हिन्दू र मुस्लिम समुदायबीच विवादले सुनसरीका दुई गाउँपालिकामा निषेधादेश

हिमाल प्रेस २३ चैत २०८० १३:१९
44
SHARES
हिन्दू र मुस्लिम समुदायबीच विवादले सुनसरीका दुई गाउँपालिकामा निषेधादेश जिल्ला प्रशासन कार्यालय सुनसरी।

काठमाडौँ- हिन्दू र मुस्लिम समुदायबीचको विवादले सुनसरीका दुई गाउँपालिकामा निषेधादेश जारी गरिएको छ। मुस्लिम र हिन्दू समुदायबीच तनावको अवस्था उत्पन्न भएपछि सुनसरीको हरिनगर गाउँपालिकाका सबै वडा र देवानगञ्ज गाउँपालिका वडा नं. १ र ७ मा अनिश्चितकालीन निषेधादेश जारी गरिएको हो।

दुई गाउँपालिकामा सामाजिक र धार्मिक सद्भाव खल्बल्याउने गरी दुई धार्मिक समुदायबीच हिंसात्मक झडप थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी बेदराज फुयलले निषेधादेश जारी गरेका छन्। फुयलले शुक्रबार दिउँसो १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मलाई निषेधादेश जारी गरिएको उल्लेख गरेका छन्।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शुक्रबार मध्यान्ह १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरेर निस्कनेबाहेक सामूहिक रुपमा सामाजिक, धार्मिक, राजनैतिक सभा,र्‍याली/ भेला र प्रदर्शन गर्न निषेध गरिएको जनाएका छन्। आदेशविपरीत गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।

गत माघ आठ गते भारतको अयोध्यामा भगवान रामको मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठाको क्रममा त्यहाँ लगाइएको तुल, झन्डा मुस्लिम समुदायका व्यक्तिले च्यातिदिएपछि तनाव बढेको बताइएको छ। त्यसबारेमा अस्थायी प्रहरी चौकीमा निवेदन दिएको पनि जिकिर हिन्दू समुदायको छ। त्यसपछि दुवै समुदायबीच छलफल भई सद्वभाव बिग्रिने गतिविधि नगर्ने सहमति भएको थियो।

तर उक्त सहमतिपछि पनि दुवै समुदायबीचको तनाव कम नभएपछि प्रशासनले निषेधादेश जारी गरेको छ। केही युवाहरूमाथि कुटपिट पनि भएको छ। धार्मिक सद्भाव भड्किने गरी बनाइएका केही भिडिओले त्यहाँको वातावरण झनै खल्बल्याएको सुनसरी प्रशासनले जनाएको छ।

प्रकाशित: २३ चैत २०८० १३:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =