कूटनीति क्षेत्रमा बिर्सनलायक वर्ष २०८०

हिमाल प्रेस ३० चैत २०८० १२:०९
14
SHARES
कूटनीति क्षेत्रमा बिर्सनलायक वर्ष २०८० नारायणकाजी श्रेष्ठ, पुष्पकमल दाहाल र एनपी साउद।

काठमाडौँ- कूटनीतिक सम्बन्ध कायम भएका मुलुकसँग नेपालको खासै राम्रो उपस्थिति रहेन। राजनीतिक अस्थिरताको असर कूटनीतिमा पनि पर्‍यो। नेपालले न चीन, न भारत न त अमेरिकाको विश्वास जित्न सकेको छ।

चीनले आफ्नो भूभाग समेट्दै नक्सा जारी गर्दा नेपालको चुच्चे नक्सालाई उल्लेख नगरेको विषय यस वर्ष नेपालसहित दक्षिण पूर्वी एसिया क्षेत्रमा चासोको विषय बन्यो। नेपालले कूटनीतिक नोट लेखे पनि चीनले वास्ता गरेको देखिएन।

वर्षको सुरु अर्थात् वैशाख ३ गते परराष्ट्रमन्त्री नियुक्त भएका एनपी साउदले आफ्नो कार्यकालमा उपलब्धिमूलक कुनै पनि काम गरेनन्। उनी दर्जन बढी मुलुकमा पुगे। भारत रिसाउँछ भन्दै भारतको नाम लिएर कर्मचारीलाई तर्साउने काम गरे। मन्त्रालयलाई एउटा गुमेको वर्षका रूपमा सीमित राखेर उनी बाहिरिए। साउदले न रुसमा रहेका नेपाली फर्काउने पहल गर्न सके, न चीनले नेपालको चुच्चे नक्सालाई बेवास्ता गरेको विषय उठान गर्न सके। न त हमासको नियन्त्रणमा रहेका जोशीलाई छुटाउन पहल गरे। इजरायलीले जम्मा गरिदिएको नेपालीलाई त्यहाँ पुगेर प्लेन चढाएर ल्याएको विषयलाई भने साउदले कार्यकालको उपलब्धिका रूपमा लिए।

साथै उनले बंगलादेश पुग्दा विश्व स्वास्थ्य संगठनमा नेपाली उम्मेदवारका पक्षमा लबिङ गरेनन्। उल्टै अनेक आरोप लगाएर बसे। किनभने उनलाई हसिनाले आफ्नो छोरी उम्मेदवार बनेको जानकारी बेलायतमा दिएकी थिइन्। साउद खाडी मुलुक र युरोप कतै नबिराई दौडे। अमेरिका पनि पुगे। त्यसअघि अयोग्य भनेर राष्ट्रसंघमा नपठाएका परराष्ट्र सचिवलाई साउदले नै क्यानडा पठाउन लबिङ गरे। आवश्यक नै नभएको पोर्चुगलमा दूतावास स्थापना गरे। साउदपछि आएका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि राम्रो संकेत देखाएनन्। नियुक्त भएलगत्तै चीनको नौदिने भ्रमण गरेर श्रेष्ठ कूटनीतिक क्षेत्रमा आलोचित बने।

दक्षिण एसियाली मुलुकहरू भारत र पाकिस्तान विवादको प्रभावमा छन्। सार्क शिखर सम्मेलन हुने संकेत देखिएको छैन। सन् २०१६ का लागि तय भएको शिखर सम्मेलन अन्तिम समयमा स्थगन भएको थियो। नेपाल लगातार १० वर्ष सार्कको अध्यक्ष भइसकेको छ। सार्क स्थापनामा लामो समय शिखर सम्मेलन नभएको यो पहिलो घटना हो।

अवैध रूपमा रुसी सेनामा भर्ना हुन पुगेका ३६ जना नेपालीको मृत्यु भएका पुष्टि भइसकेको छ। हजारभन्दा बढी नेपाली रुसी सेनामा भर्ना भएका र सयौँ बेपत्ता भएको अनुमान छ। त्यहाँ नेपालीको अवस्थाबारे परराष्ट्र मन्त्रालय बेखबरजस्तै छ। मृत्यु भएका नेपालीको शव ल्याउन सकिएको छैन। अलपत्र परेका नेपालीको उद्धार हुन सकेको छैन। इजरायलमा काम गरिरहेका १० नेपालीको हमासको आक्रमणमा मारिए। एकजना नेपाली विपिन जोशी हमासको नियन्त्रणमा छन्। उनको रिहाइका लागि भएका प्रयास पनि फितला साबित भएका छन्।

छिमेकी भारतका परराष्ट्रमन्त्री एस जयशंकर नेपाल आउँदा नेपाली नेताहरू उनीसामु झुकेको विषय पनि यस वर्ष चर्चामा रह्यो। पुसमा काठमाडौँमा आएका उनलाई स्वागत गर्न तत्कालीन परराष्ट्रमन्त्री एनपी साउद विमानको ढोकैमा पुगेका थिए। मन्त्री साउदको त्यो झुकावले नेपालको कूटनीतिक तह निकै कमजोर अवस्थामा रहेको सन्देश दिएको थियो।

जयशंकरको भ्रमणका बेला भारतमा अध्ययनरत नेपाली विद्यार्थीको समस्या, नेपालको नयाँ नक्सा, सीमा समस्या, व्यापार घाटा कम गराउन भारतका तर्फबाट हुनुपर्ने सहयोगबारे कुरा उठेन। ईपीजी प्रतिवेदन बुझ्ने विषयमा पनि छलफल भएको पाइएन। भारतीय परियोजनामा निर्माणाधीन कामबारे भइरहेको ढिलाइ द्विपक्षीय मुद्दा बनेन।

विदेश भ्रमणमा अघिल्ला परराष्ट्रमन्त्री साउदले जस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि रेकर्ड नै राखेका छन्। एक वर्षको अवधिमा प्रधानमन्त्री प्रचण्डले भारत, इटाली, अमेरिका, चीन, दुबई, युगान्डा, स्विट्जरल्यान्ड आदि देशको भ्रमण गरे।

अर्थतन्त्र संकटमा रहेका बेला प्रधानमन्त्रीले विदेश भ्रमण गरेर आर्थिक भार मात्रै थपेको विषयमा आलोचना भयो। साथै परराष्ट्रमन्त्री वा अन्य मन्त्री गए पनि हुने भ्रमणमा प्रधानमन्त्री प्रचण्ड आफैँ सहभागी भए। प्रधानमन्त्रीको विदेश भ्रमणले नेपालको कूटनीतिक क्षेत्रमा उपलब्धिमूलक काम भने भएको देखिएन।

प्रकाशित: ३० चैत २०८० १२:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =