सेनाले इरानी आकाशमै पुगेरै आक्रमण गर्ने। आक्रमणको केन्द्रबिन्दु इरानी सेनाको शिविर वा आणविक भट्टी हुन सक्छन्। इजरायलले आफ्नो जल सेनाको जहाजबाट इरानतर्फ क्षेप्यास्त्र प्रहार गर्ने योजना भने नबनाएको हुनसक्छ। किनभने यो इजरायलसँग भएको अन्तिम उपाय हो।

गाजामा युद्ध नरोकिएपछि पछिल्लो समय इजरायली प्रधानमन्त्री नेतान्याहु र अमेरिकी राष्ट्रपति बाइडनबीच दुरी बढेको थियो। नेतान्याहुको आलोचना गरे पनि बाइडन इजरायलको पक्षमा उभिन भने छाडेका छैनन्। तब त उनले इरानलाई इजरायलमाथि आक्रमण गर्नेबारे नसोच्न चेतावनी दिएका थिए। ‘हामी इजरायलको रक्षाका लागि प्रतिबद्ध छौँ,’ गत अप्रिल १२ मा बाइडनले भनेका थिए। इजरायललाई सम्भावित ठूलो आक्रमणबाट जोगाउन अमेरिकाले वायु सेना, जल सेना र एन्टी मिसाइल डिफेन्स सिस्टम नै तैनाथ गरेको अवस्था छ।

बाइडन घरेलु समस्यामा अल्झिएका छन्। अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिँकिदो छ। अमेरिकी बजारमा तेल र ग्यासको भाउ बढिरहेको छ, जसकारण बाइडन स्वतः दबाबमा छन्।

अब इरानी आक्रमणका कारण तेल र ग्यासको भाउ झनै बढ्न सक्छ। होर्मुजमा इरानी पकड र हुथी विद्रोहीका कारण असहज बनेको रेड सी तेल र ग्यास एसियातर्फ पठाउने महत्त्वपूर्ण बाटा हुन्। इरान र हुथीलाई तह लगाएर विश्व बजारमा तेल र ग्यासको सहज आपूर्ति गराउन भूमिका खेल्न नसकेको भन्दै बाइडन विपक्षीद्वारा आलोचित हुँदै आइरहेका छन्। यद्यपि इजरायलमाथिको आक्रमणले अमेरिकी घरेलु राजनीति एक ठाउँमा उभिएको छ।

यदि अमेरिका र इजरायल मिलेर इरानविरुद्ध युद्धमा जाने हो भने स्थिति भयावह हुनसक्छ। युद्ध जसले जिते पनि यसको मूल्य महँगो हुनेछ र यसको भागीदार हरेक पक्ष हुनेछन्। यसकारण अहिलेको स्थिति बिग्रन नदिनुमै सबैको भलाइ छ। इरानले थप आक्रमण नगर्ने, इजरायलले जबाफी आक्रमण नगर्ने हो भने स्थिति साम्य हुनसक्छ।

ड्रोन आक्रमणका कारण इरानी सरकारको नागरिकसामु इज्जत जोगिने, जबाफी आक्रमण नगरेपछि इजरायल अर्को युद्धमा नफस्ने र निर्वाचनको मुखमा अमेरिका अर्को अन्तर्राष्ट्रिय समस्यामा नफस्ने परिस्थिति हुनसक्छ। तर यसो भनिरहँदा स्थिति कुनै बेला पनि पल्टिन सक्छ। किनभने खाडीमा युद्धको आगो सल्किइसकेको छ। (दी इकोनमिस्टमा प्रकाशित सामाग्रीलाई आधार बनाएर तयार गरिएको )

प्रकाशित: २ वैशाख २०८१ १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =