काठमाडौँ- दिल्लीको साकेत अदालतले चर्चित भारतीय युट्युबर धु्रव राठीविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ।
सन् २०१८ को मानहानीसम्बन्धी मुद्दामा अदालतले धरौटीयोग्य पक्राउ पुर्जी जारी गरेको हो।
राठीलाई पूर्वसूचना तामेल गराउन प्रयास गर्दा उनको सम्बन्धीत घर बन्द फेला परेपछि अदालतले पक्राउ पुर्जी जारी गरेको बताइएको छ।
यो मुद्दा विकास सांकृत्यायनले राठीविरूद्ध दायर गरेको उजुरीसँग सम्बन्धित छ। उजुरीकर्ता सांकृत्यायनले राठीले ‘बीजेपी आईटी सेल पार्ट-२’ शीर्षकको भिडियोमार्फत आफूविरुद्ध झुटा र भ्रामक आरोप लगाएर सामाजिक प्रतिष्ठामा अघात पुर्याएको दाबी गरेका छन्।
मुद्दाको सुनुवाइ आगामी नोभेम्बर २० का लागि तय गरिएको थियो। तर, उजुरीकर्ताले प्रक्रियालाई अगाडि बढाउन माग गर्दै निवेदन दिएका थिए। अदालतले यस मुद्दाको सुनुवाई अक्टोबर ३१ का लागि तोकेको छ।




