दलमा आबद्ध शिक्षकमाथि कारबाही प्रक्रिया : के होला महासंघ अध्यक्ष तुलाधरको पद?

हिमाल प्रेस ६ वैशाख २०८१ १६:२२
1.7k
SHARES
दलमा आबद्ध शिक्षकमाथि कारबाही प्रक्रिया : के होला महासंघ अध्यक्ष तुलाधरको पद?

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकहरूमाथि कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि दलको नेतृत्वमा रहेका शिक्षकहरूको पद के होला भन्ने चासो उत्पन्न भएको छ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीसँग १४ वटा संघसंगठन सक्रिय छन्। ती संगठनमा आबद्ध शिक्षक नेताहरू प्रायः कुनै न कुनै दलमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न छन्।

यी सबै संस्थाको छाता संस्था हो नेपाल शिक्षक महासंघ। महासंघ अध्यक्ष कमला तुलाधर आफैँ एमाले केन्द्रीय सदस्य हुन्। उनी साउन २७ मा एमालेमा प्रवेश गरेकी थिइन्।

तुलाधर त्यसअघि नेकपा एकीकृत समाजवादीकी वैकल्पिक केन्द्रीय सदस्य थिइन्। शिक्षामन्त्रीले शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा १६ को उपदफा (५) को खण्ड (छ) मा रहेको ‘शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाइने’ व्यवस्थामा टेकेर राजनीतिक दलमा आबद्ध शिक्षकहरूमाथि कारबाही गर्ने प्रक्रिया अघि बढाएकी छन्।

मन्त्री श्रेष्ठले यसबारेमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग पनि परामर्श गरेकी छन्। दलमा आबद्ध शिक्षकहरूमाथि कारबाही गर्ने मन्त्रालयको तयारीपछि नेपाल शिक्षक महासंघ रुष्ट भएको छ। महासंघले मंगलबार विज्ञप्ति प्रकाशित गरी मन्त्रीलाई आफ्नो पदीय गरिमा कायम राख्न अनुरोध गरेको हो।

महासंघकी अध्यक्ष तुलाधर दलमा सक्रिय शिक्षकमाथि कारबाही गर्ने प्रक्रिया अघि बढाएर शिक्षामन्त्री श्रेष्ठले आफ्नो कर्तव्य निर्वाह गरेको बताउँछिन्।

ऐनले दलको कार्यकारिणी पदमा मात्रै नबस्नु भनेको पनि उनले स्पष्ट पारिन्। उनले भनिन्, ‘संविधान, ऐनकानुनमा त्यस्तो केही लेखिएको छैन। कार्यकारिणी पदमा मात्रै नबस्नु भन्ने व्यवस्था हो। सरकार ऐनकानुन नै परिवर्तन गरेर अघि बढ्न पनि सक्छ। त्यसमा हाम्रो के लाग्छ र?’

शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम १४१ मा दलको सदस्य भएमा र दलको क्रियाकलापमा हिँडेको भेटिएमा आवश्यकताअनुसार निलम्बन गर्न सकिने वा अन्य कारबाही गर्न सकिने व्यवस्था छ।

शिक्षा मन्त्रालयले दल र तिनका क्रियाकलापमा संलग्न शिक्षकमाथि कारबाही चलाउने नीतिगत निर्णय लिएको छ। दलको समितिमा रहेका शिक्षक भेटिए तुरुन्तै बर्खास्त गर्न मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्राचार गरेको छ।

अध्यक्ष तुलाधर काठमाडाैँकाे रामकाेटमा रहेकाे रत्नराज्य माविमा पढाउँछिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =