शक्ति मुलुकको आकर्षण र नेपालको फितलो कूटनीति

डा. दिनेश भट्टराई ३ फागुन २०७९ १०:१३
86
SHARES
शक्ति मुलुकको आकर्षण र नेपालको फितलो कूटनीति

पछिल्लो समय नेपाल शक्ति राष्ट्रहरूको आकर्षणको केन्द्र बनेको छ। पुर्खाले कूटनीतिक चतुर्‍याइँमार्फत बचाएर अघि बढाएको मुलुकमा यतिबेला छद्‍म रूपमा सामरिक शक्ति र उदाउँदा शक्ति मुलुकहरूको छाया देखिन थालेको छ। हामीले विचार पुर्‍याएनौँ भने उर्वरभूमि हाम्रा सन्ततिका लागि अभिशाप बन्नेछ।

हाम्रा छिमेकी मुलुकको हैसियत शक्ति मुलुकको समेत निगरानी गर्न सक्ने खालको छ। शक्ति मुलुक अमेरिकालाई असहज पार्न खोजेको छिमेकीबाट हामी निगरानीमा छैनौँ भन्न सकिन्न। हामीकहाँ पश्चिमाले देखाउने चासोबारे छिमेकीहरू जानकार छन्। पेन्टागन र स्टेट डिपार्टमेन्टमा उनीहरूले पहिलेदेखि निगरानी गर्दै आएकाले हामीमाथि चासो नहुने कुरै छैन। यस्तो छिमेकमा बसेर हामीले जथाभाबी नबोली धैर्यपूर्वक काम गर्नुपर्ने अवस्था छ।

पछिल्लो समय चमत्कार गरिरहेको चीनले दुनियाँलाई माथिबाट सर्भे गरिरहेको छ। अमेरिकी आकाशमा चिनियाँ ‘स्पाइ बेलुन’ उडान प्रकरण पछिल्लो उदाहरण हो। यसलाई लिएर अमेरिकाले आफ्ना विदेशमन्त्री एन्टोनी ब्लिंकनको आसन्न बेइजिङ भ्रमण स्थगित गरेको छ। यस घटनाले चीन र अमेरिकाबीच एक प्रकारको तिक्तता उत्पन्न भइसकेको छ।

चीन-अमेरिका सम्बन्धमा मनमुटाव भइरहँदा कतिपय अमेरिकी अधिकारीले चीन भ्रमण गरेको भए स्थिति सहज हुने बताइरहेका छन्। चीनविरुद्ध वासिङ्टनका पछिल्ला गतिविधि बढ्दै जाँदा अमेरिकी विदेशमन्त्री ब्लिंकनको बेइजिङ भ्रमण भएको भए झनै नराम्रो अवस्था आउने धारणा राख्ने कूटनीतिज्ञको संख्या पनि धेरै छ।

त्यसो त बेइजिङका अधिकारीचाहिँ अमेरिकी विदेशमन्त्रीले चीन भ्रमण नगर्नु नै उचित हुने बताइरहेका छन्। चिनियाँ अधिकारीहरू अमेरिकाले आफूहरूलाई उक्साइरहेकोे आरोप लगाउँछन्। चीनले पछिल्लो समय सैन्य, वैज्ञानिक र ताइवान मुद्दामा धेरै उपयोग गरेको आरोप अमेरिकामाथि लगाएको छ। साथै जापान, दक्षिण कोरिया र अस्ट्रेलियालाई चीनसँग जुधाउन भेला गरेको र फिलिपिन्समा सैन्य अखडा बढाएको आरोप बेइजिङको छ।

सोही कारण अमेरिका र चीनबीच विश्वासको दूरी बढ्दै गएको छ। यस्तो अवस्थामा पुरानो मित्र मुलुक अमेरिकाले हामीलाई उपयोग गर्न सक्छ। त्यसैले हामी बढी सचेत हुन आवश्यक छ। बेलैमा कूटनीतिक कौशल देखाउन नसकेमा हामी ठूलै दुर्घटनामा पर्न सक्छौँ। अमेरिकाले चीनलाई कुनै प्रतिस्पर्धीका रूपमा नलिएको बताउँदै आएको छ। अमेरिकी अधिकारीहरू भन्छन्, ‘चीन हाम्रो प्रतिस्पर्धी होइन। ऊ आफूलाई बनाउँदैछ। विश्व बजारमा पसिरहेको छ।’

हामी त आन्तरिक राजनीतिक अलमलमा छौँ। विश्व कता गइरहेको छ, त्यसलाई नियाल्न पाएका छैनौँ। राष्ट्रिय सुरक्षाका विषयमा पनि हामीलै स्पष्ट धारणा बनाउन सकेका छैनौँ। राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिमा सबैको मत एक हुनुपर्छ।

पछिल्लो समयमा चीन र अमेरिकाबीच बेलुन उडानको विषयले मनमुटाव हुन थालेको हो। अहिलेसम्म दुवै पक्षले संयमता अपनाएका छन्। यद्यपि उक्त बेलुन एक साता अमेरिकी आकाशमा किन उड्न दिएको हो भन्ने शंका छ। सुरक्षा चुनौती थियो भने त अमेरिकाले बेलुन तत्काल झार्ने थियो। तर अमेरिकी अधिकारीले चीनविरुद्ध कडा प्रतिक्रिया दिन थालेपछि बेइजिङ वासिङ्टनसँग झस्किएको छ।

‘म ह्वाइटहाउस आउनुअघि चीनले आफ्नो शक्ति बढाइरहेको थियो र अमेरिका विश्वमा केही खस्किरहेको थियो,’ अमेरिकी राष्ट्रपति बाइडेनले भनेका थिए, ‘अहिले त्यो अवस्था छैन। अमेरिका द्वन्द्व होइन प्रतिस्पर्धा गर्न चाहन्छ। चीनले द्वन्द्व चाहेको अवस्थामा अमेरिकाबाहेक अन्य देशले चीनको सामना गर्न सक्दैन। यतिबेला हामी अमेरिका बलियो बनाउन लागिरहेका छौँ।’

उनले भनेका थिए, ‘विश्व बजार र उद्योगमा चीनको हैकम छ। अमेरिकाले नवीन उद्योगमा गर्ने लगानीले त्यसलाई पुनः परिभाषित गर्नेछ।’ बाइडेनले दिएको एक घण्टाभन्दा लामो भाषणमा सीधा कुरा उठेपछि आउँदा दिनमा चीन र अमेरिकाबीचको सम्बन्ध र सहकार्य थप गहन मात्र होइन मिहीन हुन्छ कि भन्ने आकलन पनि गर्न सकिन्छ। परम्परागत शक्ति र उदाउँदो शक्तिबीच हुने प्रतिस्पर्धा नेपालजस्तो साना मुलुकका लागि हितकर हुँदैन।

प्रतिस्पर्धाको एक क्षेत्र हाम्रो भूभाग पनि पर्न सक्छ। त्यो हुँदा हामी थप उर्वर भूमिका रूपमा रहन्छाैँ। हामी कृषिमा उर्वर हुनुपर्नेमा राजनीति र अन्य क्षेत्रमा बढी उर्वर हुँदैछौँ। नेपालको कूटनीति क्षेत्रमा पछिल्लो समय अस्थिरता र अलमल देखिएको छ। त्यही बीचमा विदेशी शक्ति मुलुकले हामीमाथि खेल्न सक्छ। हाम्रो अस्थिरता विदेशीका लागि ‘फर्टाइल’ भइरहेको हुन सक्छ। हामीलाई केन्द्रमा राखेर खेल चलिरहेको हुन सक्छ। समयमै बझ्न जरुरी छ।

नेपालमा कसले आएर के गर्छ त्यसलाई राम्ररी बुझ्ने र अवलोकन गर्ने संयन्त्र छैन। ‘फरेन पोलिसी इन्टेलिजेन्स’ को भूमिका शून्य छ। नेपाली सेनामा भएको ‘इन्टेलिजेन्स’ र राष्ट्रिय अनुसन्धान विभागको सूचनालाई परराष्ट्र मन्त्रालयले आफ्नो ‘इन्टेलिजेन्स’का रूपमा प्रयोग गर्न सकेको छैन। नवनियुक्त परराष्ट्रमन्त्रीले यस्ता विषयमा सोच्न समेत भ्याउनुभएको छैन होला। बिना सूचना कुनै पनि निर्णय लिन सकिँदैन। त्यसैले सूचना जम्मा गर्दै त्यसमा गहन अध्ययन गरेर अघि बढ्नु आवश्यक छ।

‘स्ट्राटेजी कल्चर’ को विकासमा हाम्रो ध्यान जान सकेको छैन। हामी त आन्तरिक राजनीतिक अलमलमा छौँ। विश्व कता गइरहेको छ, त्यसलाई नियाल्न पाएका छैनौँ। राष्ट्रिय सुरक्षाका विषयमा पनि हामीलै स्पष्ट धारणा बनाउन सकेका छैनौँ। राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिमा सबैको मत एक हुनुपर्छ। काम गर्ने शैली मात्र फरक हुने हो। परराष्ट्र सेवा र सुरक्षा निकायबाट निवृत्त, कूटनीतिमा कलम चलाउने पत्रकारलाई थिंक ट्यांकका रूपमा उपयोग गर्नुपर्नेमा राज्यले ध्यान दिएन।

साथै ‘कोर टिम’ निर्माण गरी थप फराकिलो बनाउँदै सम्पर्क सूचना राख्न सकिएको छैन। हामीले मुलुकबाहिरको धारणा आत्मसात् गरेका हुन्छौँ। अमेरिकाबाट मात्र होइन, मित्र मुलुकबाट आउने उच्च तहको नेतृत्व छ भने उसलाई प्रोटोकलअनुसार भेटवार्ता गर्न दिनुपर्छ। जो आउँछ, सीधै माथिल्लो तहमा भेट गर्छ। नेपाली अधिकारीहरूसँग के कुरा भयो र के गर्न आएको हो भन्ने स्पष्ट छैन। अनि भ्रमणको चाँजोपाँजो मिलाउने र भेटघाट गराउने ठेक्का लिएकाले त बाहिरकै कुरा बढी गर्छ। अर्को कुरा जहिलेसम्म हाम्रो आफ्नो भाष्य हुँदैन तबसम्म विदेशीले खेल्छन्। त्यसैले आफ्नो थैली बलियो बनाउनुपर्छ।

झन्डै नौ सय बिलियन डलरको अमेरिकी ट्रेजरी सेक्युरिटी चीनले ‘होल्ड’ गरिरहेको छ। यो तथ्यांक नियाल्दा अब चीन अमेरिकासँग प्रतिस्पर्धामा नउत्री सुखै छैन। त्यसमा चीन तयार पनि देखिन्छ। तर हामी छिमेकमा रहेर त्यो विषयलाई कत्ति बुझेको छौँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।

सबै अवधारणा बाहिरबाट लिने अनि आफूसँग भएको राम्रै अवधारणा पनि काम नलाग्ने होला भनेर बेवास्ता पनि हुने गरेको छ। अवधारणा बाहिरबाट लिने हो। हामीले आफ्नो विधिले त्यसलाई विकास गर्ने हो। त्यसो गर्न सकेमा मुलुक राम्रो होला अन्यथा कसरी सुधार हुन्छ र? अनि विदेश भ्रमणमा जाँदा मुलुकका पक्षमा प्राप्त हुने उपलब्धिबारे स्पष्ट हुन्छ। त्यसो हुन सकेन भने खासै काम हुँदैन।

पहिले हामी कृषिमा आधारित थियौँ। धान भारतलाई बेच्न सक्थ्यो। अहिले हामी आईटीमा आत्मनिर्भर हुन सकिन्छ। हामी कृषि, तरकारी खेतीलगायतमा पनि हामीले काम गर्न सक्छौँ। आफ्नो ‘सफ्ट स्पेस’ बढाउन आवश्यक छ। आफूहरू बलियो अवस्थामा रहन सक्नुपर्छ अन्यथा नेपालले आफ्नो पहिचान राख्न सक्दैन।

हामीले हाम्रो स्वार्थ र अन्य मित्रको फाइदाका लागि सहकार्य गर्न सक्नुपर्छ। अमेरिकाले चीनसँग त्यस्तै गरिरहेको छ। अमेरिकी स्वार्थ र विश्वको फाइदाका लागि अमेरिका चीनसँग काम गर्न सधैँ तयार हुन्छ। चीनले अमेरिकालाई चुनौती दिँदा अमेरिकी राष्ट्रपति बाइडनले अमेरिका चुप लागेर नबस्ने चेतावनी दिएका हुन्।

‘चाइना थ्रेट थ्योरी’ को प्रयोग गर्दै अमेरिकामा रक्षा बजेट बढाउन लागेको विश्लेषण पनि भइरहेको छ। तर अमेरिकी चारतारे जर्नेलले चीनसँग सन् २०२५ भित्रै युद्ध हुने भएकाले आफ्ना सेनालाई तयारीमा रहन निर्देशन दिएको विषय सार्वजनिक भएपछि विश्वमा ‘अमेरिकी थ्रेट’ बढ्न थालेको छ।

अमेरिकाले ‘क्वाड’मार्फत इन्डो प्यासिफिकमा आफ्नो पहुँच बढाएको छ। त्यसलाई चीनले सहन सकेको छैन। छिमेकीमा अमेरिकी उच्च अधिकारी आउनेबित्तिकै चीनले अनेकन् प्रोपोगन्डा गर्न थलोको छ। झट्ट हेर्दा विश्वमा अहिले नयाँ शीतयुद्ध भइरहेको जस्तो देखिन्छ। जुन कुरा विश्वको पछिल्लो आर्थिक तथ्यांकले पनि पुष्टि गरिरहेको छ।

चीनसँग अमेरिकाको सबैभन्दा ठूलो व्यापार छ। अनि अमेरिकाको ‘सेक्युरिटी बन्ड’मा चिनियाँले लगानी गरेका छन्। झन्डै नौ सय बिलियन डलरको अमेरिकी ट्रेजरी सेक्युरिटी चीनले ‘होल्ड’ गरिरहेको छ। यो तथ्यांक नियाल्दा अब चीन अमेरिकासँग प्रतिस्पर्धामा नउत्री सुखै छैन। त्यसमा चीन तयार पनि देखिन्छ। तर हामी छिमेकमा रहेर त्यो विषयलाई कत्ति बुझेको छौँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।

नेपालले असंलग्न नीति अवलम्बन गरेको भन्दै आए पनि पछिल्लो समयमा त्यो नीतिमा हामी छैनौँ। तर नेपाल जानिँदो वा नजानिँदो ढंगले अहिलेसम्म बच्दै आएको छ। नेपालले जे पनि चल्छ भन्ने कोणबाट कुरा गर्दा स्पष्ट भएको छैन। जतिबेला अमेरिका चीनसँग प्रतिस्पर्धामा जानेछ। त्यति बेला नेपाललाई निकै असर पर्नेछ। त्यसैले हामीले आफ्नो सुरक्षा र कूटनीति सँगसँगै लिएर सबै छिमेकीलाई सम्मान गर्दै अघि बढ्नु आवश्यक छ। (पूर्वराजदूत भट्टराईसँगको कुराकानीमा आधारित)

प्रकाशित: ३ फागुन २०७९ १०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + four =