त्रासमा इजरायलका नेपाली, दूतावास भन्छ : सबै सुरक्षित छन्

हिमाल प्रेस ३ वैशाख २०८१ १५:१७
56
SHARES
त्रासमा इजरायलका नेपाली, दूतावास भन्छ : सबै सुरक्षित छन् इरानबाट प्रहार गरिएको मिसाइल रोक्न इजरायलको ‘एयर डिफेन्स सिस्टम’ ले आइतबार प्रक्षेपण गरेको आइरन डोम। तस्बिर : एपी/रासस

काठमाडौँ-  इजरायली भूमिमा इरानले ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेपछि त्यहाँ रहेका नेपाल त्रसित भएका छन्। इरानले शनिबार राति इजरायलमा आक्रमण गरेको थियो। थप आक्रमण हुने सक्ने  चिन्ता व्यक्त गर्दै त्यहाँका नेपालीले आफूहरू त्रासमा रहेको बताएका हुन्।

इजरायलस्थित नेपाली दूतावासले भने इजरायलमा रहेका ९० प्रतिशत नेपाली सुरक्षित स्थानमा रहेको स्पष्ट पारेको छ। दूतावासले त्यहाँ रहेका नेपालीलाई सजग रहन पनि अपिल गरेको छ।

इजरायलको तेलअभिभमा कार्यरत धनकुटाका जीवन राईले ड्रोन र क्षेप्यास्त्र आक्रमणमा परिने हो भन्ने चिन्तामा रहेको बताए। इजरायलमा आक्रमणको सम्भावना भएपछि साइरन बज्छ। ‘साइरन बज्नासाथ हामी बंकरभित्र पस्छौँ। हामीलाई त बंकरभित्र बस्ने बानी भइसक्यो’, राईले भने। उनले गत अक्टोबर ७ मा हमासले आक्रमण गर्दा पनि आफूहरू बंकरभित्र सुरक्षित बसेको बताए।

जेरुसेलम मोहिनमा कार्यरत पोखराका विक्रम गुरुङका अनुसार हमास विद्रोहीले गरेको आक्रमणजस्तो शनिबार रातिको आक्रमण घातक थिएन। ‘होटलमा काम गरिरहेको थिएँ। राति एक्कासि साइरन बज्यो। ग्राहकसहित सबैजना कुदेर बंकरमा पस्यौँ। त्यति बेला त बाँचिएला जस्तो लागेको थिएन। सबै जना बैंकरमै चिच्याइरहेका थिए’, उनले भने।

इजरायली सेनाले रेडियोबाट इरानको आक्रमण असफल भएको सूचना दिएपछि सबैजना ढुक्क भएको उनको भनाइ छ। इजरायल नेपाली समाजका संयोजकसमेत रहेका गुरुङले नेपाली सबै सुरक्षित रहेको खबर पाएको जानकारी दिए।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले इजरायलमा रहेका नेपाली सुरक्षित रहेको बताए। उनले भने, ‘इजरायलमा रहेका नेपाली सुरक्षित रहेको सूचना इजरायलस्थित नेपाली दूतावासले दिएको छ। हामी दूतावाससँग निरन्तर सम्पर्कमा छौँ।’

इजरायलस्थित नेपाली दूतावासले पनि इजरायलमा रहेका नेपालीलाई इरानी आक्रमणले कुनै असर नपरेको स्पष्ट पारेको छ। दूतावासले विज्ञप्ति जारी गर्दै नेपाली सुरक्षित रहेको जानकारी गराएको हो।

इजरायलमा हाल ५ हजार नेपाली ‘केयरगिभर’कारूपमा कार्यरत छन्। केही महिनाअघि कृषि क्षेत्रमा विदेशी कामदार खुला गरिएपछि थप नेपाली भारतीय बाटोबाट त्यहाँ पुगेका छन्।

इरानले गरेको ड्रोन आक्रमणलाई इजरायलको हवाई रक्षा प्रणाली ‘आइरन डोम’मार्फत इजरायली सिमाना बाहिर नै ९९ प्रतिशत विफल गराएको बीबीसीले जनाएको छ।

इजरायलमा रहेका नेपालीलाई नेपाली दूतावासले पनि आवश्यक सुरक्षाका लागि स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, सुरक्षामा विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन आग्रह गरेको छ।

अक्टोबर ७ मा हमास विद्रोहीले आक्रमण गर्दा इजरायलमा करिब १४ सय मारिएका थिए। जसमा १० नेपाली विद्यार्थी थिए। एकजना नेपाली विपिन जोशी हमास विद्रोहीको कब्जामा छन्। हमासको आक्रमणपछि २ सय ५० जनाभन्दा बढीलाई सरकारले उद्धार गरी स्वदेश फर्काएको थियो।

प्रकाशित: ३ वैशाख २०८१ १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =